प्रभु येशूलाई मार्ने षड्यतन्त्र
मर्कूस १४:१-२; लूका २२:१-२
26
अनि यस्तो भयो: जब येशूले यी सबै वचनहरू भनिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: 2 “तिमीहरू जान्दछौ, दुई दिनपछि निस्तारचाड़ छ, अनि मानिसका पुत्र क्रूसमा टँगाइनका निम्ति पक्राइन्छन्।” 3 तब मुख्य पूजाहारी, शास्त्री र जनताका बूढ़ा प्रधानहरू कायफा भनिने महापूजाहारीको चोकमा भेला भए, 4 अनि तिनीहरूले येशूलाई छल गरेर पक्रौं र मारौं भनी मतो गरे। 5 तर तिनीहरूले भने: “चाड़को बेलामा चाहिँ होइन, नत्र ता मानिसहरूको बीचमा कोलाहल मच्चिन्छ।”प्रभु येशूको शिरमा बहुमूल्य तेलको अभिषेक
मर्कूस १४:३-९; यूहन्ना १२:१-८
6 अब येशू बेथानीमा शिमोन कोरीको घरमा हुनुहुँदा 7 एउटी स्त्री बहुमूल्य सुगन्धित तेलको एउटा सङ्गमर्मरको भुँडुल्को लिएर उहाँकहाँ आइन्, र उहाँ खानका निम्ति बस्नुभएको बेलामा तिनले त्यो उहाँको शिरमाथि खन्याइदिइन्। 8 तर यो देखेर उहाँका चेलाहरू यसो भन्दै रिसाए: “केका लागि यत्रो बरबादी? 9 किनकि यो सुगन्धित तेल धेरै दाममा बेचिएर गरिबहरूलाई दिन सकिन्थ्यो।” 10 तर यो कुरा थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो: “यस स्त्रीलाई तिमीहरूले किन दुःख दिन्छौ? किनकि उसले मप्रति एक असल काम गरेकी छे। 11 किनकि गरिबहरू तिमीहरूसँग सधैंभरि हुन्छन्, तर मचाहिँ तिमीहरूसँग सधैंभरि हुँदिनँ। 12 किनकि उसले मेरो शरीरमा यो सुगन्धित तेल खन्याई; उसले यो मेरो गड़ाइका निम्ति गरी। 13 म तिमीहरूलाई साँचो भन्दछु: सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिनेछ, त्यहाँ यस स्त्रीले जे गरेकी छे, त्यो पनि उसको सम्झनामा बताइनेछ।”
प्रभु येशूलाई पक्राउने यहूदा इस्करयोतीको गुप्त चाल
मर्कूस १४:१०-११; लूका २२:३-६
14 तब बाह्रमध्ये एकजना, यहूदा इस्करयोती भनिनेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, 15 र तिनीहरूलाई भन्यो: “तपाईंहरू मलाई के दिन चाहनुहुन्छ, र म उहाँलाई तपाईंहरूको हातमा सुम्पिदिऊँ?” अनि तिनीहरूले त्यससित चाँदीका तीस सिक्का दिने कबुल गरे। 16 अनि त्यस समयदेखि नै त्यसले उहाँलाई पक्राइदिने मौका खोज्यो।
निस्तार चाड़
मर्कूस १४:१२-२१; लूका २२:७-१८
17 अब अखमीरी रोटीको चाड़को पहिलो दिनमा चेलाहरू येशूकहाँ यसो भन्दै आए: “निस्तारचाड़को भोज खानलाई तपाईंका निम्ति हामी कहाँ तयार पारौं – तपाईं कहाँ चाहनुहुन्छ?” 18 अनि उहाँले भन्नुभयो: “शहरभित्र फलाना मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुजी भन्नुहुन्छ: मेरो समय नजिकै छ; म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तारचाड़ मनाउनेछु।’ ” 19 अनि येशूले तिनीहरूलाई अह्राउनुभएअनुसार चेलाहरूले गरे; अनि तिनीहरूले निस्तार-भोज तयार पारे। 20 अब साँझ परेपछि उहाँ बाह्रजनासँग भोजमा बस्नुभयो। 21 अनि उहाँहरूले खाइरहनुभएको बेलामा उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये एकजनाले मलाई पक्राइदिनेछ।” 22 अनि तिनीहरू साह्रै दुःखित भए, र तिनीहरूमध्ये हरेकले उहाँलाई भन्न लागे: “हे प्रभु, के त्यो म हुँ?” 23 अनि उहाँले जवाफ दिई भन्नुभयो: “जसले मसँग थालमा आफ्नो हात चोप्छ, त्यसले मलाई पक्राउनेछ। 24 मानिसका पुत्र साँच्चै उनको विषयमा लेखिएअनुसार जान्छन् नै, तर हाय त्यस मान्छेलाई, जसद्वारा मानिसका पुत्र पक्राइँदछन्! त्यो मान्छे नजन्मिएकै भए त्यसका लागि असल हुनेथियो।” 25 तब उहाँलाई पक्राइदिने यहूदाले जवाफ दिएर भन्यो: “हे गुरुज्यू, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो: “तिमी आफैले भनिहाल्यौ।”
प्रभुभोजको स्थापना
मर्कूस १४:२२-२५; लूका २२:१९-२०; १ कोरिन्थी ११:२३-३४
26 अनि उहाँहरूले खाँदै गर्नुहुँदा येशूले रोटी लिएर आशिष् दिई भाँच्नुभयो, अनि चेलाहरूलाई दिनुभयो, र भन्नुभयो: “लेओ, खाओ; यो मेरो शरीर हो।” 27 अनि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “तिमीहरू सबैले यसबाट पिओ! 28 किनभने यो नयाँ वाचाको मेरो रगत हो, जुन रगतचाहिँ धेरैजनाका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ। 29 तर म तिमीहरूलाई भन्दछु, अबदेखि उसो जबसम्म म आफ्ना पिताको राज्यमा तिमीहरूसित यो नयाँ पिउँदिनँ, त्यस दिनसम्म म यस दाखको फलबाट कहिल्यै पिउनेछैनँ।”
पत्रुसले इन्कार गर्ने विषयमा प्रभु येशूको भविष्यवाणी
मर्कूस १४:२६-३१; लूका २२:३१-३४
30 अनि एउटा भजन गाएपछि उहाँहरू जैतुन-डाँड़ामा जानुभयो। 31 तब येशूले तिनीहरूलाई भन्नुभयो: “आज रात तिमीहरू सबैले मेरो कारणले गर्दा ठेस खानेछौ; किनकि यस्तो लेखिएको छ: ‘म गोठालालाई हिर्काउनेछु, र बगालका भेड़ाहरू चारैतिर तितरबितर हुनेछन्।’क 32 तर बौरेर उठेपछि म तिमीहरूभन्दा पहिले गालील जानेछु।” 33 पत्रुसले जवाफ दिएर उहाँलाई भने: “तपाईंको कारणले गर्दा सबैजनाले ठेस खाए तापनि मचाहिँ कहिल्यै ठेस खानेछैनँ।” 34 येशूले तिनलाई भन्नुभयो: “म तिमीलाई साँचो भन्दछु, आज रात भाले बास्नुभन्दा पहिले, तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” 35 पत्रुसले उहाँलाई भने: “ तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई कुनै रीतिले इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने।
गेत्समनीको बगैंचामा
मर्कूस १४:३२-४२; लूका २२:३९-४६
36 तब येशू तिनीहरूसँग गेत्समनीख भनिने ठाउँमा आउनुभयो, र उहाँले चेलाहरूलाई भन्नुभयो: “म अलि पर गएर प्रार्थना गरुन्जेल तिमीहरू यहीं बस!” 37 अनि उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफ्नो साथमा लैजानुभयो, अनि उहाँ शोकित र अति व्याकुल हुन लाग्नुभयो। 38 तब उहाँले उनीहरूलाई भन्नुभयो: “मृत्यु नै होला झैं गरी मेरो प्राण अति नै शोकले भरिएको छ; तिमीहरू यहीं बस, र मसँग जागा रहो!” 39 अनि उहाँ अलिकति पर जानुभयो, र भुइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्नुभयो: “हे मेरा पिता, सम्भव छ भने यो कचौरा मबाट हटोस्; तरै पनि मैले इच्छा गरेझैं होइन, तर तपाईंले इच्छा गर्नुभएझैं होस्।” 40 अनि उहाँ यी चेलाहरूकहाँ आउनुभयो, र उनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो; अनि उहाँले पत्रुसलाई भन्नुभयो: “के तिमीहरू मसँग एकै घण्टा पनि जागा रहन सकेनौ? 41 जागा रहो र प्रार्थना गर, कि तिमीहरू परीक्षामा नपर; आत्मा साँच्चै तयार छ, तर शरीर कमजोर छ।” 42 फेरि उहाँ दोस्रो पल्ट जानुभयो, र यसो भन्दै प्रार्थना गर्नुभयो: “हे मेरा पिता, मैले यो कचौरा नपिएसम्म यो मबाट हट्दैन भने तपाईंकै इच्छा पूरा होस्।” 43 अनि उहाँ आउनुभयो र उहाँले उनीहरूलाई फेरि निदाइरहेकै भेट्टाउनुभयो; किनभने उनीहरूका आँखाहरू लट्ठ भएका थिए। 44 अनि उनीहरूलाई छोड़ेर उहाँ फेरि जानुभयो, र तेस्रो पल्ट पनि ती कुराहरू भन्दै प्रार्थना गर्नुभयो। 45 तब उहाँ आफ्ना चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूलाई भन्नुभयो: “अब सुतिरहो, र विश्राम गर; हेर, समय नजिकै आइपुगेको छ, र मानिसका पुत्र पापीहरूको हातमा पक्राइन्छन्। 46 उठ, हामी जाँदै गरौं; हेर, मलाई पक्राइदिने नजिकै आइपुगेको छ।”
प्रभु येशू पक्राउ पर्नुहुन्छ
मर्कूस १४:४३-५०; लूका २२:४७-५३; यूहन्ना १८:३-११
47 अनि उहाँ बोल्दै गर्नुहुँदा हेर, यहूदा, बाह्रमध्ये एकजना, त्यहाँ आयो; अनि त्यसको साथमा मुख्य पूजाहारीहरू र जनताका बूढ़ा प्रधानहरूको तर्फबाट एउटा ठूलो भीड़ पनि तरवार र लाठाहरू लिई आयो। 48 अब उहाँलाई पक्राइदिनेले तिनीहरूलाई यसो भनेर एउटा चिन्ह दिएको थियो: ‘जसलाई म चुम्बन गरुँला, तिनी नै उनी हुन्, तिनलाई पक्र!’ 49 अनि तुरुन्तै येशूकहाँ आएर त्यसले भन्यो: “गुरुज्यू, सलाम!” र उहाँलाई चुम्बन गर्यो। 50 अनि येशूले त्यसलाई भन्नुभयो: “साथी, तिमी केका लागि आएका हौ?” तब तिनीहरू आए, र येशूमाथि हात हालेर तिनीहरूले उहाँलाई पक्रे। 51 अनि हेर, येशूसँग हुनेहरूमध्ये एकजनाले आफ्नो हात बढ़ाएर आफ्नो तरवार खिँचे र महापूजाहारीको दासलाई हिर्काएर त्यसको कान च्वाट्टै काटिदिए। 52 तब येशूले तिनलाई भन्नुभयो: “आफ्नो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै तरवारद्वारा नष्ट हुनेछन्। 53 अथवा तिमी के ठान्दछौ, के म अहिले नै मेरा पितालाई पुकार्न सक्दिनँ र? अनि उहाँले बाह्र पल्टनभन्दाग बढ़ी स्वर्गदूतहरू मेरा निम्ति जुटाउनुहुनेछैन र? 54 तब ‘यो यसरी नै हुनुपर्छ’ भन्ने पवित्रशास्त्रहरूका कुराहरू कसरी पूरा हुन सक्लान् र?” 55 त्यस घड़ी येशूले भीड़हरूलाई भन्नुभयो: “के तिमीहरू डाँकूको विरोधमा आएझैं तरवार र लाठाहरू लिएर मलाई पक्रन निस्किआयौ? म मन्दिरमा शिक्षा दिँदै दिनहुँ तिमीहरूसँग बसें, र तिमीहरूले मलाई पक्रेनौ। 56 तर भविष्यवक्ताहरूका शास्त्रहरू पूरा होऊन् भनेर नै यी सबै कुराहरू भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे।
प्रभु येशू कायफा र महासभाको सामु
मर्कूस १४:५३-६५; लूका २२:६३-७१; यूहन्ना १८:१९-२४
57 अनि येशूलाई पक्रनेहरूले उहाँलाई महापूजाहारी कायफाकहाँ लगे, जहाँ शास्त्रीहरू र बूढ़ा प्रधानहरू भेला भएका थिए। 58 तर पत्रुस महापूजाहारीको चोकसम्म टाढ़ा-टाढ़ाबाट उहाँलाई पछ्याउँदै गए, अनि परिणाम हेर्न तिनी भित्र पसेर नोकरहरूसँग बसे। 59 तब मुख्य पूजाहारीहरू, बूढ़ा प्रधानहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका निम्ति उहाँको विरोधमा कुनै झूटो साक्षीको खोजे; 60 तर तिनीहरूले एउटै पनि पाएनन्; अँ, धेरै झूटा साक्षीहरू अघि सरी आए, तापनि तिनीहरूले एउटै पनि पाएनन्। आखिरमा दुईजना झूटा साक्षीहरू अघि सरी आए, 61 र भने: “यस मान्छेले भन्यो, ‘म परमेश्वरको मन्दिर भत्काउन र यसलाई तीन दिनमा खड़ा गर्न सक्छु।”’ 62 अनि महापूजाहारीले उठेर उहाँलाई भने: “के तँ केही पनि जवाफ दिँदैनस्? यिनीहरूले तेरो विरोधमा दिएको गवाही के हो?” 63 तर येशू चुप लागिरहनुभयो। अनि महापूजाहारीले जवाफ दिई उहाँलाई भने: “जीवित परमेश्वरको नाममा म तँलाई आज्ञा गर्दछु: के परमेश्वरका पुत्र ‘ख्रीष्ट’ तैं होस्? हामीलाई भन्!” 64 येशूले उनलाई भन्नुभयो: “तपाईं आफैले भनिहाल्नुभयो; तरै पनि म तपाईंहरूलाई भन्दछु, अबदेखि उसो तपाईंहरूले मानिसका पुत्रलाई सामर्थ्यको दाहिने हातपट्टि बसिरहेका र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ।” 65 तब महापूजाहारीले यसो भन्दै आफ्ना लुगाहरू च्याते: “यसले ईश्वरनिन्दा गरेको छ! अब उसो हामीलाई साक्षीहरूको के खाँचो पर्यो र? हेर, तिमीहरूले पनि अब यसको ईश्वरनिन्दा सुनेका छौ। 66 तिमीहरूको राय के हो?” तिनीहरूले जवाफ दिएर भने: “यो मृत्युदण्डको योग्य छ!” 67 तब तिनीहरूले उहाँको अनुहारमा थुके र उहाँलाई मुक्का लगाए; अनि अरू-अरूले चाहिँ यसो भन्दै उहाँलाई थप्पड़ लगाए: 68 “एई ख्रीष्ट, हामीलाई भविष्यवाणी गर्, तँलाई हिर्काउने को हो?”
पत्रुस तीनपल्ट इन्कार गर्छन्
मर्कूस १४:६६-७२; लूका २२:५५-६२; यूहन्ना १८ :१५-२७
69 अब पत्रुसचाहिँ बाहिरपट्टि चोकमा बसिरहेका थिए, अनि एउटी नोकरनी यसो भन्दै तिनीकहाँ आई: “तिमी पनि गालीलको येशूको साथमा थियौ।” 70 तर तिनले सबैको सामु यसो भन्दै इन्कार गरे: “तिमी के भन्दैछ्यौ, म जान्दिनँ।” 71 अनि तिनी बाहिर दलानमा गएपछि अर्की नोकरनीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी: “यो मान्छे पनि नासरतको येशूसँग थियो।” 72 अनि फेरि तिनले शपथ खाएर इन्कार गरे: “म त्यस मानिसलाई चिन्दिनँ नै।” 73 अनि केही समयपछि ती छेवैमा उभिनेहरूले पत्रुसकहाँ आएर तिनलाई भने: “तिमी पक्कै पनि तिनीहरूमध्ये एक हौ, किनकि तिम्रो बोलीले तिमीलाई प्रकट गरिरहेछ।” 74 तब तिनी यसो भन्दै सराप्न र शपथ खान लागे: “म त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” अनि तुरुन्तै भाले बास्यो। 75 अनि ‘भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ’ भनी येशूले तिनलाई भन्नुभएको वचन पत्रुसले सम्झना गरे; अनि बाहिर गएर तिनी धुरुधुरु रोए।