दस कन्याहरूको दृष्‍टान्त
25
“तब स्वर्गको राज्य दसजना कन्याहरूजस्तो हुनेछ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न निस्के। 2 अनि तिनीहरूमा पाँच बुद्धिमती र पाँच मूर्ख थिए। 3 मूर्खहरूले आफ्ना बत्तीहरू त लिए, तर आफूसित तेलचाहिँ बोकेनन्। 4 तर बुद्धिमतीहरूले आफ्ना बत्तीहरूसित आफ्ना भाँड़ाहरूमा तेल पनि बोके। 5 तर दुलहाले ढिलो गर्दा ती सबैजना निद्राले लट्ठ भए, र निदाए। 6 अनि मध्यरातमा कराएको वाणी आयो: ‘हेर, दुलहा आउँदैछन्; उनलाई भेट्न निस्क!’ 7 तब ती सबै कन्याहरू उठे, र तिनीहरूले आफ्ना बत्तीहरू मिलाए 8 अनि मूर्खहरूले बुद्धिमतीहरूलाई भने: ‘हामीलाई तिमीहरूको तेलबाट केही देओ न, किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’ 9 तर बुद्धिमतीहरूले यसो भन्दै जवाफ दिए: ‘अहँ, नत्र हामीहरू र तिमीहरूका लागि यथेष्‍ट हुँदैन; तर बरु बेच्‍नेहरूकहाँ जाओ, र आफ्ना निम्ति किन!’ 10 अनि तिनीहरू किन्‍न गएका बेलामा दुलहा आइपुगे, र तयार रहेकाहरू उनीसँग भित्र विवाहको भोजमा पसे; अनि ढोका थुनियो। 11 त्यसपछि अरू कन्याहरू पनि यसो भन्दै आइपुगे: ‘हे प्रभु, हे प्रभु, हाम्रा निम्ति खोलिदिनुहोस्!’ 12 तर उनले जवाफ दिई भने: ‘म तिमीहरूलाई साँचो भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ 13 यसकारण जागा रहो; किनभने तिमीहरूलाई न ता मानिसका पुत्रको आउने दिन, न ता घड़ी नै थाहा छ।”
तोड़ाहरूको दृष्‍टान्त
लूका १९:११-२७
14 “किनभने स्वर्गको राज्य टाढ़ो देशको यात्रा गरिरहेका एकजना मानिसजस्तो हो, जसले आफ्ना दासहरूलाई बोलाए र आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। 15 अनि तिनले एकजनालाई पाँच तोड़ा, र अर्कोलाई दुई तोड़ा र अर्कोलाई एक तोड़ा दिए – हरेकलाई त्यसकै योग्यताअनुसार दिए; अनि तुरुन्तै तिनी यात्रामा हिँड़िहाले। 16 तब जसले पाँच तोड़ा पाएको थियो, त्यसले गएर तिनलाई व्यापारमा लगायो, र अरू पाँच तोड़ा कमायो। 17 अनि त्यही प्रकारले दुई तोड़ा पाउनेले पनि अरू दुई तोड़ा कमायो। 18 तर जसले एक तोड़ा पाएको थियो, त्यसले गएर भुइँ खन्यो र आफ्ना मालिकको पैसा लुकायो। 19 धेरै समयपछि ती दासहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब लिए। 20 अनि पाँच तोड़ा पाउनेले आएर यसो भन्दै अरू पाँच तोड़ा ल्यायो: ‘हे प्रभु, तपाईंले मलाई पाँच तोड़ा जिम्मा लगाउनुभएको थियो; हेर्नुहोस्, तीबाहेक अरू पाँच तोड़ा मैले कमाएको छु।’ 21 त्यसका मालिकले त्यसलाई भने: ‘स्याबास, असल र विश्‍वासयोग्य दास! तिमी थोरै कुराहरूमा विश्‍वासयोग्य रह्‍यौ, म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु; आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर!’ 22 दुई तोड़ा पाउनेले पनि आएर भन्यो: ‘हे प्रभु, तपाईंले मलाई दुई तोड़ा जिम्मा लगाउनुभएको थियो; हेर्नुहोस्, तीबाहेक अरू दुई तोड़ा मैले कमाएको छु।’ 23 त्यसका मालिकले त्यसलाई भने: ‘स्याबास, असल र विश्‍वासयोग्य दास! तिमी थोरै कुराहरूमा विश्‍वासयोग्य रह्‍यौ, म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु; आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर!’ 24 तब एक तोड़ा पाउनेले आएर भन्यो: ‘हे प्रभु, तपाईं जहाँ रोप्‍नुभएको छैन, त्यहाँ कटनी गर्नुहुने, र जहाँ छर्नुभएको छैन, त्यहाँ बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ भनी मैले तपाईंलाई चिनेको थिएँ, 25 अनि मलाई डर लाग्यो, र गएर मैले तपाईंको तोड़ा जमिनभित्र लुकाइदिएँ; हेर्नुहोस्, यो तपाईंको तोड़ा लिनुहोस्!’ 26 त्यसका मालिकले जवाफ दिएर त्यसलाई भने: ‘हे दुष्‍ट र अल्छे दास, जहाँ मैले रोपिनँ, त्यहाँ कटनी गर्छु, र जहाँ मैले छरिनँ, त्यहाँ बटुल्छु भन्‍ने कुरा तैंले जान्दो रहेछस्; 27 यसकारण तैंले मेरो पैसा सराफीहरूकहाँ राख्‍नुपर्थ्यो, र तब म आउँदा मेरो आफ्नो मैले ब्याजसहित पाउनेथिएँ।’ 28 ‘यसकारण त्यसबाट त्यो तोड़ा लेओ, र जससँग दस तोड़ा छन्, उसलाई देओ! 29 किनभने हरेक जससँग छ, उसलाई दिइनेछ, र ऊसँग प्रशस्त हुनेछ; तर जससँग छैन, त्यसबाट जे त्योसँग छ, त्यो पनि खोसिनेछ। 30 अनि त्यस बेकम्मा दासलाई बाहिरको अँध्यारोमा फालिदेओ; त्यहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछन्।’ ”
प्रभु येशू फेरि आउनुहुँदा सबै जातिहरूको न्याय हुनेछ
31 “तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन्, र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्‍नेछन्। 32 अनि सबै जातिहरू उनको सामु भेला गरिनेछन्; अनि जसरी गोठालाले आफ्ना भेड़ाहरू बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एकअर्कोदेखि अलग पार्नेछन्। 33 अनि उनले भेड़ाहरूचाहिँ आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूचाहिँ देब्रे हातपट्टि राख्‍नेछन्। 34 तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्‍नेछन्: ‘मेरा पिताका धन्य जनहरूहो, आओ, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यका अधिकारी होओ; 35 किनभने म भोकाएको थिएँ, र तिमीहरूले मलाई खान दियौ; म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र लग्यौ; 36 म नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र पहिराइदियौ; म बिरामी थिएँ, र तिमीहरू मलाई भेट्न आयौ; म झ्यालखानामा थिएँ, र तिमीहरू मकहाँ आयौ।’ 37 तब ती धर्मी जनहरूले उहाँलाई यसो भन्दै जवाफ दिनेछन्: ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौं, र खुवायौं, वा तिर्खाएका देख्यौं, र पिउन दियौं? 38 हामीले तपाईंलाई कहिले परदेशी देख्यौं, र भित्र लग्यौं, वा नाङ्गो देख्यौं, र वस्त्र पहिरायौं? 39 अथवा हामीले तपाईंलाई कहिले बिरामी देख्यौं, अथवा झ्यालखानामा देख्यौं, र हामी तपाईंकहाँ आयौं?’ 40 अनि राजाले जवाफ दिएर तिनीहरूलाई भन्‍नेछन्: ‘म तिमीहरूलाई साँचो भन्दछु, मेरा यी भाइहरूमध्ये सानोभन्दा सानो एकजनालाई तिमीहरूले जेजति गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’
41 त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्‍नेछन्: ‘हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र गइहाल, जुन आगोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ; 42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ; 43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; म नाङ्गो थिएँ, तर तिमीहरूले मलाई वस्त्र पहिराएनौ; म बिरामी र झ्यालखानामा थिएँ, तर तिमीहरू मलाई भेट्न आएनौ।’ 44 तब तिनीहरूले पनि उनलाई यसो भन्दै जवाफ दिनेछन्: ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका, वा तिर्खाएका, वा परदेशी, वा नाङ्गो, वा बिरामी, वा झ्यालखानामा देख्यौं, र तपाईंको सेवा गरेनौं?’ 45 तब उनले यसो भन्दै तिनीहरूलाई जवाफ दिनेछन्: ‘म तिमीहरूलाई साँचो भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानो एकजनालाई तिमीहरूले जेजति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ 46 अनि तिनीहरू अनन्त दण्डमा जानेछन्; तर धर्मी जनहरूचाहिँ अनन्त जीवनमा पस्‍नेछन्।”