अन्तिम दिनका चिन्ह
मर्कूस १३:१-२७; लूका २१:५-२४
24
अनि येशू बाहिर निस्केर मन्दिरबाट जानुभयो, अनि उहाँका चेलाहरू उहाँलाई मन्दिरका बनावटहरू देखाउन उहाँकहाँ आए। 2 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरू यी सबै कुराहरू देख्दैनौ? म तिमीहरूलाई साँचो भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड़िनेछैन, जुनचाहिँ फ्याँकिनेछैन।” 3 अनि उहाँ जैतुन-डाँड़ामाथि बस्‍नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ यसो भन्दै आए: “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?”
4 अनि येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो: “होशियार बस; कसैले तिमीहरूलाई धोकामा नपारोस्! 5 किनकि धेरैजना ‘म ख्रीष्‍ट हुँ’ भन्दै मेरो नाममा आउनेछन्, र धेरैलाई धोका दिनेछन्। 6 अनि तिमीहरूले लड़ाइँहरू र लड़ाइँहरूका होहल्‍लाहरू सुन्‍नेछौ। हेर, तिमीहरू नआत्तिओ, किनकि यी सबै कुराहरू हुनैपर्छ; तर अन्त अझै हुनेछैन। 7 किनभने जाति जातिको विरोधमा उठ्नेछ, र राज्य राज्यको विरोधमा; अनि ठाउँ-ठाउँमा अनिकाल, महामारी र भुइँचालाहरू हुनेछन्। 8 तर यी सबै पीड़ाहरूका शुरु हुन्। 9 तब तिनीहरूले सङ्कष्‍टका निम्ति तिमीहरूलाई सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन्; अनि मेरो नामको कारणले सबै जातिहरूद्वारा तिमीहरू घृणा गरिनेछौ। 10 अनि तब धेरैले ठेस खानेछन्, अनि एक-अर्कालाई विश्‍वासघात गर्नेछन्, र एक-अर्कालाई घृणा गर्नेछन्। 11 अनि अनेकौं झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। 12 अनि अधर्म बढ़ेको हुनाले धेरैको प्रेम सेलाउनेछ। 13 तर जसले अन्तसम्म सहन्छ, उसैको उद्धार हुनेछ। 14 अनि यो राज्यको सुसमाचारचाहिँ सबै जातिहरूका लागि साक्षी हुनलाई सारा संसारमा प्रचारिनेछ; अनि त्यसपछि अन्त आउनेछ।
15 यसकारण, जब भविष्यवक्ता दानिएलद्वारा भनिएको त्‍यो उजाड़ पार्ने घृणित वस्तु तिमीहरूले पवित्रस्थानमा उभिएको देख्‍नेछौ, (पढ्नेले बुझोस्, 16 तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्; 17 छानामा हुनेचाहिँ आफ्नो घरबाट केही निकाल्नलाई तल नओर्लोस्; 18 न ता खेतबारीमा हुने आफ्ना लुगाहरू लिनलाई फर्केर आओस्। 19 तर ती दिनहरूमा गर्भवती हुने र दूध खुवाउनेहरूलाई हाय! 20 अनि तिमीहरूको भगाइचाहिँ जाड़ोको समयमा अथवा विश्रामदिनमा नपरोस् भनी प्रार्थना गर!
21 किनभने त्यस बेला यस्तो महा सङ्कष्‍ट हुनेछ, जस्‍तो पृथ्वीको शुरुदेखि अहिलेसम्म भएको थिएन, न ता फेरि कहिल्यै हुनेछ। 22 अनि ती दिनहरू नघटाइएका भए कुनै प्राणी बाँच्‍नेथिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। 23 त्यस बेला तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ हुनुहुन्छ’ वा ‘त्यहाँ हुनुहुन्छ’ भन्यो भने विश्‍वास नगर! 24 किनभने झूटा ख्रीष्‍टहरू र झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्, र ठूला-ठूला चिन्ह र चमत्कारहरू देखाउनेछन्; यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकैहरूलाई पनि बहकाउनेछन्। 25 हेर, मैले तिमीहरूलाई पहिल्यै भनिदिएको छु। 26 यसकारण तिमीहरूलाई तिनीहरूले ‘हेर, उनी उजाड़स्थानमा छन्’ भनी भने भने तिमीहरू निस्केर नजाओ; ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनी भने भने विश्‍वास नगर! 27 किनभने जसरी बिजुली पूर्वबाट निस्केर पश्‍चिमसम्म चम्कन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ। 28 किनभने जहाँ सिनो हुन्छ, त्यहीं गिद्धहरू पनि भेला पारिनेछन्।
29 ती दिनहरूको सङ्कष्‍टपछि तुरुन्तै सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, अनि ताराहरू आकाशबाट खस्‍नेछन्, र आकाशका शक्तिहरू हल्‍लाइनेछन्। 30 अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ; तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई सामर्थ्य र ठूलो महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्‍नेछन्। 31 अनि उनले आफ्ना दूतहरूलाई तुरहीको ठूलो आवाजको साथमा पठाउनेछन्, र चारै दिशाबाट तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म उनका चुनिएकाहरूलाई जम्मा गर्नेछन्।”
नेभाराको रूख: जागा रहो!
मर्कूस १३:२८-३७; लूका २१:२९-३६
32 “अब नेभाराको रूखबाट एउटा दृष्‍टान्त सिक! जब यसको हाँगा कोमल भइसकेको हुन्छ, र यसले पालुवाहरू हाल्छ, तब ग्रीष्म ऋतु नजिकै रहेछ भनी तिमीहरूले जान्दछौ; 33 त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू देख्‍नेछौ, तब यो नजिकै छ अर्थात्‌ ढोकाहरूमै छ भनी तिमीहरूले जान! 34 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै कुराहरू पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्‍नेछैन। 35 आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्‍नेछैनन्।
36 तर त्यस दिन र त्यस घड़ीको विषयमा कसैले जान्दैन, अहँ, स्वर्गका दूतहरूले पनि जान्दैनन्, तर मेरा पिताले मात्र। 37 तर नूहका दिनहरू जस्ता थिए, त्यस्तै मानिसका पुत्रको आगमन पनि हुनेछ। 38 किनकि जसरी जलप्रलय हुनुभन्दा अघिका दिनहरूमा, नूह जहाजमा पसेका दिनसम्म तिनीहरूले खाइरहेका र पिइरहेका थिए, विवाह गरिरहेका र विवाह गरिदिइरहेका थिए, 39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगुन्जेल तिनीहरूलाई केही थाहा भएन; त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ। 40 तब दुईजना खेतबारीमा हुनेछन्; एकजना लगिनेछ र अर्को छोड़िनेछ। 41 दुईजना स्त्री पिन्‍ने घरमा जाँतो पिनिरहेका हुनेछन्; एउटी लगिनेछे र अर्की छोड़िनेछे।
42 यसकारण जागा रहो; किनभने तिमीहरूका प्रभु कुन घड़ी आउँछन्, सो तिमीहरू जान्दैनौ। 43 तर यो जानिराख: घरको मालिकले चोर कुन पहरमा आउँछ, सो जानेको भए, ऊ जागो रहनेथियो र आफ्नो घर फोरिन दिनेथिएन। 44 यसकारण तिमीहरू पनि तयार बस; किनभने मानिसका पुत्र तिमीहरूले सोच्दै नसोचेको घड़ीमा आउँछन्। 45 तब विश्‍वासयोग्य र बुद्धिमान् दास को हो, जसलाई आफ्ना मालिकले ठीक-ठीक समयमा तिनीहरूलाई खानेकुरा देओस् भनी आफ्ना नोकरचाकरहरूमाथि हाकिम नियुक्त गरेका हुन्छन्? 46 त्यो दास धन्य हो, जसलाई उसका मालिकले आफू आउँदा त्यस्तै गरिरहेको भेट्टाउनेछन्। 47 म तिमीहरूलाई साँचो भन्दछु: उनले उसलाई आफ्ना सारा सम्पत्तिमाथि हाकिम नियुक्त गर्नेछन्। 48 तर त्यस दुष्‍ट दासले, ‘मेरा मालिक आउन ढिलो गर्नुहुन्छ’ भनी आफ्नो मनमा भन्छ, 49 र आफ्ना सङ्गी - दासहरूलाई पिट्न, साथै मतवालाहरूसँग खान र पिउन थाल्छ भने 50 त्यस दासका मालिक त्यस दिनमा आउनेछन्, जुन दिनमा त्यसले उनको बाटो हेरेकै हुँदैन र त्यस घड़ीमा, जुन घड़ीको विषयमा त्यसलाई थाहै हुँदैन; 51 अनि उनले त्यसलाई काटी दुई टुक्रा पार्नेछन् र त्यसको भाग कपटीहरूसित ठहराउनेछन्; त्यहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछन्।”