फरिसीका लक्षण
मर्कूस १२:३८-४०; लूका ११:३७-५२ लूका २०:४५-४७
23
त्यसपछि येशूले भीड़हरू र आफ्ना चेलाहरूसँग यसो भन्दै कुरा गर्नुभयो: 2 “शास्त्री र फरिसीहरू मोशाको आसनमाथि बसेका छन्; 3 यसकारण तिनीहरूले तिमीहरूलाई जे-जे मान्‍नु भन्छन्, ती सबै कुराहरू मान र गर; तर तिनीहरूकै कामहरूअनुसार चाहिँ नगर; किनकि तिनीहरू भन्‍नु त भन्छन्, तर गर्दैनन्। 4 किनकि तिनीहरू गह्रौं र बोक्न कठिन पर्ने भारीहरू बाँध्छन्, र तिनलाई मानिसहरूका काँधहरूमाथि राखिदिन्छन्; तर तिनीहरू आफैले चाहिँ तिनलाई आफ्नो औंलीले पनि सार्न चाहँदैनन्। 5 तर तिनीहरू आफ्ना सबै कामहरू मानिसहरूले देखून् भन्‍ने हेतूले गर्दछन्; तिनीहरू आफ्ना व्यवस्था-पेटिकाहरू ठूलो पार्छन् र आफ्ना वस्त्रहरूका झुम्काहरू चौड़ा बनाउँछन्। 6 अनि भोजहरूमा उच्‍च स्थानहरू र सभाघरहरूमा मुख्य आसनहरू रुचाउँछन्, 7 अनि बजारहरूहुँदो अभिवादन पाउन र मानिसहरूद्वारा ‘गुरुज्यू, गुरुज्यू’ भनिन मन पराउँछन्। 8 तर तिमीहरू ‘गुरुज्यू’ नभनिनू, किनकि तिमीहरूका एउटै स्वामी हुनुहुन्छ अर्थात्‌ ख्रीष्‍ट, र तिमीहरू सबै दाजुभाइहरू हौ। 9 अनि यस पृथ्वीमा तिमीहरूले कसैलाई आफ्ना पिता नभन्‍नू; किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। 10 तर तिमीहरू ‘मालिक’ नभनिनू, किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ, अर्थात्‌ ख्रीष्‍ट। 11 तर तिमीहरूको बीचमा जो सबैभन्दा ठूला छन्, तिनी तिमीहरूका सेवक बनून्। 12 अनि जसले आफूलाई उचाल्छ, ऊ होचो पारिनेछ; अनि जसले आफूलाई होच्याउँछ, ऊचाहिँ उच्‍च पारिनेछ।”
शास्त्री र फरिसीहरूलाई सातपल्ट धिक्‍कार!
मर्कूस १२:३८-४०; लूका २०:४७
13 “तर हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरू मानिसहरूका निम्ति स्वर्गको राज्य बन्द गर्दछौ; किनकि तिमीहरू न ता आफै भित्र पस्छौ, न ता पस्‍नेहरूलाई भित्र पस्‍न दिन्छौ।
14 हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरू विधवाहरूका घरहरू निल्दछौ, र बहानाका निम्ति लामो प्रार्थना गर्दछौ। यसकारण तिमीहरूले झन् ठूलो दण्ड पाउनेछौ।
15 हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरूले एकजनालाई आफ्नो मतमा हुल्नलाई समुद्र र जमिन चहार्छौ, अनि जब त्यो मतमा आउँछ, तब तिमीहरूले त्यसलाई आफूभन्दा दोबर नरकको बच्‍चा बनाउँछौ।
16 हे अन्धा अगुवाहरूहो, तिमीहरूलाई धिक्‍कार! तिमीहरू भन्छौ, ‘कसैले मन्दिरको शपथ खायो भने त्यो केही होइन, तर जसले मन्दिरको सुनको शपथ खान्छ, त्यो बाँधिन्छ।’ 17 हे मूर्ख र अन्धाहरूहो, कुनचाहिँ ठूलो हो: सुन कि सुनलाई पवित्र ठहराउने मन्दिर? 18 अनि तिमीहरू भन्छौ: ‘कसैले वेदीको शपथ खायो भने त्यो केही होइन, तर जसले वेदीमाथि राखिएको भेटीको शपथ खान्छ, त्यो बाँधिन्छ।’ 19 हे मूर्ख र अन्धाहरूहो, कुनचाहिँ ठूलो हो: भेटी कि भेटीलाई पवित्र ठहराउने वेदी? 20 यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदीको र त्यसमाथि भएका सबै थोकहरूको शपथ खान्छ। 21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिरको र त्यसभित्र वास गर्नुहुनेको शपथ खान्छ। 22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासनको र त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ।
23 हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरू पदिना, सूँप र जीराको दसौं अंशचाहिँ दिन्छौ, तर व्यवस्थाका झन् गहकिला कुराहरू: न्याय, दया र विश्‍वासचाहिँ छोड़िदिएका छौ। यी कुराहरू तिमीहरूले गर्नैपर्थ्यो र ती कुराहरू पनि नछोड़्नुपर्थ्यो। 24 हे अन्धा अगुवाहरूहो, तिमीहरू भुसुनालाई चाल्दछौ, तर ऊँटलाई निल्दछौ।
25 हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरू कचौरा र थालको बाहिरी भाग सफा गर्दछौ, तर भित्रपट्टि भने ती धुताइ र असंयमले भरिएका हुन्छन्। 26 हे अन्धा फरिसी, पहिले कचौरा र थालको भित्री भाग सफा गर, र तिनीहरूको बाहिरी भाग पनि सफा हुनेछ।
27 हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरू चूना लगाइएका चिहानहरूजस्ता छौ, जुनचाहिँ बाहिरपट्टि साँच्‍चै सुन्दर देखिन्छन्, तर भित्री भागचाहिँ मुर्दाहरूका हड्डीहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। 28 यही प्रकारले तिमीहरू पनि बाहिरपट्टि चाहिँ मानिसहरूको सामुन्‍ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टिचाहिँ तिमीहरू कपट र अधर्मले भरिएका हुन्छौ।
29 हे शास्त्री र फरिसीहरूहो, कपटीहरूहो, तिमीहरूलाई धिक्‍कार! किनभने तिमीहरू भविष्यवक्ताहरूका चिहानहरू बनाउँछौ र धर्मी जनहरूका कबरहरू सिँगार्छौ, 30 र भन्छौ: ‘हाम्रा बुबाबाजेको जमानामा हामी हुँदा हौं ता भविष्यवक्ताहरूको रगत बगाउनमा हामी उनीहरूसित सहभागी हुनेथिएनौं।’ 31 यसकारण भविष्यवक्ताहरूलाई हत्या गर्नेहरूका सन्तान तिमीहरू हौ भनेर तिमीहरू आफैले आफ्ना लागि गवाही दिन्छौ। 32 अब तिमीहरूले चाहिँ आफ्ना बुबाबाजेको पाथीलाई भरिदेओ!
33 हे सर्पहरूहो, विषालु साँपका सन्तानहो, तिमीहरू नरकको दण्डबाट कसरी उम्कन सक्छौ त? 34 यसकारण हेर, म तिमीहरूकहाँ भविष्यवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू पठाउँछु; अनि तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ; अनि तीमध्ये कतिलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र एक शहरदेखि अर्को शहरसम्म सताउनेछौ; 35 यसकारण पृथ्वीमाथि बहाइएको धर्मी जनहरूको सबै रगत तिमीहरूमाथि आइपर्नेछ – धर्मी हाबिलको रगतदेखि लिएर बराखियाका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले मन्दिर र वेदीको बीचमा मार्‍यौ। 36 म तिमीहरूलाई साँचो भन्दछु: यी सबै कुराहरू यही पुस्तामाथि आइपर्नेछन्।”
प्रभु येशू यरूशलेमका निम्ति विलाप गर्नुहुन्छ
लूका १३:३४-३५ र १९:४१-४४
37 “हे यरूशलेम, यरूशलेम! तँ भविष्यवक्ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्; जसरी कुखुरीले आफ्ना चल्‍लाहरूलाई आफ्ना पखेटामुनि बटुल्छे, त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरें, तर तिमीहरूले इच्छा गरेनौ। 38 हेर, तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िन्छ! 39 किनकि म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले ‘परमप्रभुको* नाममा आउनुहुने धन्य हुनुहुन्छ’ भनी भन्‍नेछैनौ, तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्‍नेछैनौ।”