विवाह-भोजको दृष्‍टान्त
लूका १४:१६-२४
22
अनि येशूले जवाफ दिएर फेरि दृष्‍टान्तहरूद्वारा यसो भन्दै तिनीहरूसित बोल्नुभयो: 2 “स्वर्गको राज्यचाहिँ कुनै एकजना राजाजस्तो हो, जसले आफ्ना छोराका लागि विवाहको भोज तयार गरे, 3 र आफ्ना दासहरूलाई विवाहको भोजमा निम्तो गरिएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउने इच्छा गरेनन्। 4 फेरि पनि तिनले अरू दासहरूलाई यसो भनेर पठाए, ‘ती निम्तो गरिएकाहरूलाई भन: “हेर, मैले मेरो भोज तयार गरेको छु; मेरा गोरु र मोटा-मोटा पशुहरू मारिएका छन्, अनि सबै कुराहरू तयार छन्; विवाहको भोजमा आओ!” ’ 5 तर तिनीहरूले त्यो कुरा हल्का ठाने, र आ-आफ्नो बाटो लागे – एकजना आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर; 6 अनि बाँकी रहेकाहरूले चाहिँ तिनका दासहरूलाई पक्रेर बेइज्जत गरे र मारे। 7 तर जब ती राजाले यो कुरा सुने, तब तिनी क्रोधित भए; अनि तिनले आफ्ना फौजहरू पठाए, अनि ती हत्याराहरूलाई नष्‍ट गरे र तिनीहरूको शहर जलाइदिए। 8 तब तिनले आफ्ना दासहरूलाई भने: ‘विवाहको भोजचाहिँ तयार छ, तर ती निम्त्याइएकाहरू योग्य भएनन्। 9 यसकारण तिमीहरू मूल सड़कहरूका चौबाटाहरूतिर जाओ, र जत्तिलाई भेट्टाउँछौ, त्यत्तिलाई विवाहमा निम्त्याओ!’ 10 अनि ती दासहरू मूल सड़कहरूमा गए, अनि तिनीहरूले जत्तिलाई भेट्टाए, ती सबैलाई – असल र खराब दुवैलाई भेला गरे; अनि विवाहको भोज पाहुनाहरूले भरियो। 11 अनि जब राजा पाहुनाहरूलाई हेर्न भित्र आए, तब तिनले त्यहाँ विवाहको वस्त्र नलगाएको एकजना मानिसलाई देखे। 12 अनि तिनले त्यसलाई भने: ‘साथी, विवाहको वस्त्र नपहिरीकन तिमी कसरी यहाँ भित्र आयौ?’ अनि त्यो निरुत्तर भयो। 13 तब राजाले सेवकहरूलाई भने: ‘त्यसका हातखुट्टा बाँधेर त्यसलाई लैजाओ, र बाहिरपट्टिको अन्धकारभित्र फालिदेओ, जहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछन्।’ 14 किनभने बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन्।”
हेरोदीहरूलाई करसम्बन्धी प्रभुको जवाफ
मर्कूस १२:१३-१७; लूका २०:२०-२६
15 तब फरिसीहरूले गएर उहाँलाई उहाँकै कुरामा कसरी फसाऔं भनी मतो गरे। 16 अनि तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूको साथमा यसो भनेर उहाँकहाँ पठाए: “हे गुरु, हामी जान्दछौं, तपाईं सच्‍चा हुनुहुन्छ र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, न ता तपाईं कसैको वास्ता गर्नुहुन्छ; किनकि तपाईं मानिसहरूको मुख हेरी काम गर्नुहुन्‍न। 17 यसकारण हामीलाई भन्‍नुहोस्, तपाईंको के विचार छ? सिजरलाई कर तिर्नु उचित छ कि छैन?” 18 तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाएर भन्‍नुभयो: “हे कपटीहरूहो, तिमीहरू मलाई किन जाँच्दछौ? 19 कर तिर्ने सिक्‍का मलाई देखाओ!” अनि तिनीहरूले उहाँकहाँ एउटा दीनार ल्याए। 20 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यो मूर्ति र छाप कसको हो?” 21 तिनीहरूले उहाँलाई भने: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यसकारण सिजरका कुराहरू सिजरलाई र परमेश्‍वरका कुराहरू परमेश्‍वरलाई देओ!” 22 अनि यी कुराहरू सुनेर तिनीहरू छक्‍क परे, र उहाँलाई छोड़ेर आफ्नो बाटो लागे।
सदुकीहरूलाई बौरिउठाइसम्बन्धी प्रभुको जवाफ
मर्कूस १२:१८-२७; लूका २०:२७-३८
23 त्यही दिन ‘बौरिउठाइ हुँदै-हुँदैन’ भन्‍ने सदुकीहरू पनि उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यसो भन्दै सोधे: 24 “हे गुरु, मोशाले भने, ‘यदि सन्तान नभईकन कोही मानिस मर्‍यो भने उसको भाइले उसकी स्‍वास्‍नीलाई विवाह गरोस् र दाजुका निम्ति सन्तान पैदा गरोस्।’ 25 अब हामीसँग सात भाइहरू थिए; अनि जेठाचाहिँ विवाह गरेर मर्‍यो, अनि सन्तान नभएको हुनाले त्यसले आफ्नी स्‍वास्‍नीलाई भाइका निम्ति छोड़िराख्यो। 26 माहिलोले पनि यस्तै गर्‍यो, र साहिँलोले, अनि सातौंसम्मले। 27 अनि सबैभन्दा पछि त्यो स्त्री पनि मरी। 28 यसकारण बौरिउठाइमा त्योचाहिँ ती सातजनामा कसकी स्‍वास्‍नी हुनेछे? किनकि त्यो त सबैकी भइसकेकी थिई।” 29 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “पवित्रशास्त्रहरू र परमेश्‍वरको शक्तिलाई नजानेका हुनाले तिमीहरू भूलमा परिरहेका छौ। 30 किनकि बौरिउठाइमा तिनीहरू न ता विवाह गर्दछन्, न ता विवाह गराइँदछन्, तर स्वर्गमा परमेश्‍वरका दूतहरूजस्तै हुनेछन्। 31 तर मरेकाहरूको बौरिउठाइको विषयमा परमेश्‍वरले तिमीहरूलाई यसो भन्दै बोल्नुभएको कुरा के तिमीहरूले पढ़ेका छैनौ?
32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।’
परमेश्‍वर मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जिउँदाहरूका परमेश्‍वर हुनुहुन्छ।” 33 अनि यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्‍क परे।
फरिसीहरूलाई ठूलो आज्ञासम्बन्धी प्रभुको जवाफ
मर्कूस १२:२८-३४; लूका १०:२५-२८
34 तर उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू भेला भए। 35 तब तिनीहरूमध्ये एकजनाले, जोचाहिँ व्यवस्थाका गुरु थिए, उहाँको परीक्षा गर्दै र यसो भन्दै उहाँलाई प्रश्‍न गरे: 36 “हे गुरु, व्यवस्थामा ठूलो आज्ञा कुन हो?” 37 येशूले तिनलाई भन्‍नुभयो: “‘तिमीले परमप्रभु* आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा मनले प्रेम गर!’ 38 यहीचाहिँ पहिलो र ठूलो आज्ञा हो। 39 अनि दोस्रोचाहिँ यहीजस्तो छ: ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर!’ 40 सारा व्यवस्था र भविष्यवक्ताहरू यिनै दुई आज्ञाहरूमा आधारित छन्।”
फरिसीहरूलाई ख्रीष्‍टसम्बन्धी प्रभु येशूको प्रश्‍न
मर्कूस १२:३५-३७; लूका २०:४१-४४
41 फरिसीहरू भेला भएका बेलामा येशूले तिनीहरूलाई यसो भन्दै सोध्‍नुभयो: 42 “ख्रीष्‍टको विषयमा तिमीहरूको के विचार हो? उनी कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने: “दाऊदका पुत्र।” 43 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसो भए कसरी दाऊदले आत्मामा उनलाई यसो भन्दै ‘प्रभु’ भने त?
44 ‘परमप्रभुले* मेरा प्रभुलाई भन्‍नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।” ’
45 यसकारण दाऊदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ उनका पुत्र हुनुहुन्छ त?” 46 अनि कसैले पनि जवाफमा उहाँसित एक वचन बोल्न सकेन; अनि त्यस दिनदेखि उसो कसैले उहाँलाई अरू प्रश्‍न गर्ने आँट गरेन।