यरूशलेममा प्रभु येशूको प्रवेश
मर्कूस ११:१-१०; लूका १९:२९-३८; यूहन्ना १२:१२-१९
21
अनि जब उहाँहरू यरूशलेमको नजिकै आउनुभयो, र जैतुन-डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो: 2 “आफ्नो सामुन्नेको गाउँमा जाओ, अनि तुरुन्तै तिमीहरूले एउटा गधा बाँधिएको र त्यसको साथमा एउटा बच्चालाई भेट्टाउनेछौ; तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ! 3 अनि कसैले तिमीहरूलाई केही भनिहाल्यो भने, ‘प्रभुलाई यिनीहरूको खाँचो छ’ भनी तिमीहरूले भन्नू; र तुरुन्तै त्यसले ती पठाइदिनेछ।” 4 भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर नै यो सबै कुरा भएको थियो:5 ‘सियोनकी छोरीलाई भन, “हेर, तिम्रा राजा नम्र र गधामाथि बसेर, अर्थात् एउटा बछेड़ा, गधाको बच्चामाथि बसेर तिमीकहाँ आउँदै हुनुहुन्छ।” ’क
6 अनि चेलाहरू गए, र येशूले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे; 7 अनि तिनीहरूले गधा र बच्चालाई ल्याए, र तीमाथि आफ्ना लुगाहरू ओछ्याए; अनि उहाँ तीमाथि बस्नुभयो। 8 अनि एउटा अत्यन्तै ठूलो भीड़ले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याए; अरू-अरूले चाहिँ रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याए। 9 अनि अघि-अघि हिँड़िरहेका र पछि-पछि आइरहेका भीड़हरू यसो भन्दै कराए: “दाऊदका पुत्रलाई होसन्ना!ख परमप्रभुको* नाममा आउनुहुने धन्य हुनुहुन्छ, परमधाममा होसन्ना!ख” 10 अनि उहाँ यरूशलेममा पस्नुभयो, तब ‘यिनी को हुन्?’ भन्दै सारा शहरमा हलचल मच्चियो। 11 अनि भीड़हरूले भने: “यिनी गालीलको नासरतका भविष्यवक्ता येशू हुन्।”
प्रभु येशूले मन्दिर शुद्ध पार्नुभयो
मर्कूस ११:१५-१८; लूका १९:४५-४७
12 अनि येशू परमेश्वरको मन्दिरभित्र पस्नुभयो, र उहाँले मन्दिरभित्र बेच्ने र किन्नेहरू सबैलाई धपाउनुभयो, अनि सराफीहरूका टेबलहरू र ढुकुर बेच्नेहरूका पिराहरू पल्टाइदिनुभयो, 13 र तिनीहरूलाई भन्नुभयो: “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ’; तर तिमीहरूले यसलाई डाँकूहरूको ओड़ार बनाएका छौ।”ग 14 अनि मन्दिरमा अन्धा र लङ्गड़ाहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। 15 अनि जब मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कामहरू देखे, र केटाकेटीहरूलाई मन्दिरमा कराइरहेका र ‘दाऊदका पुत्रलाई होसन्ना!’ भनिरहेका देखे, तब तिनीहरू क्रोधित भए, 16 र तिनीहरूले उहाँलाई भने: “यिनीहरूले के भनिरहेका छन्, सुन्दैछौ?” अनि येशूले तिनीहरूलाई भन्नुभयो: “ज्यू सुन्दैछु; ‘बालकहरू र दूध पिउने बच्चाहरूको मुखबाट तपाईंले प्रशंसा सिद्ध गराउनुभएको छ’घ भन्ने कुरा के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ?” 17 अनि तिनीहरूलाई छोड़ेर उहाँ शहरदेखि बाहिर बेथानीमा जानुभयो, र त्यहीं वास बस्नुभयो।
फल नफल्ने नेभाराको रूखलाई श्राप
मर्कूस ११:१२-१४ र ११:२०-२६
18 अब एकाबिहानै शहरतिर फर्कंदै गर्नुहुँदा उहाँ भोकाउनुभयो। 19 अनि बाटोको किनारमा एउटा नेभाराको रूख देखेर उहाँ त्यसको छेउमा आउनुभयो, अनि त्यसमा पातहरूबाहेक केही पाउनुभएन र त्यसलाई भन्नुभयो: “अबदेखि उसो तँमा कहिल्यै फल नलागोस्!” अनि तुरुन्तै त्यो नेभाराको रूख ओइलिगयो। 20 अनि यो कुरा देखेर चेलाहरू यसो भन्दै छक्क परे: “यो नेभाराको रूख कति छिटो ओइलियो हँ!” 21 येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूसँग विश्वास छ, र शङ्काचाहिँ गर्दैनौ भने यस नेभाराको रूखलाई जे गरियो, त्यो मात्र तिमीहरूले गर्नेछैनौ, तर यस पहाड़लाई पनि, ‘तँ हट् र समुद्रभित्र फालिई’ भनी तिमीहरूले भन्यौ भने सो हुनेछ। 22 अनि विश्वास गरेर जेसुकै कुरा पनि तिमीहरूले प्रार्थनामा मागौला, ती सबै कुराहरू तिमीहरूले पाउनेछौ।”
प्रभु येशूको अधिकारको विषयमा प्रश्न
मर्कूस ११:२७-३३; लूका २०:१-८
23 अनि उहाँ मन्दिरभित्र आउनुभएपछि उहाँले सिकाइरहनुभएको बेलामा मुख्य पूजाहारीहरू र जनताका बूढ़ा प्रधानहरूले उहाँकहाँ आएर भने: “कुन अधिकारले तिमी यी कुराहरू गर्दछौ, र कसले तिमीलाई यो अधिकार दियो?” 24 अनि येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्नेछु, त्योचाहिँ तिमीहरूले मलाई बतायौ भने, यी कुराहरू म कुन अधिकारले गर्दछु, सो म पनि त्यसरी नै तिमीहरूलाई भन्नेछु। 25 यूहन्नाको बप्तिस्मा – यो कहाँबाटको थियो? स्वर्गबाटको कि मानिसहरूबाटको?” अनि तिनीहरू यसो भन्दै आपसमा तर्क गर्न लागे: “हामीले स्वर्गबाटको भन्यौं भने, यसले हामीलाई ‘तब किन तिमीहरूले उनलाई विश्वास गरेनौ?’ भनी भनिहाल्नेछ; 26 तर हामीले मानिसहरूबाटको भन्यौं भने हामीलाई भीड़को डर छ, किनकि सबैले यूहन्नालाई भविष्यवक्ता भनी मान्दछन्।” 27 अनि तिनीहरूले येशूलाई जवाफ दिई भने: “हामीलाई थाहा छैन।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “म पनि यी कुराहरू कुन अधिकारले गर्दछु, तिमीहरूलाई भन्दिनँ।”
दुई छोराहरूको दृष्टान्त
28 “तर तिमीहरू के सोच्दछौ? एकजना मानिसका दुईजना छोराहरू थिए; अनि पहिलोकहाँ गएर तिनले भने: ‘छोरा, जाऊ, आज मेरो दाखबारीमा काम गर!’ 29 अनि यसले जवाफ दिएर भन्यो: ‘म जान चाहँदिनँ’; तर पछिबाट यो पछुतायो, र गयो। 30 तब दोस्रोकहाँ आएर तिनले त्यस्तै भने। अनि त्यसले जवाफ दिएर भन्यो: ‘म जान्छु, हजुर’; तर त्यो गएन। 31 यी दुईजनामा कुनचाहिँले बुबाको इच्छा पालन गर्यो?” तिनीहरूले उहाँलाई भने: “पहिलोले।” येशूले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, महसूल उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यभित्र जान्छन्। 32 किनभने यूहन्ना धार्मिकताको मार्गमा तिमीहरूकहाँ आए, र तिमीहरूले उनलाई विश्वास गरेनौ; तर महसूल उठाउनेहरू र वेश्याहरूले चाहिँ उनलाई विश्वास गरे; अनि यो देखेर पनि तिमीहरूले उनलाई विश्वास गर्नलाई पछिबाट पछुतो गरेनौ।”
दाखबारी लगाउने मालिकको दृष्टान्त
मर्कूस १२:१-९; लूका २०:९-१९
33 “अर्को दृष्टान्त सुन! कुनै एकजना घरका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार हाले; अनि तिनले त्यसमा एउटा दाख पेल्ने कोल पनि खने र एउटा मचान थापे; अनि किसानहरूलाई त्यो ठेक्कामा दिएर तिनीचाहिँ टाढ़ो देशमा गए। 34 अनि जब फलको समय नजिक आयो, तब तिनले आफ्ना दासहरूलाई ती किसानहरूकहाँ त्यसका फल लिन पठाए। 35 अनि ती किसानहरूले तिनका दासहरूलाई पक्रेर एकजनालाई पिटे, अर्कोलाई मारे र अर्कोलाई ढुङ्गाले हाने। 36 फेरि तिनले पहिलेकाहरूभन्दा बेसी अरू दासहरू पठाए; अनि तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे। 37 तर अन्तमा, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् नै’ भन्दै तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए। 38 तर जब किसानहरूले त्यस छोरालाई देखे, तब तिनीहरूले आपसमा कुरा गरे: ‘हकवाला यही हो; आओ, यसलाई मारौं र यसको हकको सम्पत्ति हड़प गरौं!’ 39 अनि तिनीहरूले उनलाई पक्रे, र दाखबारीबाट बाहिर फालिदिए अनि मारे। 40 यसकारण जब त्यस दाखबारीका मालिक आउलान्, तब तिनले ती किसानहरूलाई के गर्लान् त?” 41 तिनीहरूले उहाँलाई भने: “तिनले ती दुष्ट मानिसहरूलाई नराम्रो किसिमले नष्ट गर्नेछन् र आफ्नो दाखबारीचाहिँ अरू नै किसानहरूलाई ठेक्कामा दिनेछन्, जसले फलका समयहरूमा तिनलाई फल बुझाउनेछन्।” 42 येशूले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरूले पवित्रशास्त्रहरूमा कहिल्यै पढ़ेनौ?
‘जुन ढुङ्गा डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा नै कुनाको शिर भयो; यो परमप्रभुबाट* भएको हो, अनि हाम्रो दृष्टिमा यो अद्भूत छ।’ङ
43 त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट लगिइनेछ र यस्तो जातिलाई दिइनेछ, जसले त्यसका फल फलाउँछ। 44 अनि जो यस ढुङ्गामाथि खस्ला, त्यो टुक्रा-टुक्रा हुनेछ; तर जसमाथि यो ढुङ्गा खस्ला, यसले त्यसलाई धूलोपीठो पारिदिनेछ।” 45 अनि जब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्टान्तहरू सुने, तब उहाँले तिनीहरूकै विषयमा कुरा गर्नुभएको रहेछ भनी तिनीहरूले थाहा पाए। 46 तर उहाँलाई पक्रन खोज्दा तिनीहरू भीड़हरूसँग डराए, किनकि उनीहरूले उहाँलाई भविष्यवक्ता भनी मानेका थिए।