खेतालाहरूको दृष्‍टान्त
20
“किनकि स्वर्गको राज्य एकजना घरका मालिकजस्तै हो, जो आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा लगाउन भनी बिहानै बाहिर निस्के। 2 अनि खेतालाहरूसित दिनको एक दीनार ज्याला ठहराई तिनले तिनीहरूलाई आफ्नो दाखबारीमा पठाए। 3 अनि नौ बजेतिर तिनी बाहिर निस्के, र तिनले बजारमा अरूलाई विनाकाम उभिरहेका देखे, 4 र तिनीहरूलाई भने: ‘तिमीहरू पनि दाखबारीमा जाओ; अनि जे उचित छ, सो म तिमीहरूलाई दिनेछु।’ र तिनीहरू गए। 5 फेरि तिनी बाह्र र तीन बजेतिर बाहिर निस्के, र त्यस्तै गरे। 6 अनि पाँच बजेतिर तिनी बाहिर निस्के, अनि तिनले अरूलाई विनाकाम उभिरहेका भेट्टाए र तिनीहरूलाई भने: ‘तिमीहरू किन यहाँ दिनभरि बेकाममा उभिन्छौ?’ 7 तिनीहरूले तिनलाई भने: ‘किनकि कसैले हामीलाई काममा लाएन।’ तिनले तिनीहरूलाई भने: ‘तिमीहरू पनि दाखबारीमा जाओ; अनि जे उचित छ, सो तिमीहरूले पाउनेछौ।’ 8 अनि जब साँझ पर्‍यो, तब दाखबारीका मालिकले आफ्नो भण्डारीलाई भने: ‘खेतालाहरूलाई बोलाऊ, र तिनीहरूलाई, पछिल्‍लाहरूबाट शुरु गरेर अघिल्‍लाहरूसम्मलाई, तिनीहरूको ज्याला देऊ!’ 9 अनि जब पाँच बजेतिर काममा लाग्‍नेहरू आए, तब तिनीहरूले एक-एक दीनार पाए। 10 तर जब अघिल्‍लाहरू आए, तब तिनीहरूले बेसी पाउँछौं भन्‍ने विचार गरे; तर तिनीहरूले पनि त्यस्तै गरी हरेकले एक-एक दीनार पाए। 11 अनि त्यो पाएपछि तिनीहरूले घरका मालिकको विरोधमा यसो भन्दै गनगन गरे: 12 ‘यी पछि आउनेहरूले एकै घण्टा मात्र काम गरे, अनि तपाईंले तिनीहरूलाई हामीसित बराबर तुल्याउनुभएको छ, जसले दिनभरिको भार र गर्मी सहेका छौं।’ 13 तर तिनले तिनीहरूमध्ये एकजनालाई जवाफ दिएर भने: ‘साथी, मैले तिमीमाथि अन्याय गरेको छैनँ; के तिमी मसँग एक दीनारमा राजी भएनौ र? 14 तिम्रो आफ्नो लेऊ, र जाऊ! म यस पछिल्‍लोलाई पनि, मैले तिमीलाई जति दिएँ, त्यति नै दिन चाहन्छु। 15 मेरो आफ्नो चीजसित, मलाई जे इच्छा लाग्छ, त्यही गर्न के मेरा लागि उचित छैन र? म असल भएकोमा के तिम्रो आँखा जल्छ?’ 16 यसरी नै पछिल्‍लाचाहिँ पहिला हुनेछन्, र पहिलाचाहिँ पछिल्‍ला; किनकि बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन्।”
आफ्नो मृत्यु र पुनरुत्थानसम्बन्धी प्रभु येशूको तेस्रो घोषणा
मत्ती १६:२१ र १७:२२-२३
17 अनि येशूले माथि यरूशलेमतिर जाँदै गर्नुहुँदा बाटोमा बाह्रजना चेलाहरूलाई अलग्गै लानुभयो र तिनीहरूलाई भन्‍नुभयो: 18 “हेर, हामी माथि यरूशलेमतिर जाँदैछौं; अनि मानिसका पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा पक्राइनेछन्, अनि तिनीहरूले उनलाई मृत्युदण्डको योग्य ठहराउनेछन्; 19 अनि तिनीहरूले उनलाई गिल्‍ला गर्न, कोर्रा लाउन र क्रूसमा टाँग्‍नलाई अन्यजातिहरूका हातमा सुम्पनेछन्; र तेस्रो दिनमा उनी बौरेर उठ्नेछन्।”
याकूब र यूहन्‍नाकी आमाको विन्ती
मर्कूस १०:३५-४५
20 तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा दण्डवत् गर्दै र उहाँलाई केही कुराको माग गर्दै उहाँकहाँ आइन्। 21 अनि उहाँले तिनलाई भन्‍नुभयो: “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्: “मेरा यी दुईजना छोराहरूलाई तपाईंको राज्यमा, एकजनालाई तपाईंको दाहिने हातपट्टि र अर्कोलाई देब्रे हातपट्टि बस्‍न दिनुहोस्!” 22 तर येशूले जवाफ दिएर भन्‍नुभयो: “तिमीहरू के माग्दछौ, सो जान्दैनौ। जुन कचौरा म पिउनेछु, के तिमीहरू त्यो कचौरा पिउन सक्छौ? अनि जुन बप्‍तिस्‍माले मेरो बप्‍तिस्‍मा हुन्छ, के तिमीहरू त्यो बप्‍तिस्‍मा लिन सक्छौ?” तिनीहरूले उहाँलाई भने: “हामी सक्छौं।” 23 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “साँच्‍चै तिमीहरूले मेरो कचौरा पिउनेछौ र जुन बप्‍तिस्‍माले मेरो बप्‍तिस्‍मा हुन्छ, त्यो बप्‍तिस्‍मा लिनेछौ; तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिनुचाहिँ मेरो काम होइन; तर जसका निम्ति मेरा पिताद्वारा यो तयार पारिएको छ, उसैलाई यो दिइनेछ।” 24 अनि यो सुनेर ती दसजना यी दुई भाइसँग रिसाए। 25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो: “तिमीहरूलाई थाहा छ, अन्यजातिहरूका शासकहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र ठूला-ठूलाहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। 26 तर तिमीहरूको बीचमा चाहिँ त्यस्तो हुनेछैन; तर तिमीहरूको बीचमा जसले ठूलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको सेवक बनोस्; 27 अनि तिमीहरूको बीचमा जसले पहिलो हुने इच्छा गर्दछ, ऊचाहिँ तिमीहरूको दास बनोस्। 28 त्यसरी नै मानिसका पुत्र पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए।”
दुई अन्धा मानिसहरूले दृष्‍टि पाए
मर्कूस १०:४६-५२; लूका १८:३५-४३
29 अनि जब उहाँहरू येरिहोबाट निस्कनुभयो, तब एउटा ठूलो भीड़ उहाँको पछि लाग्यो। 30 अनि हेर, दुई अन्धा मानिसहरू बाटोको किनारमा बसिरहेका थिए; येशू त्यहाँबाट जाँदै हुनुहुन्छ भन्‍ने सुनेर तिनीहरू यसो भन्दै कराए: “हे प्रभु, दाऊदका पुत्र! हामीमाथि दया राख्‍नुहोस्!” 31 अनि तिनीहरू चुप लागून् भनेर भीड़ले तिनीहरूलाई हकार्‍यो; तर तिनीहरू यसो भन्दै झन् बेसी चिच्‍च्याए: “हे प्रभु, दाऊदका पुत्र! हामीमाथि दया राख्‍नुहोस्!” 32 अनि येशू अड़िनुभयो, अनि उहाँले तिनीहरूलाई बोलाउनुभयो र भन्‍नुभयो: “म तिमीहरूका निम्ति के गरूँ – तिमीहरू के चाहन्छौ?” 33 तिनीहरूले उहाँलाई भने: “प्रभुजी, हाम्रा आँखाहरू खोलिऊन्।” 34 अनि येशूले तिनीहरूलाई टिठ्याउनुभयो र तिनीहरूका आँखाहरू छुनुभयो; अनि तुरुन्तै तिनीहरूका आँखाहरूले दृष्‍टि पाइहाले, र तिनीहरू उहाँको पछि लागे।