स्वास्नी त्याग्ने सम्बन्धमा प्रभु येशूको शिक्षा
मर्कूस १०:१-१२; लूका १६:१८
19
अनि यस्तो भयो: यी कुराहरू भनिसक्नुभएपछि येशू गालीलबाट निस्कनुभयो र यर्दनपारि यहूदियाका इलाकाहरूमा आउनुभयो; 2 अनि ठूला भीड़हरू उहाँको पछि लागे, अनि उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो। 3 फरिसीहरू पनि उहाँलाई परीक्षा गर्दै र उहाँलाई यसो भन्दै उहाँकहाँ आए: “जुनै पनि कारणलेक आफ्नी स्वास्नीलाई त्याग्नु के मानिसलाई उचित छ?” 4 अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “के तिमीहरूले पढ़ेका छैनौ? शुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो, 5 र भन्नुभयो: ‘यही कारणले गर्दा मानिसले बुबा र आमालाई छोड़्नेछ र आफ्नी स्वास्नीसँग मिलिरहनेछ, अनि ती दुई एउटै शरीर हुनेछन्।’ख 6 यसैकारण तिनीहरू अब उसो दुई होइनन्, तर एउटै शरीर हुन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड़्नुभएको छ, त्यसलाई मानिसले अलग नपारोस्।” 7 तिनीहरूले उहाँलाई भने: “तब किन मोशाले ‘त्यागपत्र दिनू र त्यसलाई त्यागिदिनू’ भन्ने आज्ञा दिए त?” 8 उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूकै हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई आफ्ना स्वास्नीहरूलाई त्याग गर्ने अनुमति दिए; तर शुरुदेखि चाहिँ यस्तो थिएन। 9 अनि म तिमीहरूलाई भन्दछु: जसले व्यभिचारबाहेक अरू कुनै कारणले आफ्नी स्वास्नीलाई त्याग्ला र अर्कीलाई विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ; अनि जसले त्यस त्यागिएकीलाई विवाह गर्दछ, त्यसले पनि व्यभिचार गर्दछ।” 10 उहाँका चेलाहरूले उहाँलाई भने: “आफ्नी स्वास्नीसित मानिसको यस्तै अवस्था हुन्छ भने विवाह गर्नु फाइदा छैन रहेछ।” 11 तर उहाँले तिनीहरूलाई भन्नुभयो: “सबै मानिसहरूले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले, जसलाई यो दिइएको छ। 12 किनभने कति नपुंसकहरू छन्, जोचाहिँ आमाकै गर्भबाट त्यस्ता जन्मेका हुन्, अनि कति नपुंसकहरू छन्, जो मानिसहरूद्वारा नपुंसक बनाइएका हुन्; अनि कति नपुंसकहरू छन्, जसले स्वर्गको राज्यका निम्ति आफैलाई नपुंसक बनाएका छन्। जसले यो कुरा ग्रहण गर्न सक्छ, त्यसले ग्रहण गरोस्।”प्रभु येशूले बालबालिकाहरूलाई आशिष् दिनुहुन्छ
मर्कूस १०:१३-१६; लूका १८:१५-१७
13 तब उहाँले आफ्ना हात उनीहरूमाथि राखी प्रार्थना गरिदिऊन् भनी साना बालबालिकाहरू उहाँकहाँ ल्याइए; तर चेलाहरूले तिनीहरूलाई हकारे। 14 तर येशूले भन्नुभयो: “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र उनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूको हो।” 15 अनि उहाँले आफ्ना हात उनीहरूमाथि राख्नुभयो, अनि त्यहाँबाट हिँड़्नुभयो।
धनी जवान
मर्कूस १०:१७-२७; लूका १८:१८-२७
16 अनि हेर, एकजनाले आएर उहाँलाई भन्यो: “हे असल गुरुज्यू, अनन्त जीवन पाउनलाई म कुन असल काम गरूँ?” 17 अनि उहाँले त्यसलाई भन्नुभयो: “तिमी मलाई किन ‘असल’ भन्दछौ? एकजना अर्थात् परमेश्वरबाहेक अरू कोही पनि असल छैन; तर तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर!” 18 त्यसले उहाँलाई भन्यो: “कुनचाहिँ?” येशूले भन्नुभयो: “तिमीले हत्या नगर, तिमीले व्यभिचार नगर, तिमीले चोरी नगर, तिमीले झूटो गवाही नदेऊ, 19 तिमीले आफ्ना बुबा र आमालाई आदर गर; अनि तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर!” 20 त्यस जवान मानिसले उहाँलाई भन्यो: “मेरो बालककालदेखि नै मैले यी सबै पालन गरेकै हुँ; ममा अझै के घटी छ?” 21 येशूले त्यसलाई भन्नुभयो: “तिमी सिद्ध हुन चाहन्छौ भने जाऊ, तिमीसँग जे छन्, बेच र गरिबहरूलाई देऊ, र तिमीले स्वर्गमा धन पाउनेछौ; अनि आऊ, मेरो पछि लाग।” 22 तर यो कुरा सुनेर त्यो जवान मानिस दुःखित भएर गयो, किनकि त्यससँग धेरै धनसम्पत्ति थिए। 23 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, धनी मानिस कठिनसँग स्वर्गको राज्यभित्र पस्नेछ। 24 अनि फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो हुन्छ।” 25 उहाँका चेलाहरूले यो कुरा सुनेर यसो भन्दै साह्रै अचम्म माने: “तब कसले मुक्ति पाउन सक्छ र?” 26 तर येशूले तिनीहरूलाई हेरेर भन्नुभयो: “मानिसहरूका निम्ति यो असम्भव छ; तर परमेश्वरका निम्ति सबै कुराहरू सम्भव छन्।”
सबै थोकहरू त्याग्ने प्रेरितहरूको इनाम
मर्कूस १०:२८-३१; लूका १८:२८-३०
27 तब पत्रुसले जवाफ दिएर उहाँलाई भने: “हेर्नुहोस्, हामीले सबै ठोकहरू त्याग्यौं, र तपाईंको पछि लाग्यौं; यसकारण हामीले के पाउनेछौं?” 28 अनि येशूले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, नयाँ सृष्टिमा, जब मानिसका पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछन्, तब तिमीहरू पनि, जो मेरो पछि लागेका छौ, इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। 29 अनि हरेक जसले मेरो नामका निम्ति घरहरू वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा बुबा वा आमा वा स्वास्नी वा छोराछोरीहरू वा जग्गाजमिनहरू त्यागेको छ, उसले सय गुणा पाउनेछ, र ऊ अनन्त जीवनको अधिकारी हुनेछ। 30 तर धेरैजना, जो पहिला छन्, पछिल्ला हुनेछन्; अनि पछिल्लाचाहिँ पहिला हुनेछन्।”