स्वर्गको राज्यमा को ठूलो?
मर्कूस ९:३३-४१; लूका ९:४६-४८
18
त्यही घड़ी चेलाहरू यसो भन्दै येशूकहाँ आए: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हो?” 2 अनि येशूले एउटा सानो बालकलाई आफूकहाँ बोलाउनुभयो र त्यसलाई तिनीहरूको माझमा राख्‍नुभयो, 3 अनि भन्‍नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरू बदलिएर साना बालबालिकाहरूजस्ता भएनौ भने तिमीहरू कुनै रीतिले पनि स्वर्गको राज्यमा पस्‍नेछैनौ। 4 यसकारण जसले आफैलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हो। 5 अनि जसले मेरो नाममा एउटा यस्तै सानो बालकलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ।”
ठेसठक्‍करको विषयमा चेताउनी
मर्कूस ९:४३-४८
6 तर जसले ममा विश्‍वास गर्ने यी बालकहरूमध्ये एउटालाई ठेस खुवाउँछ, त्यसको घिच्रोमा एउटा जाँतो झुन्ड्याएर त्योचाहिँ समुद्रको गहिराइमा डुबाइएको भए त्यसका निम्ति बढ़िया हुनेथियो। 7 ठेसहरूको कारण संसारलाई हाय! किनभने ठेसहरू आउनैपर्छ; तर हाय त्यस मानिसलाई, जसद्वारा ठेस आउँछ! 8 यसकारण तिम्रो हात वा तिम्रो पाउले तिमीलाई ठेस खुवाउँछ भने तिनलाई काट र आफूदेखि फालिदेऊ; दुवै हात वा दुवै पाउसहित अनन्त आगोमा फालिनुभन्दा लङ्गड़ो वा कूँजो भएर जीवनमा पस्‍नु नै तिम्रा लागि उत्तम हो। 9 अनि तिम्रो आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकाल र आफूदेखि फालिदेऊ; दुवै आँखासहित नरकको आगोमा फालिनुभन्दा कानो भएर जीवनमा पस्‍नु नै तिम्रा लागि उत्तम हो।”
हराएको भेड़ा
लूका १५:३-७
10 “सचेत रहो, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई पनि तुच्छ नठान; किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैंभरि स्वर्गमा हुनुहुने मेरा पिताको चेहरा हेर्दछन्। 11 किनभने मानिसका पुत्र हराएकोलाई बचाउन आएका हुन्। 12 तिमीहरू के सोच्दछौ? कुनै मानिसका सयवटा भेड़ा छन् भने, र तिनमा एउटा हरायो भने, के उसले उनान्सयलाई छोड़िराखेर पहाड़हरूहुँदो गई त्यस हराएकोलाई खोज्दैन र? 13 अनि उसले त्यसलाई भेट्टायो भने, म तिमीहरूलाई साँचो भन्दछु, ती नहराएका उनान्सयका निम्ति भन्दा त्यस भेड़ाका निम्ति ऊ बेसी आनन्दित हुन्छ। 14 यही प्रकारले यी सानाहरूमध्ये एउटै पनि नष्‍ट नहोस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताको इच्छा हो।”
अपराध गर्ने भाइप्रति व्यवहार
लूका १७:३-४
15 “तर तिम्रो भाइले तिम्रो विरोधमा पाप गर्छ भने जाऊ, अनि तिम्रो र उसको बीचमा मात्र उसले गरेको दोष उसलाई देखाइदेऊ; उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्‍यौ। 16 तर उसले तिम्रो कुरा सुनेन भने साथमा अझै एक वा दुईजनालाई लैजाऊ, कि दुई वा तीनजना साक्षीहरूको मुखबाट हरेक कुरा पक्‍का गरियोस्। 17 अनि उसले तिनीहरूको कुरा पनि सुन्‍न चाहेन भने मण्डलीलाई बताइदेऊ; तर उसले मण्डलीको कुरा पनि सुन्‍न चाहेन भने ऊचाहिँ तिम्रा लागि अन्यजाति र महसूल उठाउनेसरह ठहरियोस्। 18 म तिमीहरूलाई साँचो भन्दछु: पृथ्वीमा तिमीहरूले जे बाँधौला, सो स्वर्गमा बाँधिनेछ; र पृथ्वीमा तिमीहरूले जे फुकाऔला, सो स्वर्गमा फुकाइनेछ। 19 फेरि म तिमीहरूलाई भन्दछु: तिमीहरूमध्ये दुईजना, आफूले माग्‍न लागेको कुनै कुराको विषयमा पृथ्वीमा एक मनका भए भने स्वर्गमा हुनुहुने मेरा पिताद्वारा त्यो तिनीहरूका निम्ति गरिनेछ। 20 किनकि जहाँ दुई वा तीनजना मेरो नाममा भेला हुन्छन्, त्यहाँ तिनीहरूको माझमा म हुन्छु।”
क्षमा नगर्ने दासको दृष्‍टान्त
21 तब उहाँकहाँ आएर पत्रुसले भने: “हे प्रभु, मेरो भाइले मेरो विरोधमा कतिपल्ट पाप गरोस्, र म उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?” 22 येशूले उनलाई भन्‍नुभयो: “म तिमीलाई ‘सात पल्टसम्म’ भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म। 23 यसकारण स्वर्गको राज्यचाहिँ कुनै एकजना राजाजस्तो हो, जसले आफ्ना दासहरूबाट हिसाब लिने इच्छा गरे। 24 अनि जब तिनले हिसाब लिन शुरु गरे, तब एकजना तिनीकहाँ ल्याइयो, जसलाई तिनको दस हजार टालेन्ट ऋण लागेको थियो। 25 तर त्यससँग ऋण चुकाउने केही नभएकोले त्यसका मालिकले त्यो आफै, त्यसकी स्‍वास्‍नी, छोराछोरीहरू र त्यससँग भएका सबै चीजहरू बेचिऊन् र ऋण चुक्ता गरियोस् भनी हुकुम दिए। 26 यसकारण त्यस दासले भुइँमा घोप्‍टेर यसो भन्दै तिनलाई दण्डवत् गर्‍यो: ‘हे प्रभु, मप्रति धीरज धर्नुहोस्, र म तपाईंलाई सबै तिरिदिनेछु।’ 27 तब त्यस दासका मालिक दयाले भरिए, र तिनले त्यसलाई छोड़िदिए र त्यसलाई ऋण पनि माफ गरिदिए। 28 तर त्यही दास बाहिर निस्क्यो, र त्यसले आफ्नै सङ्गी-दासहरूमध्ये एकजनालाई भेट्टायो, जसलाई त्यसको एक सय दीनार ऋण लागेको थियो; अनि त्यसले उसलाई पक्रेर यसो भन्दै घोक्रो अँठ्यायो: ‘तँलाई लागेको ऋण मलाई तिरिहाल्!’ 29 तब त्यसको सङ्गी-दासले त्यसका पाउमा घोप्‍टो परेर यसो भन्दै त्यसलाई विन्ती गर्‍यो: ‘मप्रति धीरज धर्नुहोस्, र म तपाईंलाई सबै तिरिदिनेछु।’ 30 अनि त्यसले मानेन, तर गएर उसलाई तबसम्म झ्यालखानामा हालिदियो, जबसम्म उसले ऋण चुक्ता गर्दैन। 31 यसकारण त्यो घटना देखेर त्यसका सङ्गी-दासहरू साह्रै दुःखित भए, अनि गएर तिनीहरूले आफ्ना मालिकलाई भएका सबै घटनाहरू भनिदिए। 32 तब त्यसका मालिकले त्यसलाई बोलाएर त्यसलाई भने: ‘हे दुष्‍ट दास, तैंले मलाई विन्ती गरेको हुनाले मैले तँलाई त्यो सम्‍पूर्ण ऋण माफ गरिदिएँ। 33 जसरी मैले तँलाई टिठ्याएँ, त्यसरी नै तैंले पनि आफ्नो सङ्गी-दासलाई टिठ्याउनुपर्नेथिएन र?’ 34 अनि त्यसका मालिक रिसाए, र तिनले त्‍यसलाई तबसम्‍म सताउनेहरूका हातमा सुम्‍पिदिए, जबसम्म त्‍यसले तिनको सम्‍पूर्ण ऋण चुक्ता गर्दैन। 35 यसकारण तिमीहरूमध्ये हरेकले आफ्नो भाइलाई तिनीहरूका अपराधहरू आफ्नो हृदयबाट क्षमा गरेनौ भने मेरा स्वर्गीय पिताले पनि तिमीहरूलाई यस्तै गर्नुहुनेछ।”