प्रभु येशूको रूप-परिवर्तन
मर्कूस ९:२-१३; लूका ९:२८-३६
17
अनि छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई लिएर उनीहरूलाई एउटा अग्लो पहाड़माथि एकान्तमा लैजानुभयो, 2 र उनीहरूको सामु उहाँको रूप परिवर्तन भयो; अनि उहाँको चेहरा सूर्यझैं चम्क्यो, र उहाँका वस्त्रहरू ज्योतिजस्तै सेता भए। 3 अनि हेर, त्यहाँ उनीहरूकहाँ मोशा र एलिया उहाँसँग कुरा गरिरहेका देखा परे। 4 तब पत्रुसले जवाफ दिएर येशूलाई भने: “प्रभु, हामीलाई यहाँ रहनु असल छ; तपाईं चाहनुहुन्छ भने हामी यहाँ तीनवटा डेरा बनाऔं – तपाईंका निम्ति एउटा, मोशाका निम्ति एउटा र एलियाका निम्ति एउटा।” 5 तिनी बोल्दा-बोल्दै हेर, एउटा चम्किलो बादलले उनीहरूलाई ढाकिदियो; अनि हेर, यस बादलबाट यसो भन्‍ने एउटा वाणी आयो: “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्त प्रसन्‍न छु; यिनैको कुरा सुन!” 6 अनि जब चेलाहरूले यो सुने, तब उनीहरू भुइँमा घोप्‍टो परे, र साह्रै डराए। 7 अनि आएर येशूले उनीहरूलाई छुनुभयो, र भन्‍नुभयो: “उठ, र नडराओ!” 8 अनि जब उनीहरूले आफ्ना आँखाहरू माथि उठाए, तब उनीहरूले येशूलाई बाहेक अरू कसैलाई देखेनन्। 9 अनि उहाँहरू यस पहाड़बाट ओर्लंदै गर्नुहुँदा येशूले उनीहरूलाई यो भन्दै आज्ञा गर्नुभयो: “मानिसका पुत्र मरेकाहरूबाट बौरेर नउठुन्जेल यस दर्शनको कुरा कसैलाई नबताउनू!” 10 अनि उहाँका चेलाहरूले यसो भन्दै उहाँलाई सोधे: “तब एलिया पहिले आउनुपर्छ भनी शास्त्रीहरू किन भन्छन्?” 11 अनि येशूले जवाफ दिएर उनीहरूलाई भन्‍नुभयो: “एलिया साँच्‍चै पहिल्यै आउनेछन्, र उनले सबै कुराहरू पुनर्स्थापित गर्नेछन्। 12 तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आइसकेका छन्, र तिनीहरूले उनलाई चिनेनन्, तर तिनीहरूलाई जे इच्छा लाग्यो, त्यही तिनीहरूले उनीमाथि गरे। यही प्रकारले मानिसका पुत्रले पनि तिनीहरूबाट दुःख भोग्‍नेछन्।” 13 तब उहाँले चाहिँ उनीहरूसँग बप्‍तिस्‍मा दिने यूहन्‍नाको विषयमा कुरा गर्नुभएको रहेछ भनी चेलाहरूले बुझे।
शक्तिहीन चेलाहरू र सामर्थी प्रभु
मर्कूस ९:१४-२९; लूका ९:३७-४३
14 अनि उहाँहरू भीड़कहाँ आउनुभएपछि कुनै एकजना मानिस उहाँको सामु घुँड़ा टेक्दै र यसो भन्दै उहाँकहाँ आयो: 15 “प्रभु, मेरो छोरामाथि दया राख्‍नुहोस्, किनकि त्यसलाई छारे रोग लागेको छ, र त्यसले साह्रै दुःख पाउँछ; किनभने त्यो घरीघरी आगोमा र घरीघरी पानीमा लोट्छ। 16 अनि मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, अनि उनीहरूले त्यसलाई निको पार्न सकेनन्।” 17 तब येशूले जवाफ दिएर भन्‍नुभयो: “हे विश्‍वासहीन र भ्रष्‍ट पुस्ता, कहिलेसम्म म तिमीहरूसँग रहुँ? कहिलेसम्म म तिमीहरूलाई सहूँ? त्यसलाई यहाँ मकहाँ ल्याओ!” 18 अनि येशूले दुष्‍ट आत्मालाई हकार्नुभयो, र त्यो त्यसबाट निस्क्यो; अनि त्यो केटो त्यही घड़ीदेखि निको भयो।
19 तब चेलाहरू एकान्तमा येशूकहाँ आएर भने: “हामीले चाहिँ त्यसलाई किन निकाल्न सकेनौं?” 20 अनि येशूले उनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको अविश्‍वासको कारणले; किनकि म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूसँग रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस पहाड़लाई भन्‍नेछौ: ‘यहाँबाट सरेर त्यहाँ जा’, अनि यो सरेर जानेछ; र तिमीहरूका निम्ति कुनै कुरा असम्भव हुनेछैन। 21 तर पनि यस किसिमको चाहिँ प्रार्थना र उपवासद्वारा बाहेक निस्कँदैन।”
आफ्नो मृत्यु र पुनरुत्थानसम्बन्धी प्रभु येशूको दोस्रो घोषणा
मत्ती १६:२१ र २०:१७-१९
22 अनि उहाँहरू गालीलमा रहँदै गर्नुहुँदा येशूले उनीहरूलाई भन्‍नुभयो: “मानिसका पुत्र मानिसहरूका हातमा पक्राइनेछन्, 23 तिनीहरूले उनलाई मार्नेछन्, र तेस्रो दिनमा उनी फेरि बौराइनेछन्।” अनि उनीहरू साह्रै दुःखित भए।
प्रभु येशू कर तिर्नुहुन्छ
24 अनि उहाँहरू कपर्नहुममा आउनुभएपछि कर उठाउनेहरू पत्रुसकहाँ आए, र भने: “के तिमीहरूका गुरुले कर तिर्दैनन्?” 25 उनले भने: “ज्यू, तिर्नुहुन्छ।” अनि उनी घरभित्र पसेपछि येशूले पहिल्यै उनलाई भनिहाल्नुभयो: “शिमोन, तिम्रो के विचार छ? पृथ्वीका राजाहरूले महसूल वा कर कसबाट लिन्छन्, आफ्नै छोराहरूबाट कि पराईहरूबाट?” 26 पत्रुसले उहाँलाई भने: “पराईबाट।” येशूले उनलाई भन्‍नुभयो: “त्यसो भए छोराहरूले चाहिँ छुट पाउँछन्। 27 तरै पनि तिनीहरूलाई हामीले ठेस नदिऔं भनी तिमी समुद्रमा गएर बल्छी थाप, र पहिले आएको माछा लेऊ; अनि त्यसको मुख खोलेपछि तिमीले एउटा सिक्‍का पाउनेछौ; त्यसैलाई लगेर मेरा र तिम्रा निम्ति तिनीहरूलाई दिइहाल!”