फरिसी र सदुकीहरूको खमीर
मर्कूस ८:१०-२१
16
फरिसी र सदुकीहरू उहाँकहाँ आए, र परीक्षा गर्दै तिनीहरूले उहाँलाई माग गरे: “हामीलाई स्वर्गबाटको एउटा चिन्ह देखाउनुहोस्!” 2 उहाँले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “बेलुका तिमीहरू भन्दछौ, ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ।’ 3 अनि बिहान तिमीहरू भन्दछौ: ‘आज आँधी चल्नेछ; किनकि आकाश रातो र धुम्म परेको छ।’ हे कपटीहरूहो, साँच्‍चै तिमीहरू आकाशको मोहड़ा खुट्‍ट्याउन सक्दछौ, तर के समयहरूका चिन्हहरूचाहिँ खुट्‍ट्याउन सक्दैनौ? 4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चाहिँ चिन्ह खोज्दछ, तर भविष्यवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ हिँड़्‍नुभयो।
5 अनि उहाँका चेलाहरू पारिपट्टि पुगेपछि तिनीहरूले रोटी ल्याउन बिर्सेका रहेछन्। 6 तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “सचेत रहो, फरिसी र सदुकीहरूको खमीरदेखि होशियार बस!” 7 अनि तिनीहरू यसो भन्दै आपसमा तर्क गर्न लागे: “योचाहिँ हामीले रोटी नल्याएकै कारणले हो।” 8 तर यो कुरा थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो: “हे अल्पविश्‍वासीहरूहो, रोटी नल्याएकोमा तिमीहरू किन आपसमा तर्क गर्दर्छौ? 9 के तिमीहरू अझै पनि बुझ्दैनौ र याद गर्दैनौ – पाँच हजारका ती पाँच रोटी? र कति डाला तिमीहरूले उठाएका थियौ? 10 अनि चार हजारका ती सात रोटी; र कति डाला तिमीहरूले उठाएका थियौ? 11 मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइन भनी तिमीहरू कसरी बुझ्दैनौ? तर मैले ‘फरिसी र सदुकीहरूको खमीरदेखि पो होशियार बस’ भनेको हुँ।” 12 तब उहाँले रोटीको खमीरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होशियार बस्‍नू भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे।
येशू ‘ख्रीष्‍ट’ हुनुहुन्छ भन्‍ने पत्रुसको अङ्गीकार
मर्कूस ८:२७-३०; लूका ९:१८-२१
13 जब येशू सिजरिया फिलिप्पीका इलाकाहरूमा आउनुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो: “मानिसहरू के भन्दछन्‌, म मानिसका पुत्रचाहिँ को हुँ?” 14 अनि तिनीहरूले भने: “तपाईंलाई कसैले बप्‍तिस्‍मा दिने यूहन्‍ना, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्।” 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तर तिमीहरूचाहिँ नि के भन्छौ – म को हुँ?” 16 अनि शिमोन पत्रुसले जवाफ दिएर भने: “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ।” 17 अनि येशूले जवाफ दिएर उनलाई भन्‍नुभयो: “योनाका छोरा शिमोन, तिमी धन्य हौ; किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले, जो स्वर्गमा हुनुहुन्छ। 18 अनि म पनि तिमीलाई भन्दछु: तिमी पत्रुस हौ, र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। 19 अनि म तिमीलाई स्वर्गको राज्यका चाबीहरू दिनेछु; र पृथ्वीमा तिमीले जे बाँधौला, सो स्वर्गमा बाँधिनेछ, अनि पृथ्वीमा तिमीले जे फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” 20 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई, ‘यी येशू नै ‘ख्रीष्‍ट’ हुनुहुन्छ’ भनी कसैलाई नभन्‍नू भनी कड़ा आज्ञा दिनुभयो।
आफ्नो मृत्यु र पुनरुत्थानसम्बन्धी प्रभु येशूको पहिलो घोषणा
मत्ती १७:२२-२३ र २०:१७-१९
21 त्यस समयदेखि येशूले, उहाँलाई यरूशलेम जानु, बूढ़ा प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्‍नु, मारिनु र तेस्रो दिनमा बिउँताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नुभयो। 22 तब पत्रुसले उहाँलाई एकातिर लगेर यसो भन्दै उहाँलाई हप्काउन लागे: “यस्तो नहोस्, प्रभु! तपाईंमाथि यो कुरा कुनै रीतिले परिआउनेछैन!” 23 तर उहाँले फर्केर पत्रुसलाई भन्‍नुभयो: “हे शैतान, मेरो पछिल्तिर जा! तँ मेरा लागि ठेस लाग्‍ने कारण होस्, किनकि तँ परमेश्‍वरका कुराहरूमा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्।”
येशूको चेला हुनलाई तिर्नुपर्ने दाम
मर्कूस ८:३४-३८; लूका ९:२३-२६
24 तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कोही मेरो पछि आउन चाहन्छ भने उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्। 25 किनभने जसले आफ्नो आत्मा बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; अनि जसले आफ्नो आत्मा मेरा निम्ति गुमाउँदछ, उसले त्यो पाउनेछ। 26 किनकि मानिसले सारा संसार प्राप्‍त गरे तापनि आफ्नो आत्मालाई चाहिँ गुमायो भने त्यसलाई के फाइदा भयो? अथवा आफ्नो आत्माको सट्टामा मानिसले के देला? 27 किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूको साथमा आउनेछन्, र त्यस बेला उनले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनेछन्। 28 म तिमीहरूलाई साँचो भन्दछु, यहाँ उभिरहेकाहरूमध्ये कतिजना छन्, जसले मानिसका पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्‍नेछैनन्।”