परमेश्वरको आज्ञाविरुद्ध मानिसका रीतिथितिहरू
मर्कूस ७:१-१३
15
तब यरूशलेमका शास्त्री र फरिसीहरू यसो भन्दै येशूकहाँ आए: 2 “तपाईंका चेलाहरूले किन प्राचीनहरूको रीतिलाई भङ्ग गर्दछन्? किनकि जब तिनीहरू रोटी खान्छन्, तब तिनीहरू आफ्ना हात धुँदैनन्।” 3 तर उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “तिमीहरू पनि किन आफ्नो रीतिथितिद्वारा परमेश्वरको आज्ञालाई भङ्ग गर्दछौ? 4 किनकि परमेश्वरले यसो भन्दै आज्ञा गर्नुभयो: ‘आफ्ना बुबा र आमालाई आदर गर’क; अनि ‘जसले बुबा वा आमालाई श्राप दिन्छ, त्यो निश्चय नै मारियोस्।’ख 5 तर तिमीहरू भन्दछौ: ‘जसले आफ्ना बुबा वा आमालाई, “मबाट तपाईंलाई जे फाइदा हुनेथियो, त्योचाहिँ भेटी भएको छ” भनी भन्ला, त्यो स्वतन्त्र हुनेछ, 6 र त्यसले आफ्ना बुबा वा आफ्नी आमालाई आदर नगरोस्।’ यसरी तिमीहरूले आफ्नो रीतिथितिद्वारा परमेश्वरको आज्ञालाई बेकम्मा तुल्याएका छौ। 7 हे कपटीहरूहो, यशैयाले यसो भन्दै तिमीहरूको विषयमा ठीकै भविष्यवाणी गरे:8 ‘यो जाति आफ्नो मुखले चाहिँ मेरो नजिकमा आउँछ, र आफ्ना ओठले मेरो आदर गर्छ; तर यिनीहरूको हृदय मदेखि टाढ़ो छ। 9 तर यिनीहरू व्यर्थमा मेरो उपासना गर्छन्, किनकि यिनीहरू मानिसहरूका आज्ञाहरू धर्म-शिक्षाहरूको रूपमा सिकाउँछन्।’ ”ग
मानिसको हृदयको अवस्था
मर्कूस ७:१४-२३
10 अनि उहाँले भीड़लाई बोलाएर तिनीहरूलाई भन्नुभयो: “सुन र बुझ! 11 मुखभित्र जे पस्दछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन; तर मुखबाट जे निस्कदछ, त्यसले मानिसलाई अशुद्ध पार्दछ।” 12 तब आएर उहाँका चेलाहरूले उहाँलाई भने: “यो कुरा सुनेर फरिसीहरूले ठेस खाए भनी के तपाईंलाई थाहा भयो?” 13 तर उहाँले जवाफ दिएर भन्नुभयो: “हरेक विरुवा, जुनचाहिँ मेरा स्वर्गीय पिताले रोप्नुभएको होइन, उखालिनेछ। 14 तिनीहरूलाई छोड़िदेओ; तिनीहरू अन्धाहरूका अन्धा अगुवा हुन्। अनि अन्धाले अन्धालाई डोर्यायो भने दुवै खाड़लभित्र खस्नेछन्।” 15 तब पत्रुसले जवाफ दिएर उहाँलाई भने: “यस दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्!” 16 अनि येशूले भन्नुभयो: “के तिमीहरू पनि अहिलेसम्म विनासमझकै छौ? 17 जे मुखमा पस्छ, त्यो पेटमा जान्छ र चर्पीमा फालिन्छ भनेर के तिमीहरूले अझै बुझेका छैनौ? 18 तर जुन कुराहरू मुखबाट बाहिर निस्कन्छन्, ती कुराहरू हृदयबाट निस्केर आउँछन्, र तिनैले मानिसलाई अशुद्ध पार्छन्। 19 किनभने हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटा साक्षी, निन्दाहरू निस्कन्छन्। 20 मानिसलाई अशुद्ध पार्ने कुराहरू यी नै हुन्; तर नधोइएका हातहरूले खानाले मानिसलाई अशुद्ध पार्दैन।”
कनानी स्त्री
मर्कूस ७:२४-३०
21 तब येशू त्यहाँबाट निस्केर टायर र सिडोनका इलाकाहरूतिर जानुभयो। 22 अनि हेर, कनानकी एउटी स्त्री तिनै इलाकाहरूबाट आई, र उसले उहाँलाई यसो भन्दै कराएर भनी: “ममाथि दया राख्नुहोस्, हे प्रभु, दाऊदका पुत्र! मेरी छोरीलाई दुष्ट आत्माले नराम्रो गरी पक्रेको छ।” 23 तर उहाँले उसलाई एक वचन पनि जवाफ दिनुभएन। अनि उहाँका चेलाहरू आए, र यसो भन्दै तिनीहरूले उहाँलाई विन्ती गरे: “उसलाई बिदा गरिदिनुहोस्; किनकि ऊ हाम्रो पछि-पछि कराइरहन्छे।” 24 तर उहाँले जवाफ दिएर भन्नुभयो: “इस्राएलको घरानाका हराएका भेड़ाहरूकहाँ बाहेक अरू कसैकहाँ म पठाइएको होइनँ।” 25 तब ऊ आई, र यसो भन्दै उसले उहाँलाई दण्डवत् गरी: “प्रभु, मलाई सहायता गर्नुहोस्!” 26 तर उहाँले जवाफ दिएर भन्नुभयो: “नानीहरूको रोटी लगेर कुकुरहरूको सामु फ्याँकिदिनु उचित होइन।” 27 अनि उसले भनी: “ज्यू प्रभु! तर कुकुरहरूले पनि आफ्ना मालिकहरूको टेबलबाट खसेका टुक्राहरूबाट खान्छन्।” 28 तब येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “हे नारी, तिम्रो विश्वास ठूलो रहेछ! तिमीले जस्तो इच्छा गरेकी छ्यौ, त्यस्तै तिम्रो लागि होस्!” अनि उसकी छोरी त्यस घड़ीदेखि निको भई। 29 अनि येशू त्यहाँबाट निस्केर गालीलको समुद्रनिर आउनुभयो, र पहाड़माथि गएर त्यहाँ बस्नुभयो। 30 अनि ठूला-ठूला भीड़हरू आफूसित लङ्गड़ा, अन्धा, लाटा, कूँजा र अरू धेरैलाई लिएर उहाँकहाँ आए, र उनीहरूले तिनीहरूलाई येशूका पाउमा राखिदिए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो, 31 यहाँसम्म कि लाटाहरू बोलेका, कूँजाहरू निको भएका, लङ्गड़ाहरू हिँड़ेका, अन्धाहरू देख्ने भएका देखेर भीड़हरू छक्कै परे; र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे।
प्रभु येशूले चार हजार मानिसहरूलाई खुवाउनुभयो
मर्कूस ८:१-९
32 तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो: “यस भीड़लाई म टिठ्याउँछु; किनकि यिनीहरू निरन्तर मसँग रहेका तीन दिन भइसक्यो, र यिनीहरूसित खानलाई केही पनि छैन; अनि म यिनीहरूलाई भोकैघ पठाउन चाहँदिनँ, नत्र यिनीहरू बाटोमा मूर्च्छा पर्नेछन्।” 33 अनि उहाँका चेलाहरूले उहाँलाई भने: “यति ठूलो भीड़लाई तृप्त पार्न हामी यस उजाड़स्थानमा कहाँबाट यति धेरै रोटी पाऔं र?” 34 अनि येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित कतिवटा रोटी छन्?” अनि तिनीहरूले भने: “सातवटा, र अलिकता मसिना माछाहरू।” 35 अनि उहाँले त्यस भीड़लाई भुइँमा बस्ने आज्ञा दिनुभयो। 36 अनि उहाँले ती सातवटा रोटी र माछाहरू लिएर धन्यवाद चढ़ाई भाँच्नुभयो र आफ्ना चेलाहरूलाई दिनुभयो; अनि चेलाहरूले चाहिँ भीड़लाई दिए। 37 अनि ती सबैले खाए, र अघाए; अनि तिनीहरूले सात डालाभरि उब्रेका टुक्राहरू उठाए। 38 अनि स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरूचाहिँ चार हजार पुरुषहरू थिए। 39 अनि भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ डुङ्गामा चढ़्नुभयो र मग्दलाका इलाकाहरूमा आउनुभयो।