बप्‍तिस्‍मा दिने यूहन्‍नाको हत्या
मर्कूस ६:१४-२९
14
त्यस बेला राजा हेरोदले येशूको कीर्ति सुने, 2 र आफ्ना नोकरहरूलाई भने: “यिनी बप्‍तिस्‍मा दिने यूहन्‍ना हुन्; यिनी मरेकाहरूबाट बौरेर उठेछन्, यसैकारण यिनमा सामर्थ्यका कार्यहरू प्रकट हुन्छन्।” 3 किनकि हेरोदले आफ्नो भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए, र उनलाई झ्यालखानामा हालेका थिए। 4 किनभने यूहन्‍नाले तिनलाई भनेका थिए: “उहाँलाई राख्‍नु तपाईंलाई उचित छैन।” 5 अनि उनलाई मार्ने इच्छा गर्दा तिनी भीड़सँग डराए, किनभने तिनीहरूले उनलाई भविष्यवक्ता भनी मानेका थिए।
6 तर हेरोदको जन्म दिन मनाइँदै गर्दा हेरोदियासकी छोरी तिनीहरूको सामु नाची, र त्‍यसले हेरोदलाई खुशी पारी। 7 यसकारण तिनले शपथ खाएर त्यसले जे मागे तापनि त्यसलाई दिने प्रतिज्ञा गरे। 8 अनि आफ्नी आमाद्वारा सिकाइएकी हुनाले त्‍यसले भनी: “मलाई यहाँ एउटा थालमा बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको दिनुहोस्।” 9 तब राजा दुःखित भए, तर आफ्नो शपथ र आफूसँग खानामा बस्‍नेहरूको कारणले गर्दा तिनले ‘त्यसलाई त्यो दिइयोस्’ भनी हुकुम दिए। 10 अनि तिनले पठाएर झ्यालखानामा यूहन्‍नाको टाउको काटे। 11 अनि उनको टाउको एउटा थालमा ल्याइयो र त्यस केटीलाई दिइयो, अनि त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई। 12 अनि उनका चेलाहरू आएर त्यस शरीरलाई लगे, र त्यसलाई गाड़िदिए; अनि गएर उनीहरूले येशूलाई सुनाए। 13 जब येशूले यो कुरा सुन्‍नुभयो, तब उहाँ एउटा डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त स्थानमा जानुभयो; अनि यो सुनेर भीड़हरू शहरबाट पैदलै उहाँको पछि लागे। 14 अनि जब येशू निस्कनुभयो, तब उहाँले एउटा ठूलो भीड़लाई देख्‍नुभयो, अनि तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र उहाँले तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो।
प्रभु येशूले पाँच हजार मानिसहरूलाई अघाएसम्‍म खुवाउनुभयो
मर्कूस ६:३०-४४; लूका ९:१०-१७; यूहन्‍ना ६:१-१४
15 अनि साँझ परेपछि उहाँका चेलाहरू यसो भन्दै उहाँकहाँ आए: “यो एउटा एकान्त स्थान हो, र बेला बितिसकेको छ; भीड़हरूलाई पठाइदिनुहोस्, र गाउँहरूतिर गएर यिनीहरूले आफ्ना निम्ति खानेकुरा किनून्।” 16 तर येशूले तिनीहरूलाई भन्‍नुभयो: “यिनीहरूलाई जानु खाँचो छैन; तिमीहरूले नै यिनीहरूलाई खान देओ!” 17 अनि तिनीहरूले उहाँलाई भने: “यहाँ हामीसँग पाँचवटा रोटी र दुईवटा माछाबाहेक अरू केही पनि छैन।” 18 उहाँले भन्‍नुभयो: “तिनलाई यहाँ मकहाँ ल्याओ!” 19 अनि उहाँले भीड़हरूलाई घाँसमाथि बस्‍ने आज्ञा दिनुभयो; अनि उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो, र माथि स्वर्गतिर हेरेर आशिष्‌ दिनुभयो, अनि भाँचेर रोटी चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले चाहिँ भीड़लाई दिए। 20 अनि ती सबैले खाए, र अघाए; अनि तिनीहरूले बाह्र डालाभरि उब्रेका टुक्राहरू उठाए। 21 अनि स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।
प्रभु येशू समुद्रमाथि हिँड़्‍नुभयो
मर्कूस ६:४५-५२; यूहन्‍ना ६:१५-२१
22 अनि तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई आफूले भीड़हरूलाई बिदा गरुन्जेल डुङ्गामा चढ़्न र आफूभन्दा अघि पारिपट्टि जान कर लाउनुभयो। 23 अनि भीड़हरूलाई बिदा गर्नुभएपछि उहाँ प्रार्थना गर्न अलग्गै त्‍यस पहाड़माथि जानुभयो; अनि साँझ पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो। 24 तर यस घड़ी डुङ्गाचाहिँ समुद्रको बीचमा थियो, र छालहरूद्वारा हुत्याइँदैथियो; किनकि बतास अगाड़िपट्टिबाट आइरहेको थियो। 25 अनि रातको चौथो पहरमा येशू समुद्रमाथि हिँड़्‍दै तिनीहरूकहाँ जानुभयो। 26 अनि जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब “यो त भूत हो!” भन्दै तिनीहरू आत्तिए, र तिनीहरू डरले चिच्‍च्याए। 27 तर तुरुन्तै येशू यसो भन्दै तिनीहरूसँग बोल्नुभयो: “साहस गर! म हुँ; नडराओ!” 28 अनि पत्रुसले उहाँलाई जवाफ दिएर भने: “प्रभु, तपाईं हुनुहुन्छ भने मलाई पानीमाथि-माथि तपाईंकहाँ आउने आज्ञा दिनुहोस्!” 29 अनि उहाँले भन्‍नुभयो: “आऊ!” अनि डुङ्गाबाट उत्रेर पत्रुस येशूकहाँ जानलाई पानीमाथि हिँड़े। 30 तर तेज बतास देखेर तिनी डराए; र डुब्न लाग्दै गर्दा तिनी यसो भन्दै चिच्‍च्याए: “हे प्रभु, मलाई बचाउनुहोस्!” 31 अनि तुरुन्तै येशूले हात बढ़ाएर तिनलाई पक्रनुभयो र तिनलाई भन्‍नुभयो: “हे अल्प-विश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?” 32 अनि जब उहाँहरू डुङ्गाभित्र पस्‍नुभयो, तब बतास थामिहाल्यो। 33 तब ती डुङ्गामा हुनेहरूले आएर यसो भन्दै उहाँलाई दण्डवत् गरे: “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।”
34 अनि पारि तरेर उहाँहरू गेन्‍नेसरेतको मुलुकमा आइपुग्‍नुभयो। 35 अनि जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका सबै इलाकाहरूमा पठाए र सबै बिरामीहरूलाई उहाँकहाँ ल्याए; 36 अनि उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई विन्ती गरे; अनि जतिजनाले छोए, तिनीहरू पूरै निको भए।