स्वर्गको राज्यका रहस्यहरू:
(१) बीउ छर्नेको दृष्‍टान्त
मर्कूस ४:१-१५; लूका ८:४-१५
13
त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्‍नुभयो। 2 अनि उहाँकहाँ ठूला भीड़हरू भेला भए; यसकारण उहाँ एउटा डुङ्गाभित्र पसेर बस्‍नुभयो; अनि सारा भीड़ किनारमा उभियो। 3 अनि उहाँले यसो भन्दै तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तहरूमा बताउनुभयो: “हेर, एकजना बीउ छर्ने मानिस बीउ छर्न निस्क्यो; 4 अनि उसले बीउ छर्दाखेरि केही बीउ बाटोको किनारमा खसे; अनि चराहरू आए, र तिनलाई खाइदिए। 5 केही ढुङ्गेनी जमिनहरूमा खसे, जहाँ तिनीहरूले धेरै माटो पाएनन्; र माटोको गहिराइ नभएको हुनाले ती झट्टै उम्रिहाले। 6 अनि जब घाम लाग्यो, तब ती खरिए, र जरा नभएको हुनाले ती सुकिगए। 7 अनि केही काँड़ाहरूको बीचमा खसे, अनि ती काँड़ाहरू बढ़े, र तिनलाई निसास्याइदिए। 8 तर अरूचाहिँ असल जमिनमा खसे, र फल फलाए – कसैले सय गुणा, कसैले साठी गुणा, कसैले तीस गुणा। 9 जसका सुन्‍नलाई कानहरू छन्, त्यसले सुनोस्!” 10 अनि चेलाहरू आएर उहाँलाई भने: “तपाईं तिनीहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?” 11 उहाँले जवाफ दिएर उनीहरूलाई भन्‍नुभयो: “किनकि तिमीहरूलाई चाहिँ स्वर्गको राज्यका रहस्यहरू जान्‍न दिइएको छ, तर तिनीहरूलाई दिइएको छैन। 12 किनभने जोसँग छ, त्यसलाई दिइनेछ, र त्योसँग झन् प्रशस्त हुनेछ; तर जोसँग छैन, त्यसबाट त्योसँग जे छ, त्यो पनि लिइनेछ। 13 यसकारण म तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दछु; किनकि देखेर पनि तिनीहरूले देख्दैनन्, र सुनेर पनि तिनीहरूले सुन्दैनन्, न ता तिनीहरूले बुझ्छन्। 14 अनि तिनीहरूमा यशैयाको भविष्यवाणी पूरा हुन्छ, जसले भन्दछ:
‘सुनिरहँदा तिमीहरूले सुन्‍नेछौ, तर कुनै रीतिले बुझ्नेछैनौ, अनि हेरिरहँदा तिमीहरूले देख्‍नेछौ, तर कुनै रीतिले थाहा पाउनेछैनौ; 15 किनकि यस जातिको हृदय मोटो भएको छ, र तिनीहरूका कानहरू सुन्‍नलाई बोधा भएका छन्; अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् – तिनीहरूले कहीं कुनै समयमा आफ्ना आँखाहरूले देख्‍नुपर्ला कि, आफ्ना कानहरूले सुन्‍नुपर्ला कि, अनि आफ्नो हृदयले बुझ्नुपर्ला र तिनीहरू फर्कनुपर्ला कि, र मैले तिनीहरूलाई निको पार्नुपर्ला कि।’
16 तर तिमीहरूका आँखाहरू धन्य हुन्, किनकि तिनीहरूले देख्छन्; अनि तिमीहरूका कानहरू, किनकि तिनीहरूले सुन्छन्। 17 किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै भविष्यवक्ता र धर्मी जनहरूले, जुन कुराहरू तिमीहरू देख्छौ, ती कुराहरू देख्‍ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्छौ, ती कुराहरू सुन्‍ने इच्छा गरे, तर सुनेनन्।
18 यसकारण तिमीहरूले बीउ छर्नेको दृष्‍टान्त सुन: 19 जब कसैले राज्यको वचन सुन्छ, तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ, र जे कुरा उसको हृदयमा छरिएको थियो, सो त्यसले खोसेर लैजान्छ। यो उही हो, जुन बाटोतिर छरिएको थियो। 20 तर ढुङ्गेनी जमिनहरूमा छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ र तुरुन्तै आनन्दपूर्वक त्यसलाई ग्रहण गर्छ; 21 तर आफूमा जरा नभएको हुनाले त्यो केही समयसम्म मात्र रहन्छ, किनकि वचनको कारणले जब कष्‍ट वा खेदो आइपर्छ, तब तुरुन्तै त्यसले ठेस खाइहाल्छ। 22 अनि काँड़ाहरूको बीचमा छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ; अनि यस संसारको फिक्री र धनसम्पत्तिको धोकाले वचनलाई निसास्याइदिन्छ, र यो फलहीन बन्छ। 23 तर असल जमिनमाथि छरिएको चाहिँ यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ; त्यसैले फल फलाउँछ, अनि कसैले सय, कसैले साठी र कसैले तीस गुणा फलाउँछ।”
(२) गहुँ र सामाको दृष्‍टान्त
24 उहाँले यसो भन्दै अर्को दृष्‍टान्त तिनीहरूको सामु राखिदिनुभयो: “स्वर्गको राज्यचाहिँ आफ्नो बारीमा असल बीउ छर्ने मानिसजस्तो हो; 25 तर मानिसहरू सुतेका बेलामा उनको शत्रु आयो, गहुँको बीचमा सामा छर्‍यो, र गयो। 26 तर जब पात लाग्यो, र त्‍यसले फल फलायो, तब सामाहरू पनि देखा परे। 27 यसकारण घरका मालिकका दासहरूले आईकन उनलाई भने: ‘हजुर, के तपाईंले आफ्नो बारीमा असल बीउ छर्नुभएन र? तब त्यसमा सामाहरू कहाँबाट आए त?’ 28 अनि उनले तिनीहरूलाई भने: ‘शत्रुले यो गरेको हो।’ अनि दासहरूले उनलाई भने: ‘तब के हामी गएर तिनीहरूलाई बटुलौं भन्‍ने तपाईं इच्छा गर्नुहुन्छ?’ 29 तर उनले भने: ‘अहँ, नत्र ता सामाहरू बटुल्दा तिमीहरूले तिनीहरूको साथमा गहुँ पनि उखाल्नेछौ। 30 दुवैलाई बाली काट्ने समयसम्म सँग-सँगै बढ़्न देओ, र बाली काट्ने समयमा म बाली काट्नेहरूलाई भन्‍नेछु: ‘पहिले सामाहरू बटुल, र तिनलाई जलाउनका निम्ति तिनलाई बिटा-बिटा बनाओ, तर गहुँचाहिँ मेरो ढुकुटीमा जम्मा पार!’ ”
(३) रायोको बीउको दृष्‍टान्त र
(४) खमीरको दृष्‍टान्त
31 उहाँले यसो भन्दै अर्को दृष्‍टान्त पनि तिनीहरूको सामु राखिदिनुभयो: “स्वर्गको राज्यचाहिँ रायोको एउटा दानाजस्तो हो, जसलाई एकजना मानिसले लगेर आफ्नो बारीमा छर्‍यो; 32 जुनचाहिँ साँच्‍चै सबै बीउहरूभन्दा सानो हुन्छ; तर जब यो बढ़्छ, तब यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ, र एउटा रूख बन्छ, यसो हुँदा आकाशका चराहरू आई त्यसका हाँगाहरूमा वास बस्छन्।”
33 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमीरजस्तो हो, जसलाई एउटी स्त्रीले लगेर तीन पाथी पीठोमा, त्यो पूरै खमीरी नहोउन्जेल, लुकाइराखी।” 34 येशूले यी सबै कुराहरू भीड़लाई दृष्‍टान्तहरूमै भन्‍नुभयो; अनि विनादृष्‍टान्त उहाँले तिनीहरूलाई केही भन्‍नुभएन; 35 भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर,
‘म आफ्नो मुख दृष्‍टान्तहरूमा खोल्नेछु; संसारको उत्पत्तिदेखि गुप्‍त राखिएका कुराहरू म बोल्नेछु।’
36 तब भीड़हरूलाई बिदा दिएर येशू घरभित्र पस्‍नुभयो; अनि उहाँका चेलाहरू यसो भन्दै उहाँकहाँ आए: “हामीलाई बारीको सामाको दृष्‍टान्तको अर्थ बताइदिनुहोस्!” 37 अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो: “असल बीउ छर्नेचाहिँ मानिसका पुत्र हुन्। 38 बारीचाहिँ संसार हो, असल बीउचाहिँ राज्यका सन्तान हुन्; तर सामाहरूचाहिँ दुष्‍टका सन्तान हुन्। 39 तिनीहरूलाई छर्ने शत्रुचाहिँ शैतान हो; बालीकटनीचाहिँ संसारको अन्त हो, अनि काट्नेहरूचाहिँ स्वर्गदूत हुन्। 40 यसकारण जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, त्यस्तै नै यस संसारको अन्तमा हुनेछ। 41 मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन्, अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन्, 42 र तिनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन्; त्यहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछन्। 43 त्यस बेला धर्मी जनहरूचाहिँ आफ्ना पिताको राज्यमा सूर्यजस्तै चम्किनेछन्। जसका सुन्‍नलाई कानहरू छन्, त्यसले सुनोस्!”
(५-७) लुकेको धन, बहुमूल्य मोती र महाजालका दृष्‍टान्तहरू
44 “फेरि, स्वर्गको राज्यचाहिँ बारीमा लुकाइराखेको धनजस्तो हो, जसलाई एकजना मानिसले भेट्टाएर लुकायो; अनि त्यस कुराको कारणले ऊ रमाउँदै जान्छ र आफूसँग भएका सबै थोक बेचेर त्यो बारी किन्छ। 45 फेरि, स्वर्गको राज्य सुन्दर मोतीहरू खोजिहिँड़्‍ने एकजना व्यापारीजस्तो हो, 46 जसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै थोक बेच्यो र त्यसलाई किन्यो।
47 फेरि, स्वर्गको राज्य समुद्रमा हालिएको महाजालजस्तो हो, जसले हरेक किसिमबाट बटुल्यो; 48 त्यो भरिएपछि तिनीहरूले त्यो किनारमा तानेर ल्याए; अनि बसेर तिनीहरूले असल-असललाई भाँड़ाहरूभित्र जम्मा पारे, तर खराबजत्तिलाई फालिदिए। 49 यस्तै नै संसारको अन्तमा हुनेछ; स्वर्गदूतहरू आउनेछन्, र उनीहरूले दुष्‍टहरूलाई धर्मीहरूको बीचबाट अलग पार्नेछन्, 50 र तिनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन्; त्यहाँ रुवाबासी र दाह्राकिटाइ हुनेछन्।” 51 येशूले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले यी सबै कुराहरू बुझ्यौ?” तिनीहरूले उहाँलाई भने: “ज्यू, प्रभु!” 52 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यसकारण स्वर्गको राज्यका लागि शिक्षा-प्राप्‍त हरेक शास्त्री घरको एकजना मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना चीजहरू निकाल्छ।”
प्रभु येशूप्रति आफ्ना देशवासीहरूको अविश्‍वास
मर्कूस ६:१-६; लूका ४:१६-३०
53 अनि यस्तो भयो: येशूले ती दृष्‍टान्तहरू भनिसक्नुभएपछि उहाँ त्यहाँबाट हिँड़्‍नुभयो। 54 अनि आफ्नो मुलुकमा आउनुभएपछि उहाँले तिनीहरूलाई तिनीहरूको सभाघरमा सिकाउनुभयो, यहाँसम्म कि तिनीहरू छक्‍कै परे, र भने: “यी मानिसलाई यो बुद्धि र यी सामर्थ्यका कामहरू कहाँबाट प्राप्‍त भयो? 55 के यिनी त्‍यस सिकर्मीका छोरा होइनन् र? के यिनकी आमाको नाम मरियम होइन र? र यिनका भाइहरू याकूब, योसेस, शिमोन र यहूदा होइनन् र? 56 अनि यिनका बहिनीहरू सबै हामीसँग छैनन् र? तब यस मानिसलाई यी सबै कुराहरू कहाँबाट प्राप्‍त भयो?” 57 अनि तिनीहरूले उहाँमा ठेस खाए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो: “आफ्नो देश र आफ्नो घरमा बाहेक अरू कहीं पनि भविष्यवक्ता आदररहित हुँदैनन्।” 58 अनि तिनीहरूको अविश्‍वासले गर्दा उहाँले त्यहाँ धेरै सामर्थ्यका कामहरू गर्नुभएन।