योना
योना परमप्रभुको सामुबाट भाग्छन्
1
अनि परमप्रभुको यसो भन्‍ने वचन अमित्तैका छोरा योनाकहाँ आयो: 2 “उठ, त्यस ठूलो शहर नीनवेमा जाऊ, र त्यसको विरोधमा कराऊ; किनकि तिनीहरूको दुष्‍टता मेरो सामु आएको छ।”
3 तर योना परमप्रभुको सामुबाट टार्शिशतिर भाग्‍नलाई उठे र तल जोप्पामा झरे; अनि उनले टार्शिश जाने एउटा जहाज फेला पारे; अनि उनले त्यसको भाड़ा तिरे, र परमप्रभुको सामुबाट भागेर तिनीहरूसित टार्शिशतिर जान उनी त्यसभित्र पसे
4 तर परमप्रभुले समुद्रमा एउटा ठूलो हुरीबतास पठाउनुभयो, अनि समुद्रमा एउटा ठूलो आँधीबेह्री चल्यो, र त्यो जहाज टुक्रा-टुक्रा होला जस्तो भयो। 5 तब नाविकहरू डराए, र तिनीहरूले आ-आफ्ना देवतालाई पुकारे; अनि तिनीहरूले ती चीजहरूबाट जहाज हल्का पार्नलाई जहाजमा भएका मालमत्ताहरू समुद्रभित्र फालिदिए। तर योना तल जहाजको सबैभन्दा तल्‍लो भागमा गएका थिए; अनि उनी सुते र गहिरो निद्रामा परेका थिए। 6 तब जहाजको कप्‍तान उनीकहाँ आए, अनि तिनले उनलाई भने: “हे सुतुवा, तिम्रो के मतलब छ? उठ, आफ्नो ईश्‍वरलाई पुकार! हुन सक्छ, ईश्‍वरले हामीलाई विचार गर्छन्, र हामी नष्‍ट हुनेछैनौं।” 7 अनि तिनीहरू हरेकले एक-अर्कालाई भने: “आओ, हामी चिट्ठाहरू हालौं, र कसको कारणले हामीमाथि यो विपत्ति आइपरेछ, सो पत्ता लगाऔं!” तब तिनीहरूले चिट्ठाहरू हाले, अनि चिट्ठाचाहिँ योनाको नाममा पर्‍यो।
8 तब तिनीहरूले उनलाई भने: “हामी तिमीलाई विन्‍ती गर्दछौं, हामीलाई भन: कसले गर्दा हामीमाथि यो विपत्ति आइपर्‍यो? तिम्रो पेसा के हो? अनि तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? र तिमी कुन जातिका मानिस हौ?” 9 अनि उनले तिनीहरूलाई भने: “म एक हिब्रू हुँ; अनि म परमप्रभु स्वर्गका परमेश्‍वरको डर मान्दछु, जसले समुद्र र सुक्खा जमिन बनाउनुभयो।” 10 तब ती मानिसहरू अत्यन्तै भयभीत भए, र उनलाई भने: “तिमीले किन यसो गर्‍यौ?” किनकि उनीचाहिँ परमप्रभुको सामुबाट भागिरहेका छन् भनी ती मानिसहरूले थाहा गरे; किनभने उनले तिनीहरूलाई भनिदिएका थिए। 11 तब तिनीहरूले उनलाई भने: “हामीप्रति समुद्र शान्त हुनका निम्ति हामी तिमीलाई के गरौं त?” किनकि समुद्रमा आँधी झन्-झन् मच्‍चिरहेको थियो। 12 अनि उनले तिनीहरूलाई भने: “मलाई उठाओ र मलाई समुद्रभित्र फालिदेओ! तब तिमीहरूप्रति समुद्र शान्त हुनेछ; किनभने म जान्दछु, मेरै कारणले यो ठूलो आँधी तिमीहरूमाथि आइपरेको हो।” 13 तरै पनि ती मानिसहरूले त्यो जहाज सुक्खा जमिनमा ल्याउनलाई खूबै खियाए, तर तिनीहरूले सकेनन्; किनकि समुद्रमा आँधी तिनीहरूको विरोधमा झन्-झन् मच्‍चिरहेको थियो। 14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारे, र भने: “हे परमप्रभु, हामी तपाईंलाई विन्‍ती गर्छौं, हामी तपाईंलाई विन्‍ती गर्छौं! यस मानिसको प्राणको कारणले हामी नष्‍ट नहोऔं, र निर्दोष रगतको दोष हामीमाथि नलगाउनुहोस्! किनभने तपाईंले, हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लाग्यो, त्यस्तै गर्नुभएको छ।” 15 तब तिनीहरूले योनालाई उठाए र उनलाई समुद्रभित्र फालिदिए; तब समुद्र आफ्नो झोक्‍कालाई छोड़ेर शान्त भयो। 16 तब ती मानिसहरूले परमप्रभुको अत्यन्तै डर माने, परमप्रभुका निम्ति बलि चढ़ाए र भाकलहरू गरे। 17 अनि योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा खटाउनुभएको थियो; अनि त्यस माछाको पेटभित्र योना तीन दिन र तीन रातसम्म रहिरहे।