ओबद्याह
एदोमले कर्मको फल पाउँछ
1
ओबद्याहको दर्शन – एदोमको विषयमा प्रभु यहोवा यसो भन्‍नुहुन्छ: ‘हामीले परमप्रभुबाट एउटा समाचार सुन्यौं, अन्यजातिहरूको बीचमा एकजना राजदूत पठाइयो: “तिमीहरू उठ; हामी एदोम देशको विरोधमा लड़ाइँका निम्ति उठौं!” 2 “हेर्, मैले तँलाई अन्यजातिहरूको बीचमा सानो तुल्याएको छु; तँ अति नै तुच्छ ठानिएको छस्। 3 हे तँ चट्टानका धाँदाहरूमा बस्‍ने, तेरो वासस्थान अग्लो ठाउँमा छ, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ; तैंले आफ्नो हृदयमा भन्छस्: ‘कसले मलाई भुइँमा झार्छ?’ 4 तैंले आफूलाई चीलले जस्तै माथि-माथि पुर्‍याइस् भने पनि, र तैंले आफ्नो गुँड़ ताराहरूको बीचमा बनाइस् भने पनि म तँलाई त्यहाँबाट तल झार्नेछु, परमप्रभु भन्‍नुहुन्छ। 5 यदि चोरहरू, अँ, डाँकूहरू राति तँकहाँ आए भने (तँ कति नाश हुनेछस् नि!) के तिनीहरूले आफूलाई पर्याप्‍त होउन्जेल चोर्दैनथिए र? के अङ्‍गुर टिप्‍नेहरू तँकहाँ आए भने के तिनीहरूले केही सिलाफल छोड़्दैनथिए र? 6 हाय, एसावका थोकहरू तलाश गरिए! त्यसका लुकाएर राखिएका थोकहरू खोजखाज गरिए!
7 तँसित सन्धि बाँध्‍ने सबै मानिसहरूले तँलाई सिमानासम्म धकेलेका छन्; तँसित मेलमा बसेका मानिसहरूले तँलाई धोका दिएका छन्, र तँमाथि विजयी भएका छन्; जसले तेरो रोटी खान्छन्, तिनीहरूले तँमुनि पासो बिछ्याएका छन्; त्यसमा कुनै समझ छैन। 8 परमप्रभु भन्‍नुहुन्छ, अँ, के त्यस दिन म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावको पहाड़बाट समझलाई नाश पार्नेछैनँ र? 9 अनि हे तेमान, काटमारद्वारा एसावको पहाड़को हरेक मानिस नाश होस् भन्‍ने हेतुले तेरा शूरवीर मानिसहरू हताश हुनेछन्। 10 तेरो भाइ याकूबप्रति गरिएको तेरो अत्याचारको कारणले शर्मले तँलाई छोप्‍नेछ, र तँ सदाका निम्ति नाश हुनेछस्। 11 जुन दिन तँ पारिपट्टि उभिएको थिइस्, जुन दिन परदेशीहरूले याकूबको सेनालाई कैद गरेर लगे, र विदेशीहरू उसका मूलढोकाहरूभित्र पसे र यरूशलेममाथि चिट्ठा हाले, त्यस दिन तँ पनि तिनीहरूमध्ये एक थिइस्। 12 तर तेरो भाइको दिनमा, ऊ परदेशी भएको दिनमा तैंले हेरिरहनुहुँदैनथियो, र यहूदीहरूको विनाशको दिनमा तैंले उनीहरूमाथि हर्ष-बढ़ाइ गर्नुहुँदैनथियो, अनि उनीहरूको सङ्कष्‍टको दिनमा तैंले घमण्डसित बोल्नुहुँदैनथियो 13 उनीहरूको विपत्तिको दिनमा मेरो प्रजाको मूलढोकाभित्र तँ पस्‍नुहुँदैनथियो; अँ, तैंले चाहिँ उनीहरूको विपत्तिको दिनमा उनीहरूको कष्‍ट हेरिरहनुहुँदैनथियो; न ता तैंले उनीहरूको विपत्तिको दिनमा उनीहरूको धनसम्पत्तिमाथि हात हाल्नुहुनेथियो। 14 न ता तैंले उसका भागेकाहरूलाई नाश गर्नलाई दोबाटोमा उभिनुहुनेथियो, न ता सङ्कष्‍टको दिनमा तैंले उसका उम्केकाहरूलाई पक्रेर सुम्पिदिनुहुनेथियो। 15 किनकि सबै अन्यजातिहरूमाथि परमप्रभुको दिन नजिकै आएको छ; तैंले जस्तो गरेको छस्, तँसित त्यस्तै गरिनेछ; तेरो प्रतिफल तेरो टाउकोमाथि फर्किनेछ।
16 किनभने जसरी तिमीहरूले मेरो पवित्र पर्वतमाथि पिएका छौ, त्यसरी नै सबै अन्यजातिहरूले निरन्‍तर पिउनेछन्; अँ, तिनीहरूले पिउनेछन्, अनि तिनीहरूले निल्नेछन्, र तिनीहरू मानौं कहिल्यै नभएझैं हुनेछन्।
17 तर सियोन पर्वतमाथि चाहिँ छुटकारा हुनेछ, र पवित्रता हुनेछ; अनि याकूबको घरानाले आफ्ना अधिकारका भागहरू अधिकार गर्नेछन्। 18 अनि याकूबको घराना एउटा आगो हुनेछ, र यूसुफको घराना एउटा ज्वाला हुनेछ; अनि एसावको घरानाचाहिँ नलको ठुटा हुनेछ; अनि उनीहरूले तिनमा आगो लगाउनेछन् र तिनीहरूलाई भस्म पार्नेछन्, अनि एसावको घरानामा कोही बाँकी रहनेछैन; किनभने परमप्रभुले यो भन्‍नुभएको हो। 19 अनि दक्षिणकाहरूले एसावको पहाड़ अधिकार गर्नेछन्; तराईकाहरूले पलिस्तीहरूलाई अधिकार गर्नेछन्; अनि उनीहरूले एप्रैमको मुलुक र सामरियाको मुलुक अधिकार गर्नेछन्; अनि बिन्यामिनले चाहिँ गिलाद अधिकार गर्नेछ। 20 अनि इस्राएलीहरूका यस सेनारूपी कैदीहरूले सारेपतसम्म कनानीहरूको मुलुक अधिकार गर्नेछन्; अनि सपारादमा भएको यरूशलेमका कैदीहरूले चाहिँ दक्षिणका शहरहरू अधिकार गर्नेछन्। 21 अनि एसावको पहाड़लाई न्याय गर्नका निम्ति सियोन पर्वतमा उद्धार गर्नेहरू उठ्नेछन्; अनि राज्यचाहिँ परमप्रभुको हुनेछ।’