आमोस
परमप्रभुले इस्राएलका छिमेकी देशहरूको न्याय गर्नुहुन्छ
1
आमोसका वचनहरू, जुन आमोसचाहिँ टेकोअका गोठालाहरूमध्येका थिए; यी वचनहरू तिनले यहूदाका राजा उज्जियाहका दिनहरूमा र इस्राएलका राजा योआशका छोरा यारोबामका दिनहरूमा, भुइँचालोभन्दा दुई वर्ष पहिले इस्राएलको विषयमा देखे।2 अनि तिनले भने: “परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट आफ्नो सोर सुनाउनुहुनेछ; अनि गोठालाहरूका खर्कहरूलेक विलाप गर्नेछन्, र कर्मेलको टाकुरा ओइलिनेछ।
दमस्कसको न्याय
3 परमप्रभु यसो भन्नुहुन्छ, दमस्कसका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्नेछैनँ; किनभने तिनीहरूले गिलादलाई फलामका झाँट्ने हतियारहरूले झाँटेका छन्; 4 तर म हजाएलको घरमा एउटा आगो पठाइदिनेछु, जसले बेन-हददका महलहरू भस्म पार्नेछख। 5 अनि म दमस्कसको आग्ला भाँचिदिनेछु, अनि आवनको बेंसीबाट त्यसको बासिन्दालाई र बेत-अदनबाट राजदण्ड धारण गर्नेलाई मेटाइदिनेछु; अनि अरामका मानिसहरू कैदी भएर कीरमा जानेछन्, परमप्रभु भन्नुहुन्छ।”
गाजा, अश्दोद, अशकलोन र एक्रोन लगायत पलिस्तीहरूको बाँकी भागको न्याय
6 “परमप्रभु यसो भन्नुहुन्छ, गाजाका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्नेछैनँ; किनकि सम्पूर्ण कैदीहरूलाई एदोमको हातमा सुम्पिदिनलाई तिनीहरूले उनीहरूलाई कैद गरेर लगे; 7 तर म गाजाको पर्खालमा एउटा आगो पठाइदिनेछु, जसले त्यसका महलहरू भस्म पार्नेछख। 8 अनि म अश्दोदबाट त्यसको बासिन्दालाई, र अश्कलोनबाट राजदण्ड धारण गर्नेलाई मेटाइदिनेछु, अनि एक्रोनको विरोधमा आफ्नो हात उठाउनेछुग; अनि पलिस्तीहरूको बाँकी रहेको भाग नष्ट हुनेछ, प्रभु यहोवा भन्नुहुन्छ।”
टायरको न्याय
9 “परमप्रभु यसो भन्नुहुन्छ, टायरका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्नेछैनँ; किनभने तिनीहरूले सम्पूर्ण कैदीहरूलाई एदोमको हातमा सुम्पिदिए र भाइ-भाइको बीचको वाचाको सम्झना गरेनन्; 10 तर म टायरको पर्खालमा एउटा आगो पठाइदिनेछु, जसले त्यसका महलहरू भस्म पार्नेछख।
एदोमको न्याय
11 परमप्रभु यसो भन्नुहुन्छ, “एदोमका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्नेछैनँ; किनकि त्यसले एउटा तरवार लिएर आफ्नो भाइको पिछा गर्यो र आफ्नो सबै दयामाया फालिदियो;घ अनि त्यसको रिसले निरन्तर च्यातचुत पारिरह्यो, अनि त्यसले आफ्नो क्रोध सधैंभरि राखिछोड्यो; 12 तर म तेमानमा एउटा आगो पठाइदिनेछु, जसले बोज्राका महलहरू भस्म पार्नेछ।”ख
अम्मोनीहरूको न्याय
13 “परमप्रभु यसो भन्नुहुन्छ, अम्मोनीहरूका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्नेछैनँ; किनभने आफ्नो सिमाना बढ़ाउने हेतुले तिनीहरूले गिलादका गर्भवती स्त्रीहरूका पेट चिरेका छन्; 14 तर म रब्बाको पर्खालमा एउटा आगो सल्काइदिनेछु, जसले लड़ाइँको दिनमा ललकारसहित र भुमरीको दिनमा आँधीसहित त्यसका महलहरू भस्म पार्नेछख; 15 अनि तिनीहरूका राजा – त्यो र त्यसका शासकहरू एकसाथ कैदमा जानेछन्, परमप्रभु भन्नुहुन्छ।”