मोआबको न्याय
2
“परमप्रभु यसो भन्‍नुहुन्छ, मोआबका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्‍नेछैनँ; किनभने त्यसले एदोमको राजाका हड्डीहरू जलाएर चूना बनाइदियो; 2 तर म मोआबमा एउटा आगो पठाइदिनेछु, जसले करियोतका महलहरू भस्म पार्नेछ; अनि खैलाबैला, ललकार र तुरहीको आवाजको साथ मोआब मर्नेछ; 3 अनि म त्यसको बीचबाट न्यायकर्तालाई नाश गर्नेछु र यसको साथमा त्यसका सबै शासकहरूलाई मार्नेछु, परमप्रभु भन्‍नुहुन्छ।”
यहूदाको न्याय
4 “परमप्रभु यसो भन्‍नुहुन्छ, यहूदाका तीन, अँ, चार अपराधहरूको कारणले म उसलाई दण्ड नदिई छोड़्‍नेछैनँ; किनकि तिनीहरूले परमप्रभुको व्यवस्थालाई तुच्छ ठानेका छन् र उहाँका आज्ञाहरू पालन गरेका छैनन्, अनि जुन झूटहरूको पछि उनीहरूका पितापुर्खाहरू हिँड़ेका थिए, उनीहरूका ती नै झूटहरूले उनीहरूलाई भड़्किहिँड़्‍ने तुल्याए। 5 तर म यहूदामा एउटा आगो पठाइदिनेछु, जसले यरूशलेमका महलहरू भस्म पार्नेछ।”
इस्राएलको न्याय
6 “परमप्रभु यसो भन्‍नुहुन्छ, इस्राएलका तीन, अँ, चार अपराधहरूको कारणले म त्यसलाई दण्ड नदिई छोड़्‍नेछैनँ; किनभने तिनीहरूले चाँदीका निम्ति धर्मी जनलाई र एक जोड़ा जुत्ताका निम्ति दरिद्रलाई बेचिदिए; 7 तिनीहरू गरिबहरूको टाउकोमाथि भएको धरतीको धूलोका निम्ति पनि हप्याक-हप्याक हुन्छन्, र नम्रहरूको बाटो टेढ़ामेढ़ा पार्छन्; अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याउनलाई कुनै मानिस र त्यसका बुबा एउटै केटीकहाँ जान्छन्। 8 अनि हरेक वेदीको छेउमा तिनीहरू बन्धकको रूपमा राखिएका वस्त्रहरूमाथि ढल्कन्छन् र आफ्नो ईश्‍वरको भवनमा जरिमाना लगाइएका मानिसहरूको दाखमद्य पिउँछन्। 9 तैपनि मैले नै तिनीहरूको सामुबाट एमोरीलाई नाश पारें, जसको उचाइ देवदारहरूको उचाइजस्तो थियो र जो फलाँटहरूजस्तो बलवान् थियो; तरै पनि मैले त्यसको फल माथिबाट र त्यसका जराहरू तलबाट नाश पारें। 10 अनि एमोरीको देश अधिकार गर्न भनी मैले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याएँ र चालीस वर्षसम्म तिमीहरूलाई उजाड़स्थानमा डोर्‍याएँ। 11 अनि मैले तिमीहरूका छोराहरूबाट कतिलाई भविष्यवक्ताहरूको रूपमा र तिमीहरूका जवानहरूबाट कतिलाई नाजीरहरूको रूपमा खड़ा गरें। हे इस्राएलीहरूहो, के यो यस्तै होइन र?, परमप्रभु भन्‍नुहुन्छ। 12 तर तिमीहरूले ती नाजीरहरूलाई दाखमद्य पिउन दियौ र ती भविष्यवक्ताहरूलाई ‘भविष्यवाणी नगर!’ भन्दै आज्ञा गर्‍यौ।
13 हेर, अन्‍नका बिटाहरूले भरिएको गाड़ा दबिएझैं म तिमीहरूमुनि दबिएको छु। 14 यसकारण वेगले दगुर्नेका निम्ति भागेर जाने ठाउँ नष्‍ट हुनेछ, र बलवान्‌ ले आफ्नो शक्ति बलियो पार्नेछैन, अनि शूरवीरले आफ्नो प्राणलाई बचाउनेछैन; 15 न धनु चलाउने खड़ा रहन सक्नेछ, न आफ्ना पाउहरूले वेगसित दगुर्नेले आफूलाई बचाउन सक्नेछ, न ता घोड़चढ़ीले नै आफ्नो प्राणलाई बचाउन सक्नेछ। 16 अनि शक्तिशाली मानिसहरूको बीचमा जो सूरो छ, त्यो पनि त्यस दिन नाङ्गै भाग्‍नेछ, परमप्रभु भन्‍नुहुन्छ।”