योएल
सलहहरूले अन्‍नपात नाश गर्छन्
1
परमप्रभुको त्‍यो वचन, जुन वचनचाहिँ पतुएलका छोरा योएलकहाँ आयो: 2 “हे बूढ़ा प्रधानहरूहो, यो कुरा सुन! अनि हे देशका सबै बासिन्दाहरूहो, कान लगाओ! के यो कुरा तिमीहरूका दिनहरूमा वा तिमीहरूका पितापुर्खाहरूका दिनहरूमा कहिल्यै भएको थियो? 3 आफ्ना छोराछोरीहरूलाई यस विषयमा बताओ, र तिमीहरूका छोराछोरीहरूले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्, र उनीहरूका छोराछोरीहरूले अर्को पुस्तालाई बताऊन्! 4 जे काट्ने सलहले छोड्यो, त्यो बगाले सलहले खाइदियो; जे बगाले सलहले छोड्यो, त्यो बच्‍चा सलहले खाइदियो; जे बच्‍चा सलहले छोड्यो, त्यो उजाड़्ने सलहले खाइदियो।
5 हे मतवालाहरूहो, बिउँझ र रोओ! हे सबै दाखमद्य पिउनेहरूहो, नयाँ दाखमद्यका निम्ति रोइकराइ गर! किनकि अब यो तिमीहरूको मुखबाट काटियो। 6 किनकि एउटा बलियो र अनगन्ती संख्या भएको जातिले मेरो देशमाथि चढ़ाइ गरेको छ, जसका दाँतहरू सिंहका दाँतहरू हुन् र जसका सिंहनीका बङ्गाराहरू छन्। 7 त्यसले मेरो दाखको बोट उजाड़ पारिदिएको छ र मेरो नेभाराको रूखको बोक्रा छिलिदिएको छ। त्यसले यसलाई बिलकुलै नाङ्गो पारेर फ्याँकिदिएको छ; यसका हाँगाहरू सेता पारिएका छन्।
8 भाङ्ग्राको लुगाले आफ्नो कम्मर कसेकी कन्याले आफ्नो जवानीका पतिका निम्ति विलाप गरेझैं विलाप गर! 9 परमप्रभुको भवनबाट अन्‍नबलि र अर्घबलि काटिए; पूजाहारीहरू अर्थात् परमप्रभुका सेवकहरू विलाप गर्दछन्। 10 खेतबारी उजाड़िएको छ; जमिनले विलाप गर्दछ; किनभने अन्‍न उजाड़ भएको छ, नयाँ दाखमद्य सुकेको छ, तेल ओइलिएको छ। 11 हे खेतीवालहरूहो, गहुँ र जौका निम्ति लज्जित होओ! हे दाखबारीका मालीहरूहो, रोइकराइ गर! किनभने खेतबारीको फसल नष्‍ट भएको छ। 12 दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलिन्छ; दारिमको रूख, साथै खजुरको रूख र स्याउको रूख, अँ, मैदानका सबै रूखहरू ओइलिएका छन्; किनकि मानिसका सन्तानहरूबाट आनन्द सुकेर गएको छ।
13 हे पूजाहारीहरूहो, आ-आफ्ना कम्मर कस र विलाप गर! हे वेदीका सेवकहरूहो, रोइकराइ गर! हे मेरा परमेश्‍वरका सेवकहरूहो, आओ, भाङ्ग्राको लुगा लगाएर रातभरि रात बिताओ; किनभने मेरा परमेश्‍वरको भवनबाट अन्‍नबलि र अर्घबलि रोकेर राखिएका छन्। 14 उपवासको दिन ठहराओ! महासभाको घोषणा गर! बूढ़ा प्रधानहरू र देशका सबै बासिन्दाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा भेला गर र परमप्रभुलाई पुकार!
15 त्यस दिनका निम्ति हाय! किनकि परमप्रभुको दिन नजिकै आएको छ; अनि त्यो दिन सर्वशक्तिमान्‌बाट विनाशझैं आइपर्नेछ। 16 के हाम्रै आँखाहरूको सामु खानेकुरा, अँ, हाम्रा परमेश्‍वरकै भवनबाट आनन्द र हर्ष काटिएनन् र? 17 बीउहरू तिनका डल्‍लाहरूमुनि सड़े, भण्डारहरू उजाड़ भए, ढुकुटीहरू भत्काइए; किनभने बालीनाली ओइलियो। 18 पशुहरू कति कराउँछन्! गाईबस्तुका बथानहरू आत्तिएका छन्; किनकि तिनीहरूका निम्ति खर्क छैन; अँ, भेड़ाहरूका बगालहरू उजाड़िएका छन्। 19 हे परमप्रभु, तपाईंलाई नै म पुकार्नेछु; किनभने आगोले उजाड़स्थानका खर्कहरू भस्म पारेको छ, र ज्वालाले मैदानका सबै रूखहरू जलाइदिएको छ। 20 अँ, मैदानका पशुहरूले पनि तपाईंलाई पुकार्दछन्; किनकि पानीका नदीनालाहरू सुकेका छन्, र आगोले उजाड़स्थानका खर्कहरू भस्म पारेको छ।”