परमप्रभुको दिनको विषयमा यी सलहबाट दिइएको चेताउनी
2
“तिमीहरू सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा खतराको ध्वनि बजाओक! देशका सबै बासिन्दाहरू थरथर कामून्; किनभने परमप्रभुको दिन आउँदैछ; किनकि त्यो नजिकै छ। 2 अन्धकार र उदासीकोख दिन, बादलहरू र घोर अन्धकारको दिन पहाड़हरूमाथि बिहानी फैलिरहेझैं फैलिरहेको छ – एउटा ठूलो र शक्तिशाली जाति; यस्तो त कहिल्यै भएको थिएन, न ता यसपछि धेरै पुस्तासम्म फेरि कहिल्यै हुनेछ। 3 तिनीहरूको अघि-अघि आगोले भस्म पार्छ, र तिनीहरूको पछि-पछि ज्वालाले जलाउँछ; तिनीहरूको अघि त्यो देश अदनको बगैंचाजस्तो छ, र तिनीहरूको पछिचाहिँ त्यो उजाड़ भएको उजाड़स्थान हुन्छ; अँ, र तिनीहरूबाट कुनै थोक उम्कनेछैन। 4 तिनीहरूको रूप घोड़ाहरूको रूपजस्तै छ; अनि घोड़चढ़ीहरूझैं तिनीहरू दगुर्नेछन्। 5 पहाड़हरूका टाकुराहरूमाथि रथहरूको आवाजजस्तै तिनीहरू उफ्रनेछन् – नलका ठुटा भस्म पार्ने आगोको ज्वालाको आवाजजस्तै, लड़ाइँका निम्ति मोर्चा बाँधिएको शक्तिशाली जातिझैं। 6 तिनीहरूको सामु जाति-जातिका मानिसहरू पीड़ित हुनेछन्; सबै अनुहारहरूको रङ्ग उड़्नेछ। 7 तिनीहरू शूरवीर मानिसहरूझैं दगुर्नेछन्, योद्धाहरूझैं तिनीहरू पर्खाल चढ़्नेछन्; अनि तिनीहरू हरेक आ-आफ्ना बाटाहरूमा हिँड़्नेछन्; र तिनीहरू आफ्ना पङ्क्तिहरूबाट हट्नेछैनन्। 8 अँ, तिनीहरूले एक-अर्कालाई घचेट्नेछैनन्; तिनीहरू हरेक आ-आफ्नो मार्गमा हिँड़्नेछन्; अनि तिनीहरू तरवारमाथि लड़्दा-पर्दा पनि तिनीहरू घायल हुनेछैनन्।ग 9 तिनीहरू शहरभित्र यताउता दगुर्नेछन्; पर्खालमाथि तिनीहरू दगुर्नेछन्; घरहरूमाथि तिनीहरू चढ़्नेछन्; चोरझैं तिनीहरू झ्यालहरूबाट भित्र पस्नेछन्। 10 तिनीहरूको सामु पृथ्वी डगमगाउनेछ, र आकाश थरथर काम्नेछ; सूर्य र चन्द्रमा अँध्यारा हुनेछन्, अनि ताराहरूले आफ्नो चमक दिनेछैनन्। 11 अनि परमप्रभुले आफ्नो सेनाको सामु आफ्नो सोर सुनाउनुहुनेछ; किनभने उहाँको सेना अति ठूलो छ; किनकि उहाँ शक्तिशाली हुनुहुन्छ, जसले आफ्नो वचन पूरा गर्नुहुन्छ; किनभने परमप्रभुको दिन महान् र अति भयानक हुन्छ; अनि यसमा को टिक्न सक्छ?”पश्चात्तापीहरूप्रति परमप्रभुको दया
12 “यसकारण अहिले पनि, परमप्रभु भन्नुहुन्छ, उपवास बस्दै, रुँदै र विलाप गर्दै तिमीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्क! 13 अनि आफ्ना वस्त्रहरू होइन, तर आफ्नो हृदय च्यात, र परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्क! किनभने उहाँ दयालु र अनुग्रहकारी, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ, र त्यस विपत्तिको विषयमा पछुताउनुहुन्छ। 14 कसले जान्दछ, कहीं उहाँ फर्केर, पछुताएर आफ्नो पछिल्तिर आशिष्, अँ, परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति अन्नबलि र अर्घबलि छोड़िराख्नुहुन्छ कि? 15 तिमीहरू सियोनमा तुरही फुक, उपवासको दिनघ ठहराओ, महासभाको घोषणा गर! 16 मानिसहरूलाई भेला गर, एउटा सभा ठहराओ,ङ बूढ़ा प्रधानहरूलाईच भेला गर! बालबच्चाहरूलाई, अँ, स्तनहरू चुस्ने बच्चाहरूलाई जम्मा पार! दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट बाहिर निस्कून्! 17 पूजाहारीहरू अर्थात् परमप्रभुका सेवकहरू दलान र वेदीको बीचमा रोऊन्, र यसो भनून्: ‘हे परमप्रभु, आफ्नो प्रजामाथि टिठाउनुहोस्! अन्यजातिहरूले उनीहरूमाथि शासन गरून् भनेर आफ्नो अधिकारको भागलाई निन्दाको पात्र बन्न नदिनुहोस्!छ किन तिनीहरूले जाति-जातिको बीचमा “खै, उनीहरूको परमेश्वर कहाँ छ?” भन्न पाऊन्?’
18 तब परमप्रभुले आफ्नो देशका निम्ति जलन राख्नुहुनेछ र आफ्नो प्रजालाई टिठाउनुहुनेछ। 19 अँ, परमप्रभुले जवाफ दिएर आफ्नो प्रजालाई भन्नुहुनेछ: ‘हेर, तिमीहरूकहाँ म अन्न, नयाँ दाखमद्य र तेल पठाउनेछु, जसद्वारा तिमीहरू तृप्त हुनेछौ; अनि म तिमीहरूलाई अन्यजातिहरूको बीचमा फेरि कहिल्यै निन्दाको पात्र तुल्याउनेछैनँ। 20 तर म उत्तरबाट आउनेज सेनालाई तिमीहरूबाट टाढ़ा हटाइदिनेछु, र त्यसलाई एउटा रूखो र उजाड़ देशमा धपाइदिनेछु; त्यसको मुख पूर्वी समुद्रतिर, र त्यसको पछिल्लो भाग पश्चिमी समुद्रतिर हुनेछ; अनि त्यसको दुर्गन्ध माथि उठ्नेछ, र त्यसको हरेक माथि उठ्नेछ; किनकि त्यसले ठूला कामहरू गरेको थियो।’ 21 हे देश, नडरा, आनन्दित हो र रमा; किनकि परमप्रभुले ठूला-ठूला कामहरू गर्नुहुनेछ।
22 हे मैदानका पशुहरूहो, नडराओ! किनभने उजाड़स्थानका खर्कहरू उम्रन्छन्; किनकि रूखले आफ्नो फल फलाउँछ, नेभाराको रूख र दाखको बोटले आफ्नो उब्जनीझ दिन्छन्। 23 अनि हे सियोनका छोराहरूहो, परमप्रभु तिमीहरूका परमेश्वरमा आनन्दित होओ र रमाओ! किनकि उहाँले तिमीहरूलाई धार्मिकताअनुसार अघिल्लो वर्षा दिनुभएको छ; अनि उहाँले पहिले झैं तिमीहरूका निम्ति वर्षा बर्साउनुहुनेछ: अघिल्लो र पछिल्लो वर्षा। 24 अनि खलाहरू अन्नले भरिएका हुनेछन्; अनि कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्। 25 अनि जुन वर्षहरू बगाले सलह, बच्चा सलह, उजाड़्ने सलह र काट्ने सलहले अर्थात् मैले तिमीहरूको बीचमा पठाएको मेरो ठूलो सेनाले खाइदिएको थियो, ती वर्षहरूको भर्नाञ म तिमीहरूलाई भरिदिनेछु। 26 अनि तिमीहरूले प्रशस्त खानेछौ, तृप्त हुनेछौ र परमप्रभु आफ्ना परमेश्वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूसित अद्भूत रीतिले व्यवहार गर्नुभएको छ; अनि मेरो प्रजा फेरि कहिल्यै शर्ममा पर्नेछैन। 27 अनि तिमीहरूले ‘म नै इस्राएलको बीचमा छु, अनि म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र अरू कोही छैन’ भनी जान्नेछौ; अनि मेरो प्रजा फेरि कहिल्यै शर्ममा पर्नेछैन।
28 अनि त्यसपछि यस्तो हुनेछ: म सबै प्राणीहरूमाथि आफ्नो आत्मा खन्याउनेछु; अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्; तिमीहरूका बूढ़ापाकाहरूले सपनाहरू देख्नेछन्, र तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्। 29 अनि ती दिनहरूमा म दासहरू र दासीहरूमाथि पनि मेरो आत्मा खन्याउनेछु। 30 अनि म आकाशमा र पृथ्वीमा अचम्मका कामहरू देखाउनेछु: रगत, आगो र धूवाँका मुस्लाहरू। 31 परमप्रभुको महान् र भयानक दिन आउनुभन्दा पहिले सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछन्। 32 अनि यस्तो हुनेछ: हरेक जसले परमप्रभुको नाम पुकार्नेछ, उसले उद्धार पाउनेछ; किनभने परमप्रभुले भन्नुभएअनुसार सियोन पर्वतमा र यरूशलेममा, अनि ती बाँकी रहेकाहरूको बीचमाट, जसलाई परमप्रभुले बोलाउनुहुनेछ, छुटकारा हुनेछ।”