होशे
ईश्‍वरीय आदेशअनुसार होशेले एउटी वेश्यालाई आफ्‍नो पत्‍नी तुल्‍याए
1
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाहका दिनहरूमा, अनि इस्राएलका राजा योआशका छोरा यारोबामका दिनहरूमा बेरीका छोरा होशेकहाँ परमप्रभुको वचन आयो।
2 होशेद्वारा परमप्रभुको वचनको शुरु: अनि परमप्रभुले होशेलाई भन्‍नुभयो: “जाऊ, एउटी वेश्या स्त्रीलाई आफ्नी स्‍वास्‍नी बनाऊ र वेश्याकर्महरूका छोराछोरीहरूलाई आफ्नो तुल्याऊ; किनभने यस देशले परमप्रभुको पछि लाग्‍नदेखि हटेर अति नै वेश्याकर्म गरेको छ।”
3 यसकारण गएर तिनले दिब्लैमकी छोरी गोमेरलाई ल्याए; अनि ऊ गर्भवती भई, र उसले तिनका निम्ति एउटा छोरा जन्माई। 4 अनि परमप्रभुले तिनलाई भन्‍नुभयो: “त्यसको नाम यिज्रेएल राख; किनकि थोरै समयपछि म यिज्रेएलको रगतको बदला येहूको घरानाबाट लिनेछु र इस्राएलको घरानाको राज्य अन्त गरिदिनेछु। 5 अनि त्यस दिनमा यस्तो हुनेछ: यिज्रेएलको बेंसीमा म इस्राएलको धनु भाँचिदिनेछु।” 6 अनि ऊ फेरि गर्भवती भई, र उसले एउटी छोरी जन्माई। अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “त्यसको नाम लो-रूहामा राख; किनभने इस्राएलको घरानामाथि म फेरि दया देखाउनेछैनँ; तर म तिनीहरूलाई बिलकुलै हटाइदिनेछु। 7 तर यहूदाको घरानामाथि म दया देखाउनेछु र उनीहरूलाई परमप्रभु उनीहरूका परमेश्‍वरद्वारा बचाउनेछु; अनि म उनीहरूलाई धनु र लड़ाइँद्वारा, घोड़ाहरू र घोड़चढ़ीहरूद्वारा बचाउनेछैनँ।” 8 अनि जब उसले लो-रूहामालाई दूध छुड़ाई, तब ऊ गर्भवती भई, र उसले एउटा छोरा जन्माई। 9 तब परमेश्‍वरले भन्‍नुभयो: “त्यसको नाम लो-अम्मी राख; किनकि तिमीहरूचाहिँ मेरो प्रजा होइनौ, र मचाहिँ तिमीहरूको परमेश्‍वर हुनेछैनँ।”
एक दिन इस्राएल फर्केर आउनेछ
10 “तर इस्राएलीहरूको संख्या समुद्रको बालुवाझैं हुनेछ, जुन न नाप्‍न न गन्ती गर्न सकिन्छ; अनि यस्तो हुनेछ: जुन ठाउँमा तिनीहरूलाई ‘तिमीहरू मेरो प्रजा होइनौ’ भनिएको थियो, त्यही ठाउँमा तिनीहरूलाई ‘तिमीहरू जीवित परमेश्‍वरका छोराछोरीहरू हौ’ भनिनेछ। 11 तब यहूदाकाहरू र इस्राएलकाहरू एकसाथ भेला हुनेछन्; अनि उनीहरूले आफ्ना निम्ति एकैजना अगुवालाई नियुक्त गर्नेछन्, र त्यस देशबाट निस्केर आउनेछन्; किनभने यिज्रेएलको दिन महान् हुनेछ।”