अन्त्यको समय
12
‘अनि त्यस समयमा तिम्रो जातिका सन्तानहरूको पक्षमा खड़ा हुने ती महान् प्रधान माइकल खड़ा हुनेछन्; अनि यस्तो सङ्कष्‍टको समय हुनेछ, जस्‍तो कुनै जातिको उत्पत्ति भएको समयदेखि त्यस बेलासम्म कहिल्यै भएको हुँदैन; अनि त्यस समयमा तिम्रो जाति – हरेक जन, जसको नाम पुस्तकमा लेखिएको पाइनेछ, छुटाइनेछ 2 अनि पृथ्वीको धूलोमा सुत्‍नेहरूमध्ये धेरैजना – कतिजनाचाहिँ अनन्त जीवनका निम्ति, तर कतिजनाचाहिँ शर्म र अनन्त घृणाका निम्ति बिउँझनेछन्। 3 अनि जो-जो समझदार छन्, उनीहरू आकाश-मण्डलको चमकझैं चम्कनेछन्; अनि जसले धेरैलाई धार्मिकतातिर फर्काउँछन्, उनीहरू ताराहरूझैं सदा-सर्वदा चम्कनेछन्।
4 तर तिमीले चाहिँ, हे दानियल, अन्तको समयसम्मका निम्ति यी वचनहरू बन्द गर र यस पुस्तकमाथि मोहरछाप लगाऊ! धेरैजना यताउता दगुर्नेछन्, अनि ज्ञानको वृद्धि हुनेछ।’
5 तब म, दानियलले हेरें; अनि हेर, अरू दुईजना, एकजनाचाहिँ नदीको किनारको यतापट्टि र अर्कोचाहिँ नदीको किनारको उतापट्टि उभिरहेका रहेछन्! 6 अनि एकजनाले मलमलको वस्त्र पहिरिएका मानिसलाई भने, जोचाहिँ नदीको पानीमाथि थिए: ‘यी अचम्मका कुराहरूको अन्त कहिले हुनेछ?’ 7 अनि मैले मलमलको वस्त्र पहिरिएका र नदीको पानीमाथि भएका ती मानिसलाई आफ्नो दाहिने हात र आफ्नो देब्रे हात स्वर्गतिर उचालेर र सदा-सर्वदा जीवित रहनुहुनेको नाममा शपथ खाएर बोलेका सुनें, कि समय, समयहरू र आधा समयका निम्ति यो हुनेछ; जब त्यसले पवित्र जातिको शक्ति चूरचूर पार्ने काम गरिसिद्ध्याउनेछ, तब यी सबै कुराहरू सिद्धिनेछन्। 8 अनि मैले सुनें, तर मैले बुझिनँ; तब मैले भनें: ‘हे मेरा प्रभु, यी कुराहरूको अन्त केकस्‍तो हुनेछ?’ 9 अनि उनले भने: ‘हे दानियल, आफ्नो बाटो लाग; किनकि अन्तको समयसम्मका निम्ति ती वचनहरू बन्द गरिएका र मोहरछाप लगाइएका छन्। 10 धेरैजना शुद्ध पारिनेछन्, सेता बनाइनेछन् र खारिनेछन्; तर दुष्‍टहरूले त दुष्‍ट काम नै गर्नेछन्; अनि दुष्‍टहरूमध्ये कसैले पनि बुझ्नेछैन; तर समझदारहरूले बुझ्नेछन्। 11 अनि दिनहुँ चढ़ाइने बलिदान हटाएर उजाड़ पार्ने घृणित वस्तु स्थापित गरेको समयदेखि यता एक हजार दुई सय नब्बे दिन हुनेछन्। 12 धन्य हो त्यो, जो पर्खन्छ र एक हजार तीन सय पैंतीस दिनमा आइपुग्छ। 13 तर तिमीचाहिँ अन्ततिर आफ्नो बाटो लाग; किनकि तिमीले विश्राम लिनेछौ, र ती दिनहरूको अन्तमा आफ्नो भागमा खड़ा हुनेछौ।’ ”