इजकिएल
इजकिएलको पहिलो दर्शन
1
अनि तीसौं वर्षको चौथो महिनामा, त्यस महिनाको पाँचौं दिनमा यस्तो भयो: जब म कबार नदीको किनारमा कैदमा लगिएकाहरूको बीचमा थिएँ, तब आकाश उघ्रियो, र मैले परमेश्‍वरका दर्शनहरू देखें। 2 त्यस महिनाको पाँचौं दिनमा – त्यो वर्षचाहिँ राजा यहोयाकिन कैदमा लगिएको पाँचौं वर्ष थियो – 3 कल्दीहरूको देशमा, कबार नदीको किनारमा परमप्रभुको वचन बूजीका छोरा पूजाहारी इजकिएलकहाँ स्पष्‍टसँग आयो; अनि त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो।
4 अनि मैले हेरें; अनि हेर, एउटा भुमरी – एउटा ठूलो बादल र आफैलाई निलिरहने एउटा आगो उत्तरबाट आइरहेको रहेछ, जसको चारैतिर चमक थियो र जसको बीचबाट, अँ, त्यस आगोको बीचबाट झल्काइएको पित्तलको जस्तो रङ्ग निस्कन्थ्यो। 5 अनि त्यसको बीचबाट चार जीवित प्राणीहरूको रूप निस्क्यो। अनि तिनीहरूको आकार यस प्रकारको थियो: तिनीहरूको रूप मानिसको जस्तो थियो। 6 अनि तिनीहरू हरेकका चार अनुहारहरू र हरेकका चार पखेटाहरू थिए। 7 अनि तिनीहरूका पाउ सीधा पाउ थिए; अनि तिनीहरूका पाउको पैतालाचाहिँ बाछाको खुट्टाको पैतालाजस्तो थियो; अनि ती झल्काइएको पित्तलको रङ्गजस्तै टल्कन्थे। 8 अनि तिनीहरूको चारैपट्टि, तिनीहरूका पखेटाहरूमुनि मानिसका हातहरू थिए; अनि ती चारजनाका आ-आफ्ना अनुहारहरू र आ-आफ्ना पखेटाहरू थिए। 9 तिनीहरूका पखेटाहरू एक-अर्कासँग जोड़िएका थिए; हिँड़्‍दा तिनीहरू मोड़िँदैनथिए; तिनीहरू हरेक सीधा अघिल्तिर हिँड़्थे। 10 तिनीहरूका अनुहारहरूको रूपचाहिँ मानिसको अनुहार थियो; अनि दाहिनेपट्टि ती चारैजनाको सिंहको अनुहार थियो; अनि देब्रेपट्टि ती चारजनाको गोरुको अनुहार थियो; अनि ती चारैजनाको चीलको अनुहार पनि थियो। 11 तिनीहरूका अनुहारहरू यस्ता थिए; अनि तिनीहरूका पखेटाहरू मास्तिर फैलाइएका थिए; हरेकका दुईवटा पखेटाहरू एक-अर्कासँग जोड़िएका थिए, अनि दुईवटाले आफ्ना शरीरहरू ढाक्थे। 12 अनि तिनीहरू हरेक सीधा अघिल्तिर हिँड़्थे; आत्मा जता-जता जानुपर्थ्यो, त्यता-त्यतै तिनीहरू जान्थे; अनि हिँड़्‍दा तिनीहरू मोड़िँदैनथिए। 13 जीवित प्राणीहरूको रूप – तिनीहरूको आकार बलिरहेको आगोका भुङ्ग्राहरूजस्तो, राँकाहरूको जस्तो आकार थियो; त्यो आगोचाहिँ जीवित प्राणीहरूको बीचमा माथि-तल गर्दथ्यो; अनि त्यो आगो चहकिलो थियो, र त्यस आगोबाट बिजुली निस्कन्थ्यो। 14 अनि ती जीवित प्राणीहरू बिजुलीको झिलिकसमान दगुर्थे र फर्कन्थे।
15 अनि जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथें, तब हेर, चार-चारवटा अनुहारहरू भएका ती जीवित प्राणीहरूको छेउमा पृथ्वीमाथि एउटा चक्‍का थियो। 16 ती चक्‍काहरूको आकार र तिनको बनावट फिरोजाको जस्तो रङ्गको थियो; अनि ती चारैवटाको एउटै रूप थियो; अनि तिनीहरूको आकार र बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का भएजस्तो थियो। 17 हिँड़्‍दाखेरि तिनीहरू आफ्नो चार दिशातर्फ हिँड़्‍ने गर्थे; हिँड़्‍दा तिनीहरू मोड़िँदैनथिए। 18 चक्‍काहरूका घेराहरूचाहिँ – ती अग्ला थिए, ती भयानक पनि थिए; अनि तिनीहरूका घेराहरू, ती चारवटाको चारैतिर, आँखैआँखाले भरिएका थिए। 19 अनि ती जीवित प्राणीहरू हिँड़्‍दाहुँदि तिनीहरूको छेउमा ती चक्‍काहरू पनि चल्थे; अनि ती जीवित प्राणीहरू पृथ्वीबाट माथि उठाइँदाखेरि ती चक्‍काहरू पनि माथि उठाइन्थे। 20 जता-जता आत्मा जानु थियो, त्यता-त्यतै तिनीहरू जान्थे, तिनीहरूको आत्मा त्यहीं जान्थ्यो; अनि तिनीहरूको साथ-साथै चक्‍काहरू पनि माथि उठाइन्थे; किनकि त्यस जीवित प्राणीको आत्मा ती चक्‍काहरूमा थियो। 21 जब तिनीहरू जान्थे, तब ती पनि जान्थे; जब तिनीहरू खड़ा हुन्थे, तब ती पनि खड़ा हुन्थे; अनि जब तिनीहरू पृथ्वीबाट माथि उठाइन्थे, तब ती चक्‍काहरू पनि तिनीहरूको साथ-साथै माथि उठाइन्थे; किनकि त्यस जीवित प्राणीको आत्मा ती चक्‍काहरूमा थियो।
22 अनि त्यस जीवित प्राणीका शिरहरूमाथि आकाशजस्तो केही थियो, जसको रङ्ग भयानक बिल्‍लौरको जस्तो थियो, जो मास्तिर तिनीहरूका शिरहरूमाथि फैलिएको थियो। 23 अनि त्यस आकाशमुनि तिनीहरूका पखेटाहरू सीधा एक-अर्कातर्फ फैलिरहेका थिए; हरेकका दुईवटा पखेटा थिए, जसले एकपट्टि ढाक्थे, र हरेकका अरू दुईवटा फखेटा थिए, जसले अर्कोपट्टि तिनीहरूका शरीरहरू ढाक्थे। 24 तिनीहरू हिँड़्‍दाखेरि मैले तिनीहरूका पखेटाहरूको आवाज धेरै पानीको आवाजजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो सुनें; त्यो कोलाहलको आवाजचाहिँ सेनाको आवाजजस्तो थियो; खड़ा हुँदा तिनीहरू आफ्ना पखेटाहरू तल झार्थे। 25 अनि तिनीहरूका शिरहरूमाथि भएको आकाशबाट एउटा शब्द आयो; खड़ा हुँदा तिनीहरू आफ्ना पखेटाहरू तल झार्थे।
26 अनि तिनीहरूका शिरहरूमाथि भएको आकाशमाथि नीरमणिको जस्तो रूपमा देखा पर्ने एउटा सिंहासनको आकृति थियो; अनि मास्तिर त्यस सिंहासनको आकृतिमाथि, अँ, त्यसमाथि एकजना मानिसको जस्तो रूपमा देखा पर्ने एउटा आकृति थियो। 27 अनि उहाँको कम्मरजस्तो देखा पर्ने भागदेखि मास्तिर मैले त्यस आकृतिभित्र चारैतिर आगोको जस्तो, झल्काइएको पित्तलको जस्तो रङ्ग देखें; अनि कम्मरजस्तो देखा पर्ने भागदेखि तलतिर मैले आगोको जस्तो रूप देखें, जसमा चारैतिर चमक थियो। 28 पानी परेको दिनमा बादलमा देखा पर्ने धनुको रूपजस्तै, त्यस्तै चारैतिर त्यस चमकको रूप थियो। परमप्रभुको महिमाको आकृतिको रूप यही थियो। अनि जब मैले यो देखें, तब भुइँमा अनुहार टेकाएर म घोप्‍टो परें; अनि मैले बोलिरहनुहुनेको सोर सुनें।