यस अध्यायमा चाहिँ पदहरू हिब्रू वर्णमालाको क्रमअनुसार राखिएका छैनन्
दयाका निम्ति विन्ती
5
हे परमप्रभु, हामीमाथि जे आइपर्यो, सो सम्झना गर्नुहोस्; विचार गर्नुहोस् र हाम्रो निन्दा हेर्नुहोस्!2 हाम्रो अधिकारको भाग परदेशीहरूको भयो; हाम्रा घरहरू विदेशीहरूका भए।
3 हामी टुहुराहरू हौं, पितृहीन हौं, हाम्रा आमाहरू विधवाहरूजस्ता छन्।
4 हाम्रो पानी हामीले पैसा तिरेर पिएका छौं; हाम्रो दाउरा हामीलाई बिक्री गरिन्छ।
5 हाम्रा गर्दनहरू सतावटमा परेका छन्; हामी परिश्रम गर्छौं, र विश्राम पाउँदैनौं।
6 रोटीले तृप्त हुनलाई हामीले मिस्रीहरू र अश्शूरहरूलाई हात दिएकाक छौं।
7 हाम्रा पितापुर्खाहरूले पाप गरे, र छँदैछैनन्; अनि हामीले तिनीहरूका अधर्महरू भोगेका छौं।
8 दासहरूले हामीमाथि शासन गरेका छन्; तिनीहरूको हातबाट हामीलाई छुटाउने कोही पनि छैन।
9 उजाड़स्थानको तरवारले गर्दा हाम्रा प्राणहरूलाई खतरामा हालेर हामी आफ्नो रोटी भित्र ल्याउँछौं।
10 प्रचण्ड अनिकालले गर्दा हाम्रो छाला चुलाजस्तै कालो भएको छ।
11 सियोनमा तिनीहरूले स्त्रीहरूलाई र यहूदाका शहरहरूमा कन्याहरूलाई बलात्कार गरे।
12 तिनीहरूद्वारा शासकहरू झुन्ड्याइए; बूढ़ा प्रधानहरूको आदर भएन।
13 तिनीहरूले जवान मानिसहरूलाई घट्टा पिँध्न लगे; केटाकेटीहरू दाउराको भारीमुनि लड़े।
14 बूढ़ा प्रधानहरूले मूलढोकालाई छोड़े; जवान मानिसहरूले गानबजानलाई छोड़े।
15 हाम्रो हृदयको आनन्द बन्द भयो; हाम्रो नाच विलापमा परिवर्तन भयो।
16 हाम्रो टाउकोबाट मुकुट खसेको छ; अब हामीलाई हाय, किनभने हामीले पाप गरेका छौं!
17 यसैकारण हाम्रो हृदय मूर्च्छित भएको छ; यी कुराहरूले गर्दा हाम्रा आँखाहरू धमिला छन् –
18 सियोन पर्वतको कारणले, जुन पहाड़ उजाड़ भएको छ; स्यालहरू त्यसमाथि घुमिहिँड़्छन्।
19 हे परमप्रभु, तपाईं सदा-सर्वदा रहनुहुन्छ; तपाईंको सिंहासन पुस्तौंपुस्तासम्म रहिरहन्छ।
20 सधैंभरि तपाईं हामीलाई किन बिर्सनुहुन्छ, र यति लामो समयसम्म हामीलाई किन त्याग्नुहुन्छ?
21 हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्कनेछौं; उहिलेको जस्तै हाम्रा दिनहरू नयाँ तुल्याइदिनुहोस्!
22 तर तपाईंले हामीलाई बिलकुलै रद्द गर्नुभएको छ; तपाईं हाम्रो विरोधमा साह्रै क्रोधित हुनुहुन्छ।