यरूशलेमको दयनीय अवस्था
4
सुन कसरी धमिलो भयो? अनि त्यो अति निखुर सुन कसरी बद्लियो? पवित्रस्थानका ढुङ्गाहरू हरेक सड़कको सिरानहुँदो छरिएका छन्।
2 सियोनका बहुमूल्य छोराहरू, जसको तुलना निखुर सुनसँग हुन्छ, कसरी तिनीहरू माटोका भाँड़ाहरूसरह कुमालेका हातहरूको काम गनिए?
3 स्यालहरूले पनि आफ्नो थुन निकालेर आफ्ना बच्‍चाहरूलाई दूध चुसाउँछन्; तर मेरो प्रजाकी छोरी त उजाड़स्थानका शुतुर्मुर्गहरूझैं निर्दयी भएकी छे।
4 तिर्खाले गर्दा दूध चुस्‍ने बालकको जिब्रो त्यसको मुखको तालुमा टाँसिन्छ; बालबच्‍चाहरूले रोटी माग्छन्, तर कसैले तिनीहरूलाई त्यो भाँचेर दिँदैन।
5 मीठा-मीठा खानेकुरा खानेहरू सड़कहरूमा बिजोग छन्; बैजनी वस्त्र पहिरेर हुर्केकाहरू घुरानहरू अँगाल्छन्।
6 किनभने मेरो प्रजाकी छोरीको अधर्मको दण्डचाहिँ सदोमको पापको दण्डभन्दा ठूलो छ, जुन सदोम क्षणभरमै, कसैले त्यसमाथि हात नलगाईकनै उलटपुलट भयो।
7 त्यसका नाजीरहरू हिउँभन्दा स्वच्छ, दूधभन्दा सेता थिए; तिनीहरू शरीरमा लालमणिहरूभन्दा ज्यादा रातापिरा थिए; तिनीहरूको चमक नीरमणिको जस्तो थियो;
8 अब तिनीहरूको रूप कोइलाभन्दा कालो छ; सड़कहरूमा तिनीहरू चिनिँदैनन्; तिनीहरूको छाला तिनीहरूका हड्डीहरूमै टाँसिएको छ; त्यो सुकेको छ, त्यो लौरोजस्तै भएको छ।
9 तरवारले मारिएकाहरूचाहिँ भोकले मारिएकाहरूभन्दा भाग्यशाली छन्; किनकि यिनीहरू खेतबारीका फलहरूको अभावले छेंड़िएर खिइँदै जान्छन्;
10 दयालु स्त्रीहरूका हातहरूले आफ्नै छोराछोरीहरूलाई पकाएका छन्; मेरो प्रजाकी छोरीको विनाश हुँदा यिनीहरू तिनीहरूको भोजन भए।
11 परमप्रभुले आफ्नो क्रोध पूरा गर्नुभएको छ; उहाँले आफ्नो बल्दो रिस खन्याउनुभएको छ, र सियोनमा एउटा आगो लगाउनुभएको छ, जसले त्यसका जगहरू भस्म पारेको छ।
12 विरोधी र शत्रु यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी पृथ्वीका राजाहरू र संसारका सबै बासिन्दाहरूले विश्‍वास गरेका थिएनन्।
13 त्यसका भविष्यवक्ताहरूका पापहरू र त्यसका पूजाहारीहरूका अधर्महरूले गर्दा – जसले त्यसकै बीचमा धर्मी जनहरूको रगत बगाएका छन् –
14 तिनीहरू अन्धा मानिसहरूजस्ता सड़कहरूमा धरमरिएका छन्; तिनीहरूले आफैलाई रगतले अशुद्ध पारेका छन्, यसैले मानिसहरूले तिनीहरूका वस्त्रहरू छुन सकेनन्।
15 मानिसहरूले तिनीहरूलाई यसो भन्दै कराए: ‘हटिजाओ! अशुद्ध! हट, हट! नछोओ!’ जब तिनीहरू भागे र डुलुवा भए, तब अन्यजातिहरूको बीचमा मानिसहरूले भने: ‘तिनीहरूले फेरि यहाँ बसोबास गर्नेछैनन्।’
16 परमप्रभुको रिसले तिनीहरूलाई अलग-अलग पार्‍यो; उहाँले तिनीहरूलाई अब उसो हेर्नुहुनेछैन; उनीहरूले न पूजाहारीहरूलाई सम्मान गरे, न बूढ़ा प्रधानहरूलाई नै कृपा देखाए।
17 हामीचाहिँ – हाम्रो व्यर्थको सहायताको बाटो हेर्दा-हेर्दै हाम्रा आँखाहरू अझ धमिला भए; पहरा बस्दा हामीले यस्तो एउटा जातिलाई नियालेर हेर्‍यौं, जसले हामीलाई बचाउन सकेन।
18 उनीहरूले हाम्रा पाइलाहरूको शिकार गर्छन्; यहाँसम्म कि हामी आफ्ना सड़कहरूमा जान सक्दैनौं; हाम्रो अन्त नजिकै छ, हाम्रा दिनहरू पूरा भएका छन्; किनभने हाम्रो अन्त आएको छ।
19 हामीलाई सताउनेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला छन्; पहाड़हरूमाथि-माथि तिनीहरूले हामीलाई पिछा गरे; उजाड़स्थानमा तिनीहरू हामीलाई ढुकेर बसे।
20 परमप्रभुका अभिषिक्त जन – जो हाम्रो नाकको सास हुन् – तिनीचाहिँ तिनीहरूका खाड़लहरूमा कब्जा गरिए, जसको विषयमा ‘अन्यजातिहरूको बीचमा हामी तिनकै छायामुनि बस्‍नेछौं’ भनी हामीले भन्यौं।
21 हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा र आनन्दित हो! कचौरा पर तँकहाँ पनि आउनेछ; तँ मात्‍नेछस्, र आफैलाई नाङ्गो पार्नेछस्।
22 हे सियोनकी छोरी, तेरो अधर्मको दण्ड पूरा भएको छ; उहाँले तँलाई फेरि कैदमा लैजानुहुनेछैन। हे एदोमकी छोरी, उहाँले तेरो अधर्मको दण्ड दिनुहुनेछ; उहाँले तेरा पापहरू प्रकट गर्नुहुनेछ।