यस अध्यायका तीन-तीन पद वर्णमालाको क्रमिक अक्षरबाट शुरु हुन्छ
ताड़ना, पश्‍चात्ताप र आशा
3
म त्यो मानिस हुँ, जसले उहाँको क्रोधको लाठीबाटको कष्‍ट देखेको छ।
2 उहाँले मलाई डोर्‍याउनुभएको छ, अनि ज्योतिमा होइन, तर अन्धकारमा हिँड़ाउनुभएको छ।
3 निश्‍चय उहाँ मेरो विरोधमा फर्कनुभएको छ; दिनभरि नै उहाँले मेरो विरोधमा आफ्नो हात उल्टाउनुहुन्छ।
 
4 उहाँले मेरो मासु र मेरो छालालाई खियाउनुभएको छ; उहाँले मेरा हड्डीहरू भाँचिदिनुभएको छ।
5 उहाँले मेरो विरोधमा किल्‍ला निर्माण गर्नुभएको छ, अनि मलाई पित्त र क्लेशले घेर्नुभएको छ।
6 उहाँले मलाई प्राचीनकालमा मरेकाहरूलाई झैं अँध्यारा ठाउँहरूमा बसाल्नुभएको छ।
 
7 म बाहिर निस्कन नसकूँ भनेर उहाँले मेरो चारैतिर बार हाल्नुभएको छ; उहाँले मेरो साङ्ला गह्रौं पार्नुभएको छ।
8 अँ, मैले कराउँदा र पुकार्दा पनि उहाँले मेरो प्रार्थना थुनिदिनुहुन्छ।
9 मेरा मार्गहरू उहाँले काटेको ढुङ्गाले बार्नुभएको छ; मेरा बाटाहरू उहाँले टेढ़ा पार्नुभएको छ।
 
10 उहाँ मेरा निम्ति ढुकेर बस्‍ने भालुजस्तो र गुप्‍त ठाउँहरूमा बस्‍ने सिंहजस्तो हुनुभएको छ।
11 उहाँले मेरा मार्गहरू अर्कातिर हटाउनुभएको छ, र मलाई टुक्रा-टुक्रा हुने गरी च्यातचुत पार्नुभएको छ; उहाँले मलाई उजाड़ पार्नुभएको छ।
12 उहाँले आफ्नो धनुको ताँदो चढ़ाउनुभएको छ, र मलाई आफ्नो काँड़का निम्ति एउटा तारोको रूपमा राख्‍नुभएको छ।
 
13 उहाँले आफ्नो ठोक्राका काँड़हरू मेरो अन्तस्करणभित्र भसाउनुभएको छ।
14 मेरा सबै मानिसहरूका निम्ति म हाँसोको पात्र, र दिनभरि नै तिनीहरूको गीत बनेको छु।
15 उहाँले मलाई तीतोपनाले भरिदिनुभएको छ; उहाँले मलाई तीतेपातीले लट्ठ तुल्याउनुभएको छ।
 
16 अँ, उहाँले मेरा दाँतहरू गिट्टीहरूले भाँच्‍नुभएको छ; उहाँले मलाई खरानीले ढाक्नुभएको छ।
17 अनि तपाईंले मेरो प्राणलाई शान्तिदेखि टाढ़ो अफाल्नुभएको छ; भलाइ मैले बिर्सें।
18 अनि मैले भनें: ‘मेरो बल र मेरो आशा परमप्रभुबाट नाश भयो।
19 मेरो कष्‍ट र मेरो विपत्ति, तीतेपाती र पित्तको सम्झना गरिदिनुहोस्!
20 मेरो मनले यी कुराहरूको खूबै सम्झना गर्छ, र मभित्र-भित्रै झुक्छ।
21 यो कुरा म आफ्नो मनलाई याद दिलाउँछु; यसकारण म आशा गर्छु –
 
22 परमप्रभुका करुणाहरूको कारणले हामी नष्‍ट भएनौं; किनभने उहाँका कोमल कृपाहरूको अन्त हुँदैन।
23 हरेक बिहान ती नयाँ-नयाँ हुन्छन्; तपाईंको विश्‍वासयोग्यता महान् छ।
24 मेरो प्राणले भन्छ: ‘परमप्रभु मेरो भाग हुनुहुन्छ; यसकारण म उहाँमाथि आशा राख्‍नेछु।’
 
25 उहाँको बाटो हेर्नेहरूका निम्ति, उहाँको खोज गर्ने व्यक्तिका निम्ति परमप्रभु भलो हुनुहुन्छ।
26 परमप्रभुको उद्धारका निम्ति आशा राख्‍नु र चुपचाप त्यसको बाटो हेर्नु मानिसका निम्ति असल हो।
27 आफ्नो जवानीका दिनहरूमा जुवा बोक्नु मानिसका निम्ति असल हो।
 
28 त्यो एकलै बस्छ, र चुपचाप रहन्छ; किनभने परमप्रभुले यो जुवा त्यसमाथि राखिदिनुभएको छ।
29 कहीं कुनै आशा होला कि भनी त्यसले आफ्नो मुख धूलोमा राख्छ।
30 त्यसले आफ्नो गाला आफूलाई हिर्काउनेपट्टि फर्काउँछ; त्यो निन्दाले भरिएको छ।
 
31 किनभने प्रभुले सदाका निम्ति अफाल्नुहुनेछैन;
32 तर उहाँले दु:खकष्‍ट दिनुभए तापनि आफ्ना करुणाहरूको भरपूरीअनुसार उहाँले दया देखाउनुहुनेछ।
33 किनकि उहाँले मानिसको सन्तानलाई आफ्नो मनदेखि कष्‍ट दिनुहुन्‍न, शोकित पनि पार्नुहुन्‍न।
 
34 पृथ्वीका सबै कैदीहरूलाई आफ्ना पाउमुनि कुल्चनु,
35 परमप्रधानको सामु मानिसको अधिकार खोस्‍नु,
36 र मानिसको मुद्दा बिगार्नु – प्रभुले यस्ता कुराहरू हेर्न सक्नुहुन्‍न।
 
37 प्रभुले आज्ञा गर्नुभएन भने त्यो को हो, जसले बोल्छ, र त्यो पूरा हुन्छ?
38 के विपत्ति र भलाइ परमप्रधानको मुखबाट निस्कँदैनन् र?
39 तब जिउँदो मानिसले, अँ, मानिसले आफ्ना पापहरूको दण्डका निम्ति किन गनगन गर्नु?
40 लौ, हामी आफ्ना चालचलनहरू खोजतलाश गरौं, र जाँचौं अनि परमप्रभुतिर फर्कौं!
41 लौ, हामी स्वर्गमा हुनुहुने परमेश्‍वरतिर आफ्नो हृदय आफ्ना हातहरूसमेत उठाऔं!
42 हामीले अपराध गरेका छौं, र विद्रोह गरेका छौं; तपाईंले क्षमा गर्नुभएको छैन।
 
43 तपाईंले आफैलाई रिसले ढाक्नुभएको छ, र हामीलाई पिछा गर्नुभएको छ; तपाईंले मार्नुभएको छ, र टिठाउनुभएको छैन।
44 हाम्रो प्रार्थना तपाईंकहाँ नपुगोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्नुभएको छ।
45 तपाईंले हामीलाई जाति-जातिका मानिसहरूको बीचमा बढ़ारेको मैला र कसिङ्गरसरह तुल्याउनुभएको छ।
 
46 हाम्रा सबै शत्रुहरूले हाम्रो विरोधमा आफ्नो मुख खोलेका छन्।
47 हामीमाथि डर र पासो, बरबादी र विनाश आइपरेका छन्।
48 मेरो जातिकी छोरीको विनाशको कारणले मेरो आँखाबाट पानीका खोलाहरू बग्दैछन्।
 
49 मेरो आँखा नरोकीकन बगिरहन्छ, र तबसम्म थामिँदैन,
50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न र देख्‍नुहुन्‍न।
51 मेरो शहरका सबै छोरीहरूको कारणले मेरो आँखाले मेरो हृदयलाई असर पार्दछ।
 
52 मेरा शत्रुहरूले विनाकारणै मलाई चरालाई झैं खूबै लखेटे
53 तिनीहरूले खाड़लभित्र मेरो प्राणलाई नाश गरेका छन्, र मलाई ढुङ्गाले हानेका छन्।
54 मेरो टाउकोमाथि-माथि पानी बग्यो, तब मैले भनें: ‘म नाश भएँ।’
 
55 हे परमप्रभु, सबभन्दा तल्‍लो खाड़लबाट मैले तपाईंको नाम पुकारें।
56 तपाईंले मेरो सोर सुन्‍नुभएको छ; मेरो सास फेराइबाट, मेरो दुहाइबाट आफ्नो कान नलुकाउनुहोस्!
57 मैले तपाईंलाई पुकारेको दिनमा तपाईं नजिक आउनुभयो; तपाईंले भन्‍नुभयो: ‘नडरा!’
 
58 हे परमप्रभु, तपाईंले मेरो प्राणका मुद्दाहरू लड़्नुभएको छ; तपाईंले मेरो जीवन दाम तिरेर छुटाउनुभएको छ।
59 हे परमप्रभु, मसित गरेको अन्याय तपाईंले देख्‍नुभएको छ; मेरो न्याय गरिदिनुहोस्!
60 तपाईंले तिनीहरूको सारा बदला र मेरो विरोधमा रचेका तिनीहरूका सबै योजनाहरू देख्‍नुभएको छ।
 
61 हे परमप्रभु, तपाईंले तिनीहरूको निन्दा र मेरो विरोधमा रचेका तिनीहरूका सबै योजनाहरू सुन्‍नुभएको छ;
62 मेरो विरोधमा उठ्नेहरूका ओठहरू र दिनभरि नै मेरो विरोधमा रचेका तिनीहरूको युक्ति तपाईंले सुन्‍नुभएको छ।
63 तिनीहरूको बसाइ र तिनीहरूको उठाइ हेर्नुहोस्; म तिनीहरूको गीत बनेको छु।
 
64 हे परमप्रभु, तिनीहरूका हातहरूको कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहोस्!
65 तिनीहरूलाई हृदयको कठोरता दिनुहोस्! तपाईंको श्राप तिनीहरूमाथि परोस्!
66 रिसमा तिनीहरूलाई खेद्‌नुहोस्, र परमप्रभुको आकाशमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्!