परमप्रभुले सियोनलाई दण्ड दिनुभयो
2
प्रभुले सियोनकी छोरीलाई आफ्नो रिसमा कसरी बादलले ढाक्नुभएको छ? उहाँले इस्राएलको शोभा आकाशबाट तल पृथ्वीमा फालिदिनुभएको छ, र आफ्नो रिसको दिनमा आफ्नो पाउदानको सम्झना गर्नुभएन।
2 प्रभुले याकूबका सबै वासस्थानहरू निल्नुभएको छ, र टिठाउनुभएको छैन; आफ्नो क्रोधमा उहाँले यहूदाकी छोरीका किल्‍लाहरू ढाल्नुभएको छ र तिनलाई भुइँसँग मिलाउनुभएको छ; उहाँले राज्य र त्यसका शासकहरूलाई अशुद्ध पार्नुभएको छ।
3 आफ्नो बल्दो रिसमा उहाँले इस्राएलको हरेक सिङ काट्नुभएको छ; शत्रुको सामुबाट उहाँले आफ्नो दाहिने हात पछिल्तिर फर्काउनुभएको छ, अनि चारैतिर भस्म पार्ने दन्किरहेको आगोझैं उहाँ इस्राएलको विरोधमा जल्नुभएको छ।
4 शत्रुले झैं उहाँले आफ्नो धनुको ताँदो चढ़ाउनुभयो; आफ्नो दाहिने हात विरोधीझैं तुल्याएर उहाँ उभिनुभयो, र सियोनकी छोरीको वासस्थानमा जति हेर्नमा मनोहर थिए, ती सबैलाई मार्नुभयो; उहाँले आफ्नो क्रोध आगोझैं खन्याउनुभयो।
5 प्रभु शत्रुजस्तै बन्‍नुभयो; उहाँले इस्राएललाई निल्नुभएको छ; उहाँले त्यसका सबै महलहरू निल्नुभएको छ; उहाँले त्यसका किल्‍लाहरू नाश गर्नुभएको छ, अनि यहूदाकी छोरीको विलाप र बिलौना बढ़ाइदिनुभएको छ।
6 अनि उहाँले आफ्नो वासस्थानलाई एउटा बगैंचालाई झैं बल प्रयोग गरेर हटाइदिनुभएको छ; उहाँले आफ्नो सभाको स्थान नाश गर्नुभएको छ; परमप्रभुले सियोनमा तोकिएका चाड़हरू र विश्रामदिनहरू बिर्साइदिनुभएको छ, अनि आफ्नो रिसको प्रकोपमा राजा र पूजाहारीलाई तुच्छ ठान्‍नुभएको छ।
7 प्रभुले आफ्नो वेदी फालिदिनुभएको छ; उहाँले आफ्नो पवित्रस्थानलाई घृणा गर्नुभएको छ; उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ; तोकिएको चाड़को दिनमा झैं तिनीहरूले परमप्रभुको भवनमा हल्‍ला मच्‍चाएका छन्।
8 परमप्रभुले सियोनकी छोरीको पर्खाल नष्‍ट गर्ने विचार गर्नुभएको छ; उहाँले नाप्‍ने डोरी तान्‍नुभएको छ; नष्‍ट गर्नदेखि उहाँले आफ्नो हात थाम्‍नुभएको छैन; यसकारण उहाँले ढिस्का र पर्खाललाई विलाप गर्न लाउनुभयो; ती एकसाथ झोक्रिए।
9 त्यसका मूलढोकाहरू भुइँमा भासिएका छन्; उहाँले नाश गर्नुभएको छ र त्यसका आग्लाहरू भाँचिदिनुभएको छ; त्यसका राजा र त्यसका शासकहरू अन्यजातिहरूको बीचमा छन्; व्यवस्था छँदैछैन; अँ, त्यसका भविष्यवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाउँदैनन्।
10 सियोनकी छोरीका बूढ़ा प्रधानहरू भुइँमा बस्छन् र चुपचाप रहन्छन्; उनीहरूले आफ्ना टाउकाहरूमाथि धूला हालेका छन्; उनीहरूले आफ्नो कम्मर भाङ्ग्राको लुगाले कसेका छन्; यरूशलेमका कन्याहरूले आफ्नो टाउको भुइँसम्म झुकाउँछन्।
11 मेरो जातिकी छोरीको विनाशको कारणले मेरा आँखाहरू आँसुले धमिला भएका छन्, मेरो अन्तस्करण व्याकुल छ, मेरो कलेजो भुइँमा पोखिएको छ; किनभने बालबच्‍चाहरू र दूध चुस्‍ने बच्‍चाहरू शहरका सड़कहरूमा मूर्च्छा पर्छन्।
12 जब तिनीहरू शहरका सड़कहरूमा घाइतेहरूझैं मूर्च्छा पर्दैथे, जब आफ्ना आमाको छातीमा आफ्नो प्राण पोख्दैथे, तब तिनीहरू आफ्ना आमाहरूलाई भन्छन्: ‘खोइ अन्‍न, खोइ दाखमद्य?’
13 हे यरूशलेमकी छोरी, तेरा निम्ति म के साक्षी राखूँ? म तँलाई कुन कुरासँग तुलना गरूँ? हे सियोनकी कन्या छोरी, कुन कुरा तेरो बराबर तुल्याएर म तँलाई सान्‍त्‍वना दिऊँ? किनकि तेरो चोट त समुद्रजत्रो ठूलो छ; कसले तँलाई निको पार्न सक्छ?
14 तेरा भविष्यवक्ताहरूले तेरा निम्ति झूटा र मूर्खतापूर्ण कुराहरूको दर्शन देखेका छन्; अनि तिनीहरूले तेरो कैद फर्काउनलाई तेरो अधर्म प्रकट गरिदिएका छैनन्; तर तिनीहरूले तेरा निम्ति झूटा भविष्यवाणीहरू र देशनिकाला हुने कारणहरूको दर्शन देखेका छन्।
15 यहाँबाट भएर जाने सबैले तँलाई देखेर ताली बजाउँछन्; ‘के यो त्यो शहर नै हो, जसलाई मानिसहरूले “परमसुन्दरी” र “सम्पूर्ण पृथ्वीको हर्ष” भन्छन्?’ भन्दै तिनीहरूले यरूशलेमकी छोरीलाई हेरेर खिसी गर्छन् र आफ्नो टाउको हल्‍लाउँछन्।
16 तेरा सबै शत्रुहरूले तेरो विरोधमा आफ्नो मुख खोलेका छन्; तिनीहरू खिसी गर्छन्, र दाह्रा किट्छन्; तिनीहरू भन्छन्: ‘हामीले यसलाई निलेका छौं! निश्‍चय हामीले बाटो हेरेको दिन यही हो; हामीले फेला पारेका छौं! हामीले देखेका छौं! ’
17 परमप्रभुले जस्तो ठान्‍नुभएको थियो, त्यस्तै गर्नुभएको छ; उहाँले प्राचीनकालदेखि नै आज्ञा गर्दै आउनुभएको आफ्नो वचन पूरा गर्नुभएको छ; उहाँले पछार्नुभएको छ, तर टिठाउनुभएको छैन; अनि उहाँले तेरो शत्रुलाई तँमाथि आनन्द मनाउने तुल्याउनुभएको छ; उहाँले तेरा विरोधीहरूको सिङ उच्‍च पार्नुभएको छ।
18 तिनीहरूको हृदयले प्रभुलाई पुकार्‍यो; हे सियोनकी छोरीको पर्खाल, दिनरात आँसुहरू नदीझैं बग्‍न दे! आफूलाई विश्राम नदे! तेरो आँखाको रानी शान्त नरहोस्!
19 उठ्, राति चिच्च्याइउठ्! पहर-पहरको शुरुमा आफ्नो हृदय पानीझैं प्रभुको सम्मुखमा पोखिदे; आफ्ना बालबच्‍चाहरूको प्राणका निम्ति, जो भोकले गर्दा हरेक सड़कको सिरानमा मूर्च्छा पर्छन्, आफ्ना हातहरू उहाँतिर उठा!
20 हेर्नुहोस्, हे परमप्रभु! तपाईंले यो कुरा कसलाई गर्नुभएको छ, सो विचार गर्नुहोस्! के स्त्रीहरूले आफ्नै गर्भको फल, अर्थात् आफ्नै स्याहारिएका बालबच्‍चाहरूलाई खाऊन्? के पूजाहारी र भविष्यवक्ता प्रभुकै पवित्रस्थानभित्र मारिऊन्?
21 सड़कहरूमा जवानहरू र वृद्धहरू भुइँमा पड़िरहेका छन्; मेरा कन्याहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्; आफ्नो रिसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ; तपाईंले मार्नुभएको छ, र टिठाउनुभएको छैन।
22 तोकिएको चाड़को दिनमा झैं तपाईंले चारैतिरबाट मेरा आतङ्कहरू बोलाउनुभएको छ; यसकारण परमप्रभुको रिसको दिनमा कोही उम्केन, न कोही बाँकी रह्‍यो; जसलाई मैले कपड़ाले लपेटें र हुर्काएँ, तिनीहरूलाई मेरो शत्रुले नाश पार्‍यो।