यर्मिया
यर्मियाको बोलावट
1
हिल्कियाहका छोरा यर्मियाका वचनहरू, जुन यर्मिया बिन्यामीन देशको अनातोतमा बस्‍ने पूजाहारीहरूमध्ये एक थिए; 2 जसकहाँ यहूदाका राजा आमोनका छोरा योशियाहका दिनहरूमा, तिनको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन आयो। 3 अनि यहूदाका राजा योशियाहका छोरा यहोयाकिमका दिनहरूमा पनि – यहूदाका राजा योशियाहका छोरा सिद्कियाहको एघारौं वर्षको अन्तसम्म – पाँचौं महिनामा यरूशलेम कैदमा लगिएको समयसम्म यो वचन आयो।
4 अनि मकहाँ परमप्रभुको यसो भन्‍ने वचन आयो: 5 “मैले तिमीलाई पेटमा रच्‍नुभन्दा पहिल्यै म तिमीलाई चिन्दथें; अनि तिमी गर्भबाट निस्कनुभन्दा पहिल्यै मैले तिमीलाई पवित्र गरें र जाति-जातिका निम्ति तिमीलाई भविष्यवक्ताको रूपमा नियुक्त गरें।” 6 तब मैले भनें: “अहह, प्रभु यहोवा! हेर्नुहोस्, म बोल्न सक्दिनँ; किनकि म त बालकै छु।” 7 तर परमप्रभुले मलाई भन्‍नुभयो: “म त बालकै छु भनी नभन; किनकि जस-जसकहाँ म तिमीलाई पठाउँला, ती सबैकहाँ तिमी जानू, र जे म तिमीलाई आज्ञा गरूँला, त्यो तिमीले बोल्नू! 8 तिनीहरूका अनुहारहरूदेखि नडराऊ; किनकि तिमीलाई छुटाउनलाई म तिम्रो साथमा छु, परमप्रभु भन्‍नुहुन्छ।” 9 तब परमप्रभुले आफ्नो हात पसार्नुभयो र मेरो मुख छुनुभयो। अनि परमप्रभुले मलाई भन्‍नुभयो: “हेर, मैले मेरा वचनहरू तिम्रो मुखमा हालिदिएको छु। 10 हेर, उखाल्न, भत्काउन, नाश गर्न, ढालिदिन, बनाउन र रोप्‍न भनी आजको दिन मैले तिमीलाई जाति-जातिमाथि र राज्य-राज्यमाथि नियुक्त गरेको छु।”
हाड़ेबदामको लट्ठी र उम्‍लिरहेको भाँड़ाको दर्शन
11 अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: “यर्मिया, तिमीले के देख्दैछौ?” अनि मैले भनें: “म हाड़ेबदामको एउटा लट्ठी देख्दैछु।” 12 तब परमप्रभुले मलाई भन्‍नुभयो: “तिमीले ठीक देखेका छौ; किनकि मेरो वचन पूरा गर्नलाई म आफ्नो वचनप्रति जागा रहनेछु।”
13 अनि परमप्रभुको यसो भन्‍ने वचन दोस्रोपल्ट मकहाँ आयो: “तिमी के देख्दैछौ?” अनि मैले भनें: “म एउटा उम्‍लिरहेको भाँड़ा देख्दैछु, जसको मुख उत्तरबाट यता फर्केको छ।” 14 तब परमप्रभुले मलाई भन्‍नुभयो: “उत्तरबाट नै यस देशका सबै बासिन्दाहरूमाथि एउटा विपत्ति आइलाग्‍नेछ; 15 किनकि हेर, म उत्तरका राज्यहरूका सबै परिवारहरूलाई बोलाउनेछु, परमप्रभु भन्‍नुहुन्छ; अनि तिनीहरू आउनेछन्, र तिनीहरू हरेकले यरूशलेमका मूलढोकाहरूको मुखमा, साथै चारैतिर त्यसका सबै पर्खालहरूको विरोधमा र यहूदाका सबै शहरहरूको विरोधमा आ-आफ्नो सिंहासन बसाल्नेछन्। 16 अनि उनीहरूको सारा दुष्‍टताको सम्बन्धमा म उनीहरूकै विरोधमा मेरा फैसलाहरू घोषणा गर्नेछु, जसले मलाई त्यागेका छन्, अरू देवताहरूका निम्ति धूप बालेका छन् र आफ्नै हातहरूका कामहरूलाई दण्‍डवत्‌ गरेका छन्।
17 यसैले तिमीले आफ्नो कम्मर कस, उठ, र जे म तिमीलाई आज्ञा गर्छु, त्यो सबै उनीहरूलाई भन; उनीहरूका अनुहारहरूको सामुदेखि भयभीत नहोऊ, नत्र म तिमीलाई तिनीहरूको सामु भयभीत तुल्याउनेछु। 18 किनकि हेर, आज यस सारा देशको विरोधमा, यहूदाका राजाहरूको विरोधमा, त्यसका हाकिमहरूको विरोधमा, त्यसका पूजाहारीहरूको विरोधमा र यस देशका मानिसहरूको विरोधमा मैले तिमीलाई एउटा पर्खालले घेरिएको शहर, एउटा फलामको खाँबा र पित्तलका पर्खालहरू तुल्याएको छु। 19 अनि उनीहरूले तिमीसित लड़ाइँ गर्नेछन्, तर उनीहरू तिमीमाथि विजयी हुनेछैनन्; किनकि तिमीलाई छुटाउन म तिम्रो साथमा छु, परमप्रभु भन्‍नुहुन्छ।”