साँचो र झूटो श्रद्धाभक्ति
66
“परमप्रभु यसो भन्‍नुहुन्‍छ: स्वर्ग मेरो सिंहासन र पृथ्वी मेरो पाउदान हो; तब त्यो भवन कहाँ छ, जुन भवन तिमीहरू मेरा निम्ति बनाउँछौ? र मेरो विश्रामस्थलचाहिँ कहाँ छ? 2 किनकि ती सबै कुराहरू मेरै हातले बनाएका हुन्, अनि ती सबै कुराहरू रहेका छन्, परमप्रभु भन्‍नुहुन्‍छ, तर म त्यस मानिसलाई, अँ, त्यसैलाई हेर्नेछु, जो दीन र चूर्ण आत्माको छ र मेरो वचन सुनेर थरथर काम्छ। 3 जसले एउटा बहर मार्छ, त्यो मानिसलाई हत्या गर्नेजस्तै हो; जसले पाठो बलि चढ़ाउँछ, त्यो कुकुरको गर्धन भाँचिदिनेजस्तै हो; जसले अन्‍नबलि चढ़ाउँछ, त्यो सुँगुरको रगत चढ़ाउनेजस्तै हो; जसले धूप बाल्छ, त्यो मूर्तिलाई धन्यको भन्‍नेजस्तै हो। अँ, तिनीहरूले आफ्नै बाटाहरू चुनेका छन्, र तिनीहरूको मन तिनीहरूकै घृणित वस्तुहरूमा प्रसन्‍न रहन्छ। 4 म पनि तिनीहरूलाई खिन्‍न पार्ने कुराहरू चुन्‍नेछु, र जुन कुराहरूसँग तिनीहरू डराउँछन्, ती कुराहरू नै तिनीहरूमाथि ल्याउनेछु; किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन; म बोल्दा तिनीहरूले सुनेनन्; तर तिनीहरूले मेरा आँखाकै सामु दुष्‍ट काम गरे र त्यही कुरा रोजे, जुन कुरामा म प्रसन्‍न हुँदिनँ।
5 हे परमप्रभुको वचनमा थरथर काम्‍नेहरूहो, उहाँको वचन सुन; तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गरे, जसले मेरो नामको खातिर तिमीहरूलाई निकालिदिए, तिनीहरूले भनेका छन्: ‘परमप्रभुको महिमा होस्!’; तर उहाँ तिमीहरूको आनन्दका निम्ति देखा पर्नुहुनेछ, तर तिनीहरूचाहिँ लज्जित हुनेछन्। 6 शहरबाट कोलाहलको आवाज, मन्दिरबाट एउटा आवाज, आफ्ना शत्रुहरूलाई बदला दिनुहुने परमप्रभुको आवाज!
7 उसलाई प्रसूति-वेदना लाग्‍नुभन्दा पहिल्यै उसले जन्माई, उसको व्यथा शुरु हुनुभन्दा पहिल्यै उसले एउटा नर बालक जन्माई। 8 कसले यस्तो कुरा सुनेको छ? कसले यस्ता कुराहरू देखेको छ? के देशलाई एकै दिनमा उत्‍पन्‍न गराउन सकिन्छ? के एउटा जाति एकै पल्टमा जन्मिन्छ? किनकि सियोनलाई प्रसूति-वेदना लाग्‍नसाथ त्यसले आफ्ना छोराछोरीहरू जन्माइहाली। 9 जन्मको घड़ीसम्म ल्याएर के म जन्माउने नतुल्याऊँ?, परमप्रभु भन्‍नुहुन्‍छ; जन्माउने तुल्याएर के म त्यसलाई रोकिदिऊँ?, तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।
10 हे सबै यरूशलेमलाई प्रेम गर्नेहरूहो, त्यससँग रमाओ! त्यससित आनन्दित होओ! हे सबै त्यसका निम्ति विलाप गर्नेहरूहो, त्यससँग हर्षले हर्षित होओ! 11 यसैले कि तिमीहरूले त्यसका सान्‍त्‍वनादायक स्तनहरू चुस्‍न पाओ, र तृप्‍त होओ; यसैले कि तिमीहरूले दूध धेरै चुस्‍न पाओ, र त्यसको महिमाको भरपूरीले मग्‍न होओ। 12 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर, शान्ति म नदीझैं र अन्यजातिहरूको महिमा उर्लिरहेको खोलाझैं त्यसतिर बहाउनेछु; तब तिमीहरूले चुस्‍नेछौ, त्यसका खोकिलामा बोकिनेछौ र त्यसका घुँड़ाहरूमा थैथै गरिनेछौ। 13 जसरी कसैलाई त्यसकी आमाले सान्‍त्‍वना दिन्छे, त्यसरी नै म तिमीहरूलाई सान्‍त्‍वना दिनेछु; अनि यरूशलेममा तिमीहरूले सान्‍त्‍वना पाउनेछौ। 14 अनि जब तिमीहरूले यो देख्छौ, तब तिमीहरूको हृदय रमाउनेछ, र तिमीहरूका हड्डीहरू घाँसझैं मौलाउनेछन्; तब परमप्रभुको हात उहाँका दासहरूप्रति, र उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूप्रति प्रकट हुनेछ।
15 किनकि हेर, आफ्नो रिस क्रोधसहित, र आफ्नो हप्की आगोका ज्वालाहरूसहित खन्याउनलाई परमप्रभु आगोको साथमा र भुमरीजस्ता आफ्ना रथहरूको साथमा आउनुहुनेछ। 16 किनकि परमप्रभुले सबै प्राणीहरूसित आगो र आफ्नो तरवार लिएर न्याय गर्नुहुनेछ; अनि परमप्रभुद्वारा मारिएकाहरू धेरै हुनेछन्। 17 जसले बगैंचाहरूका निम्ति आफूलाई पवित्र पार्छन्, र आफूलाई शुद्ध पार्छन् – बीचमा भएको त्यस एउटै व्यक्तिको पछिल्तिर – जसले सुँगुरको मासु, घृणित वस्तु र मुसा खान्छन्, तिनीहरू एकसाथ नाश हुनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ।
18 किनकि म तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू जान्दछु; यो हुन आउनेछ – म सबै जातिहरू र भाषाकाहरूलाई भेला पार्नेछु; अनि तिनीहरू आउनेछन्, र मेरो महिमा देख्‍नेछन्। 19 अनि तिनीहरूको बीचमा म एउटा चिन्ह खड़ा गर्नेछु; अनि तिनीहरूबाट उम्केकाहरूलाई म जाति-जातिकहाँ – टार्शिश, पूल र लूदमा, जो धनुर्धारी हुन्, तूबल र यावानमा, अँ, टाढ़ा-टाढ़ाका टापुहरूकहाँ पठाउनेछु, जसले न मेरो कीर्ति सुनेका छन्, न मेरो महिमा देखेका छन्; अनि यिनीहरूले अन्यजातिहरूको बीचमा मेरो महिमाको घोषणा गर्नेछन्। 20 अनि जसरी इस्राएलीहरूले आफ्नो भेटी शुद्ध भाँड़ामा हालेर परमप्रभुको भवनमा ल्याउँछन्, त्यसरी नै तिनीहरूले सबै जातिहरूको बीचबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पाल्कीहरू, खच्‍चरहरू, र छिटो हिँड़्‍ने पशुहरूमा चढ़ाएर एउटा भेटी-स्वरूप मेरो पवित्र पर्वत यरूशलेममा ल्याउनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ। 21 अनि तिनीहरूको बीचबाट पनि म कतिलाई पूजाहारीहरू र लेवीहरू हुनका निम्ति लिनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।
22 किनकि जसरी त्यो नयाँ आकाश र त्यो नयाँ पृथ्वी, जो म बनाउनेछु, मेरो सामु रहिरहनेछन्, त्यसरी नै तिमीहरूको वंश र तिमीहरूको नाम पनि रहिरहनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ। 23 अनि यस्तो हुनेछ: एउटा औंसीदेखि अर्को औंसीसम्म, र एउटा विश्रामदिनदेखि अर्को विश्रामदिनसम्म सबै प्राणीहरू मेरो सामु दण्‍डवत्‌ गर्न आउनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ। 24 अनि उनीहरू निस्कनेछन्, र ती मानिसहरूका लासहरू हेर्नेछन्, जसले मेरो विरोधमा अपराध गरेका थिए; किनकि न तिनीहरूको कीरा मर्नेछ, न तिनीहरूको आगो निभ्नेछ; अनि तिनीहरू सबै प्राणीहरूका निम्ति घृणित ठहर्नेछन्।