इस्राएलको विश्‍वासघात
2
अनि परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 2 “जाऊ, र यरूशलेमका कानहरूमा यसो भन्दै कराऊ! परमप्रभु यसो भन्‍नुहुन्छ: म तँलाई, तेरो जवानीको करुणा, तेरा मगनीहरूको प्रेम सम्झना गर्छु, जुन बेला तँ उजाड़स्थानमा, खनजोत नगरिएको देशमा मेरो पछि-पछि हिँड़्थिस्। 3 इस्राएल परमप्रभुका निम्ति पवित्र, र उहाँको उब्जनीको पहिलोफल थियो; उसलाई निल्नेहरू सबै दोषी ठहरिनेछन्; तिनीहरूमाथि विपत्ति आइपर्नेछ, परमप्रभु भन्‍नुहुन्छ।
4 हे याकूबको घराना, र इस्राएलका घरानाका सबै परिवारहरूहो, परमप्रभुको वचन सुन! 5 परमप्रभु यसो भन्‍नुहुन्छ: तिमीहरूका पितापुर्खाहरूले ममा के अधर्म भेट्टाए, र उनीहरू मदेखि टाढ़ा भए, अनि व्यर्थ कुराको पछि लागेर आफै निकम्मा भए? 6 न ता उनीहरूले भने: ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीलाई मिस्र देशबाट निकालेर ल्याउनुभयो, जसले हामीलाई उजाड़स्थानबाट, मरुभूमि र खाल्डैखाल्डा भएको देशबाट, सुक्खा भूमि र मृत्युको छायाको देशबाट, कुनै मानिस त्यसबाट भएर नगएको र कुनै मानिस नबसेको देशबाट भएर डोर्‍याएर हिँड़ाउनुभयो?’ 7 अनि त्यसको फल र त्यसका उत्तम-उत्तम कुराहरू खान पाओ भनी मैले तिमीहरूलाई एउटा भरपूरीको देशभित्र ल्याएँ; तर जब तिमीहरू त्यसभित्र पस्यौ, तब तिमीहरूले मेरो देशलाई अशुद्ध पार्‍यौ र मेरो अधिकारको भागलाई घृणित वस्तु तुल्यायौ। 8 पूजाहारीहरूले ‘परमप्रभु कहाँ हुनुहुन्छ?’ भनी भनेनन्; अनि व्यवस्था चलाउनेहरूले मलाई चिनेनन्; गोठालाहरूले पनि मेरो विरोधमा अपराध गरे; अनि भविष्यवक्ताहरूले बालको नाममा भविष्यवाणी गरे, र तिनीहरू त्यस्ता कुराहरूको पछि लागे, जसबाट कुनै फाइदा हुँदैन।
9 यसकारण म अझै पनि तिमीहरूसँग वादविवाद गर्नेछु र तिमीहरूका नातिनातिनीहरूसँग वादविवाद गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ। 10 किनकि पारि कित्तिमका टापुहरूमा गएर हेर; अनि केदारमा पठाएर यत्‍नपूर्वक विचार गर, र कतै त्यहाँ पनि यस्तो कुरा रहेछ कि हेर! 11 के कुनै जातिले आफ्ना ईश्‍वरहरूलाई, जोचाहिँ ईश्‍वरै होइनन्, बदली गरेको छ? तर मेरो प्रजाले आफ्नो महिमालाई बेफाइदाको चीजसँग साटेको छ। 12 हे आकाशहो, यस कुरामा अवाक् होऊ, र अत्यन्तै भयभीत होऊ! बिलकुलै उजाड़ होऊ, परमप्रभु भन्‍नुहुन्छ; 13 किनकि मेरो प्रजाले दुईवटा खराबी गरेको छ; तिनीहरूले म जिउँदो पानीको मुहानलाई त्यागेका छन् र आफ्ना निम्ति ट्याङ्कीहरू, फुटेका ट्याङ्कीहरू खोपेर बनाएका छन्, जसमा पानी अड़िँदैन।
14 के इस्राएल एउटा दास हो? के ऊचाहिँ घरमा जन्मेको एउटा दास हो? तब किन ऊ लुटको माल बन्यो त? 15 उसको विरोधमा जवान सिंहहरू गर्जे, र गुर्रिए; अनि तिनीहरूले उसको देश उजाड़ पारे; कुनै बासिन्दा नरहने गरी उसका शहरहरू जलाइए। 16 अनि नोप र तहपन्हेसका सन्तान पनि तेरो थाप्लोमा चरेका छन्। 17 परमप्रभु तेरा परमेश्‍वरले तँलाई बाटोमा डोर्‍याउँदा-डोर्‍याउँदै तैंले उहाँलाई त्यागेको हुनाले तैंले यो कुरा आफूमाथि ल्याएको होइनस् र? 18 अनि अब सिहोरको पानी पिउन मिस्रको बाटोसित तँलाई के सरोकार? अथवा त्यस महानदीको पानी पिउन अश्शूरको बाटोसित तँलाई के सरोकार? 19 तेरो दुष्‍टताले तँलाई सुधार्नेछ, अनि तेरा पछिहटाइहरूले नै तँलाई हप्काउनेछन्; यसकारण तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई त्याग्‍नु र मेरो डर तँमा नहुनुचाहिँ एउटा खराब र तीतो कुरा हो भनेर जानिराख, र विचार गर, सेनाहरूका प्रभु यहोवा भन्‍नुहुन्छ।
मूर्तिपूजा आत्मिक व्यभिचार हो
20 किनकि धेरै समय अघि मैले तेरो जुवा भाँचिदिएँ, तेरा बन्धनहरू चुँड़ाइदिएँ; अनि तैंले भनिस्: ‘म अपराध गर्नेछनँ’, जुन बेला तँ हरेक अग्लो डाँड़ामाथि र हरेक हरियो रूखमुनि वेश्याको काम गर्दै भड़्किहिँड़्थिस्। 21 तरै पनि मैले तँलाई उत्तम जातको दाखको बोट र हर प्रकारले साँचो बीउको रूपमा रोपेको थिएँ; तब तँ कसरी मेरा निम्ति पराई जातको बिग्रेको दाखको बोट भइस्? 22 किनकि तैंले आफूलाई सोड़ाले धोइस् र प्रशस्त साबुन लगाइस् भने पनि तेरो अधर्मको धब्बा मेरो सामु रहेको छ, प्रभु यहोवा भन्‍नुहुन्छ।
23 ‘म अशुद्ध भएको छैनँ, म बाल देवताहरूको पछि गएको छैनँ’ भनी तैंले कसरी भन्‍न सक्छेस्? बेंसीमा आफ्नो चाल हेर्! तैंले के गरेकी छेस्, सो थाहा गर्; तँ आफ्ना बाटाहरूमा यताउता कुदिहिँड़्‍ने फुर्तिलो ऊँटनी होस् – 24 तँ उजाड़स्थानको बानी लागेको जङ्गली गधैनी होस्, जसले आफ्नो मनको चाहनामा हावा सुँघिहिँड़्छ; त्यसको ऋतुमा त्यसलाई कसले फर्काउन सक्छ र? त्यसलाई खोज्‍ने सबैले आफूलाई थकित पार्नेछैनन्; तिनीहरूले त्यसलाई त्यसको महिनामा भेट्टाउनेछन्। 25 आफ्नो खुट्टाबाट जुत्ता फुकालिन नदे र आफ्नो घाँटीलाई तिर्खा लाग्‍न नदे! तर तैंले भनिस्: ‘अहँ, आशा छैन; किनभने मैले पराईहरूलाई प्रेम गरेको छु, र म तिनीहरूकै पछि जानेछु।’
26 जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ, त्यसरी नै इस्राएलको घराना लज्जित भएको छ; उनीहरू, उनीहरूका राजाहरू, उनीहरूका शासकहरू, अनि उनीहरूका पूजाहारीहरू र उनीहरूका भविष्यवक्ताहरू – 27 उनीहरूले रूखलाई भन्छन्: ‘तिमी मेरा बुबा हौ’; अनि ढुङ्गालाई भन्छन्: ‘तिमीले मलाई जन्माएका हौ’; किनकि उनीहरूले मतिर आफ्नो अनुहार होइन, तर आफ्नो पिठ्यूँ फर्काएका छन्; तर आफ्नो विपत्तिको बेलामा उनीहरूले भन्‍नेछन्: ‘उठ्नुहोस्, हामीलाई बचाउनुहोस्!’ 28 तर तेरा देवताहरू खोइ, कहाँ छन्, जसलाई तैंले आफ्ना निम्ति बनाएको छस्? तेरो विपत्तिको समयमा तिनीहरूले तँलाई बचाउन सक्छन् भने ती उठून्; किनकि हे यहूदा, तेरा शहरहरूको संख्याअनुसार तेरा देवताहरू छन्।
29 किन तिमीहरू मसित वादविवाद गर्छौ? तिमीहरू सबैले मेरो विरोधमा अपराध गरेका छौ, परमप्रभु भन्‍नुहुन्छ। 30 व्यर्थमा मैले तेरा छोराछोरीहरूलाई हिर्काएँ; तिनीहरूले सुधार ग्रहण गरेनन्; तिमीहरूको तरवारले नाश गर्ने सिंहले झैं तिमीहरूका भविष्यवक्ताहरूलाई निलेको छ। 31 हे पुस्ताहो, परमप्रभुको वचन ध्यान देओ! के इस्राएलका निम्ति म उजाड़स्थान वा अन्धकारको देश भएको छु? किन मेरा जनहरूले भन्छन्: ‘हामी नै प्रभुहरू हौं; हामी फेरि कहिल्यै तपाईंकहाँ आउनेछैनौं?’ 32 के कन्याले आफ्ना गहनाहरू, वा दुलहीले आफ्नो सजावटलाई बिर्सन सक्छे? तरै पनि मेरा जनहरूले मलाई अनगन्ती दिनहरूदेखि बिर्सेका छन्। 33 प्रीति जोड़्नलाई तैंले आफ्नो चाल कति आकर्षक तुल्याउँछेस्! यही कारण तैंले दुष्‍ट स्त्रीहरूलाई समेत आफ्ना चालहरू सिकाएकी छस्। 34 तेरा लुगाका किनारहरूमा निर्दोष गरिबहरूका प्राणहरूको रगत पनि भेट्टाइएको छ; तैंले तिनीहरूलाई फोर्दै गरेको बेलामा भेट्टाइनस्, तर रगत ती सबैमा छ। 35 तरै पनि तँ भन्छस्: ‘म निर्दोष छु; यसैले उहाँको रिस निश्‍चय मबाट हट्नेछ’। हेर्, ‘मैले पाप गरेको छैनँ’ भनी तैंले भनेको हुनाले नै म तँसँग मुद्दा लड़्नेछु। 36 आफ्नो चाल बदली गर्नलाई तँ किन यति बिघ्न यताउति डुलिहिँड़्छस्? जसरी तँ अश्शूरदेखि लज्जित भएको थिइस्, त्यसरी नै मिस्रदेखि पनि लज्जित हुनेछस्। 37 अँ, त्यस ठाउँबाट तँ आफ्ना हातहरू आफ्नो टाउकोमाथि राखेर निस्केर जानेछस्; किनकि जसमाथि तँ भरोसा राख्छस्, तिनीहरूलाई परमप्रभुले रद्द गर्नुभएको छ, र तँ तिनीहरूद्वारा सफल हुनेछैनस्।”