इजकिएलले भविष्यवक्ताको बोलावट पाए
2
अनि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, आफ्ना खुट्टाहरूमा उभ, र म तिमीसित कुरा गर्नेछु!” 2 अनि उहाँ मसित बोल्नुहुँदा आत्मा मभित्र पस्नुभयो, र मलाई मेरा खुट्टाहरूमा उभ्याइदिनुभयो; अनि मैले उहाँ मसित बोलिरहनुभएको सुनें। 3 अनि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ, एउटा विद्रोही जातिकहाँक पठाउँछु, जसले मेरो विरुद्ध विद्रोह गरेको छ; तिनीहरू र तिनीहरूका पितापुर्खाहरूले मेरो विरुद्ध अपराध गरेका छन्, अँ, आजको यही दिनसम्म पनि। 4 किनकि तिनीहरू हठी अनुहारहरू भएका र कठोर हृदय भएका सन्तान हुन्। म तिमीलाई तिनीहरूकहाँ पठाउँछु; अनि तिमीले तिनीहरूलाई ‘प्रभु यहोवा यसो भन्नुहुन्छ’ भन्नू! 5 अनि चाहे तिनीहरूले सुनून्, चाहे सुन्न छोडून् – किनकि तिनीहरू एउटा विद्रोही घराना हुन् – तरै पनि तिनीहरूले तिनीहरूको बीचमा एकजना भविष्यवक्ता रहेछन् भनी जान्नेछन्। 6 अनि हे मानिसको छोरा, तिम्रो साथमा काँड़ेझाङहरू र काँड़ाहरू भए तापनि, र तिमी बिच्छीहरूको बीचमा बसे तापनि तिमीचाहिँ न तिनीहरूसँग डराऊ, न तिनीहरूका वचनहरूसँग डराऊ! तिनीहरू एउटा विद्रोही घराना भए तापनि तिनीहरूका वचनहरूसँग नडराऊ, न ता तिनीहरूका अनुहारहरूदेखि हताश होऊ! 7 अनि तिनीहरूले चाहे सुनून् चाहे सुन्न छोडून् – तिमीले मेरा वचनहरू तिनीहरूलाई भन्नू; किनकि तिनीहरू विद्रोही छन्।8 तर तिमीले चाहिँ हे मानिसको छोरा, म तिमीलाई जे भन्छु, त्यो सुन! त्यस विद्रोही घरानाजस्तो तिमी विद्रोही नबन! आफ्नो मुख खोल, र म तिमीलाई जे दिन्छु, त्यो खाऊ!” 9 अनि जब मैले हेरें, तब हेर, एउटा हात मकहाँ पठाइयो; अनि हेर, त्यसमा एउटा पुस्तकको मुठा रहेछ! 10 अनि उहाँले त्यो मेरो सामु फैलाउनुभयो; अनि त्यो भित्रपट्टि र बाहिरपट्टि लेखिएको रहेछ; अनि त्यसमा विलापहरू, शोक र विपत्तिख लेखिएका रहेछन्।