3
अनि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, तिमीले जे पाउँछौ, त्यो खाऊ! यो मुठा खाऊ, र गएर इस्राएलको घरानालाई भन!” 2 तब मैले आफ्नो मुख खोलें, अनि उहाँले मलाई त्यो मुठा खान लाउनुभयो। 3 अनि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, तिम्रो पेटलाई खान लाऊ, र मैले तिमीलाई दिएको यस मुठाले आफ्ना आन्द्राहरू भर!” तब मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महजस्तो मीठो थियो।
इजकिएल पहरेदारको रूपमा इस्राएलको घरानाकहाँ पठाइए
4 अनि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, हिँड़, इस्राएलको घरानाकहाँ जाऊ र मेरा वचनहरू लिएर तिनीहरूलाई भन! 5 किनकि तिमी अनौठो बोली र कठिन भाषा बोल्ने जातिकहाँ होइन, तर इस्राएलको घरानाकहाँ पठाइएका छौ; 6 अनौठो बोली र कठिन भाषा बोल्ने धेरै जातिहरूकहाँ होइन, जसका शब्दहरू तिमीले बुझ्न सक्दैनौ। साँच्‍चै मैले तिमीलाई तिनीहरूकहाँ पठाएको भए तिनीहरूले चाहिँ तिम्रो कुरा सुन्‍नेथिए। 7 तर इस्राएलको घरानाले तिम्रो कुरा सुन्‍न चाहँदैनन्; किनकि तिनीहरूले मेरो कुरा सुन्‍न इच्छा गर्दैनन्; किनकि इस्राएलको सारा घरानाचाहिँ हठी र कठोर हृदय भएका हुन्छन्। 8 हेर, मैले तिनीहरूका अनुहारहरूको विरुद्ध तिम्रो अनुहार, र तिनीहरूका निधारहरूको विरुद्ध तिम्रो निधार बलियो तुल्याएको छु। 9 मैले तिम्रो निधार बज्रजस्तो, चकमकको ढुङ्गाभन्दा कड़ा बनाएको छु; तिनीहरू एउटा विद्रोही घराना भए तापनि तिनीहरूसँग नडराऊ, न तिनीहरूका अनुहारहरूदेखि हताश होऊ!” 10 अनि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, मैले तिमीसित बोल्ने मेरा सबै वचनहरू आफ्नो हृदयभित्र ग्रहण गर, र आफ्ना कानहरूले सुन! 11 अनि हिँड़, कैदमा लगिएकाहरूकहाँ अर्थात् तिम्रो जातिका सन्तानहरूकहाँ जाऊ, तिनीहरूसँग बोल र तिनीहरूलाई भन: ‘प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ’ तिनीहरूले चाहे सुनून्, चाहे सुन्‍न छोडून्!”
12 तब आत्माले मलाई उचाल्नुभयो, र मैले आफ्नो पछिल्तिर ठूलो होहल्‍लाको एउटा यसो भन्‍ने आवाज सुनें: “परमप्रभुको महिमा उहाँको ठाउँबाट धन्यको होस्!”, 13 साथै ती जीवित प्राणीहरूका पखेटाहरूको आवाज पनि मैले सुनें, जसले एक-अर्कालाई छोइरहेका थिए; अनि तिनीहरूको साथमा ती चक्‍काहरूको आवाज र त्यो ठूलो होहल्‍लाको आवाज मैले सुनें। 14 अनि आत्माले मलाई उचाल्नुभयो, र मलाई उठाएर लैजानुभयो, अनि म आफ्नो आत्माको बल्दो रिसमा तीतो भएर गएँ; तर परमप्रभुको हात बलियो गरी ममाथि रह्‍यो। 15 तब म तेल-अबीबमा, कैदमा लगिएकाहरूकहाँ आएँ, जो कबार नदीको किनारमा बस्थे; अनि तिनीहरू जहाँ बसिरहेका थिए, म त्यहीं बसें; अनि सात दिनसम्म म त्यहाँ तिनीहरूको बीचमा व्याकुल भएर रहें।
16 अनि ती सात दिनको अन्तमा यस्तो भयो: परमप्रभुको यसो भन्‍ने वचन मकहाँ आयो: 17 “हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाका निम्ति पहरेदार तुल्याएको छु; यसकारण मेरो मुखबाटको वचन सुन, र तिनीहरूलाई मबाट चेताउनी देऊ! 18 जब म दुष्‍टलाई भन्दछु, ‘तँ निश्‍चय मर्नेछस्’, तर तिमीले त्यसलाई चेताउनी दिँदैनौ, र त्यस दुष्‍टको जीवन बचाउनका निम्ति त्यसलाई त्यसको दुष्‍ट चालबाट फर्काउनलाई चेताउनी दिएर बोल्दैनौ; तब त्यो दुष्‍ट मान्छे आफ्नो अधर्ममा मर्नेछ, तर त्यसको रगतको लेखा म तिम्रो हातबाट लिनेछु। 19 तर तिमीले त्यस दुष्‍टलाई चेताउनी दिन्छौ, तर त्यो आफ्नो दुष्‍टताबाट र आफ्नो दुष्‍ट चालबाट फर्कंदैन भने त्यो आफ्नो अधर्ममा मर्नेछ, तर तिमीले चाहिँ आफ्नो प्राण बचाएका छौ। 20 अनि जब एउटा धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्कन्छ, र अधर्म गर्दछ, अनि म उसको सामु एउटा ठेस लाग्‍ने कुरा राखिदिन्छु: ऊ मर्नेछ; तिमीले उसलाई चेताउनी नदिएका हुनाले ऊ आफ्नो पापमा मर्नेछ, अनि जुन धार्मिकता उसले गरेको छ, त्यसको सम्झना गरिनेछैन; तर उसको रगतको लेखा म तिम्रो हातबाट लिनेछु। 21 तर धर्मी जनले पाप नगरोस् भनी तिमीले धर्मी जनलाई चेताउनी दिन्छौ, र उसले पाप गर्दैन भने, उसले चेताउनी लिएको हुनाले ऊ निश्‍चय जिउनेछ; अनि तिमीले चाहिँ आफ्नो प्राण बचाएका छौ।”
परमप्रभुको महिमा दोस्रो पल्ट इजकिएलकहाँ देखा पर्‍यो
22 अनि त्यहाँ परमप्रभुको हात ममाथि थियो; अनि उहाँले मलाई भन्‍नुभयो: “उठ, अनि निस्केर मैदानमा जाऊ; अनि त्यहाँ म तिमीसित कुरा गर्नेछु।” 23 तब म उठें, र निस्केर त्यस मैदानमा गएँ; अनि हेर, त्यहाँ परमप्रभुको महिमा खड़ा थियो, त्यस महिमाजस्तै, जुन महिमा मैले कबार नदीको किनारमा देखेको थिएँ; अनि भुइँमा अनुहार टेकाएर म घोप्‍टो परें। 24 तब आत्मा मभित्र पस्‍नुभयो, र मलाई मेरा खुट्टाहरूमा उभ्याउनुभयो, अनि मसँग बोलेर उहाँले मलाई भन्‍नुभयो: “जाऊ, आफूलाई आफ्नो घरभित्र थुनेर राख! 25 तर तिमी हे मानिसको छोरा, हेर, तिनीहरूले तिमीमाथि डोरीहरू लगाउनेछन् र तिमीलाई तिनैले बाँध्‍नेछन्, र तिमी तिनीहरूको बीचमा निस्केर जानेछैनौ; 26 अनि म तिम्रो जिब्रो तिम्रो मुखको तालुमा टाँसिदिनेछु, र तिमी गुँगा बन्‍नेछौ, अनि तिमी तिनीहरूका निम्ति दोष देखाइदिने मानिस हुनेछैनौ; किनकि तिनीहरूचाहिँ एउटा विद्रोही घराना हुन्। 27 तर जब म तिमीसित कुरा गर्छु, तब म तिम्रो मुख खोलिदिनेछु, र तिमीले तिनीहरूलाई ‘प्रभु यहोवा यसो भन्‍नुहुन्‍छ’ भन्‍नू! जसले सुन्छ, त्यसले सुनोस्; अनि जसले सुन्‍न छोड़्छ, त्यसले छोड़ोस्; किनकि तिनीहरू एउटा विद्रोही घराना हुन्।”