परमप्रभुले सबै जातिहरूको न्याय गर्नुहुनेछ
3
“किनकि हेर, ती दिनहरूमा र त्यस समयमा, जब म यहूदा र यरूशलेमलाई कैदबाट फर्काएर ल्याउनेछु, 2 तब म सबै जातिहरूलाई भेला गर्नेछु र तिनीहरूलाई तल यहोशापातको बेंसीमा ल्याउनेछु; अनि त्यहाँ मेरो प्रजा र मेरो अधिकारको भाग इस्राएलको विषयमा म तिनीहरूसित मुद्दा लड़्नेछु, जसलाई तिनीहरूले जाति-जातिको बीचमा तितरबितर पारे, र मेरो देश बाँड़े। 3 अनि तिनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले; अनि एउटी वेश्याका निम्ति तिनीहरूले एउटा केटालाई दिहाले, र आफूले पिऊँ भनेर दाखमद्यका निम्ति एउटी केटीलाई बेचे।
4 अनि अँ, हे टायर, हे सिडोन र हे पलिस्ती देशका सबै इलाकाहरूहो, मसँग तिमीहरूको के काम छ र? के तिमीहरूले मलाई कुनै प्रतिफल दिन्छौ? अनि तिमीहरूले मलाई कुनै प्रतिफल दिन्छौ भने म तिमीहरूलाई छिट्टै, अँ, फूर्तिसँग तिमीहरूको प्रतिफल तिमीहरूकै थाप्लोमाथि फर्काइदिनेछु; 5 किनभने तिमीहरूले मेरो चाँदी र मेरो सुन लगेका छौ, अनि मेरा राम्रा र मनोहर थोकहरू आफ्ना मन्दिरहरूमा पुर्‍याएका छौ; 6 साथै यहूदाका सन्तानहरू र यरूशलेमका सन्तानहरूलाई उनीहरूको सिमानाबाट टाढ़ा हटाउनलाई तिमीहरूले उनीहरूलाई ग्रीकहरूकहाँ बेचेका छौ। 7 हेर, जुन ठाउँमा तिमीहरूले उनीहरूलाई बेचेका छौ, त्यही ठाउँबाट म तिनीहरूलाई उठाउनेछु, र तिमीहरूको प्रतिफल तिमीहरूकै थाप्लोमाथि फर्काइदिनेछु। 8 अनि म तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूलाई यहूदाका सन्तानहरूको हातमा बेचिदिनेछु, अनि उनीहरूले तिनीहरूलाई शबाका मानिसहरू अर्थात् टाढ़ाको जातिकहाँ बेचिदिनेछन्; किनभने परमप्रभुले यसो भन्‍नुभएको हो।
9 जाति-जातिको बीचमा तिमीहरूले यो कुराको घोषणा गरिदेओ: लड़ाइँको तयारी गर! शूरवीरहरूलाई जगाओ! सबै योद्धाहरू नजिक आऊन्! तिनीहरूले चढ़ाइ गरून्! 10 तिमीहरूका फालीहरू पिटेर तरवारहरू र तिमीहरूका हँसियाहरू पिटेर भालाहरू बनाओ! कमजोरले ‘म बलियो छु’ भनोस्! 11 हे सबै अन्यजातिहरूहो, हतार गरेर चारैतिरबाट यता आओ, र भेला होओ! हे परमप्रभु, आफ्ना शूरवीरहरूलाई त्यहाँ तल ल्याउनुहोस्! 12 अन्यजातिहरू जागून्, र माथि यहोशापातको बेंसीमा आऊन्; किनकि चारैतिरका सबै अन्यजातिहरूलाई न्याय गर्नलाई म त्यहीं बस्‍नेछु। 13 हँसिया लगाओ! किनभने फसल पाकेको छ; आओ, तल आओ! किनकि दाखको कोल भरिएको छ, कोलहरू भरिएर पोखिन्छन्; किनभने तिनीहरूको दुष्‍टता ठूलो छ। 14 निर्णयको बेंसीमा भीड़हरूमाथि भीड़हरू; किनकि निर्णयको बेंसीमा परमप्रभुको दिन नजिकै आएको छ। 15 सूर्य र चन्द्रमा अँध्यारा हुनेछन्, अनि ताराहरूले आफ्नो चमक दिनेछैनन्।”
प्रभुका जनहरूका निम्ति हुने आशिष्‌
16 “अनि परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्नो सोर सुनाउनुहुनेछ; अनि आकाश र पृथ्वी हल्‍लनेछन्; तर परमप्रभु आफ्नो प्रजाको शरणस्थान र इस्राएलीहरूको किल्‍ला हुनुहुनेछ। 17 अनि म, परमप्रभु तिमीहरूका परमेश्‍वर मेरो पवित्र पर्वत सियोनमा वास गरिरहेको छु भनी तिमीहरूले जान्‍नेछौ; तब यरूशलेम पवित्र हुनेछ; अनि परदेशीहरू फेरि कहिल्यै त्यसबाट भएर जानेछैनन्।
18 अनि त्यस दिनमा यस्तो हुनेछ: पहाड़हरूले नयाँ दाखमद्य चुहाउनेछन्, अनि डाँड़ाहरूमा दूध बहनेछ, र यहूदाका सबै नदीनालाहरूमा पानी बहनेछ, अनि परमप्रभुको भवनबाट एउटा धारा निस्कनेछ, जसले शित्तीमको बेंसी सिँच्‍नेछ। 19 यहूदाका सन्तानहरूमाथि गरेको अत्याचारको कारणले मिस्र उजाड़ हुनेछ र एदोम एउटा उजाड़ उजाड़स्थान बन्‍नेछ; किनभने तिनीहरूले उनीहरूको देशमा निर्दोष रगत बगाएका छन्। 20 तर यहूदा सदा-सर्वदा र यरूशलेम पुस्तौंपुस्तासम्म त्यहाँ बसिरहनेछन्। 21 किनकि म उनीहरूको रगत धुनेछु, जुनचाहिँ मैले धोएको छैनँ; किनभने परमप्रभु सियोनमा वास गर्नुहुन्छ।”