इस्राएललाई परमप्रभुककहाँ फर्केर आऊ भन्‍ने उहाँको प्रेमपूर्ण आग्रह
14
“हे इस्राएल, परमप्रभु आफ्ना परमेश्‍वरकहाँ फर्की! किनभने तँ आफ्नै अधर्मले गर्दा ढलेको छस्। 2 आफ्नो साथमा वचनहरू लैजाओ, र परमप्रभुकहाँ फर्क! उहाँलाई भन: ‘सबै अधर्म उठाएर लैजानुहोस् र हामीलाई अनुग्रहपूर्वक ग्रहण गर्नुहोस्! तब हामीले हाम्रा ओठहरूका बलिहरू चढ़ाउनेछौं 3 अश्शूरले हामीलाई बचाउनेछैन; हामी घोड़ाहरूमाथि चढ़्नेछैनौं, न ता आफ्ना हातहरूको कामलाई फेरि कहिल्यै “तिमीहरू हाम्रा ईश्‍वरहरू हौ” भनी भन्‍नेछौं; किनभने तपाईंमा नै टुहुराले दया पाउँछ।’
4 म तिनीहरूको पछि हटाइ निको पार्नेछु; म तिनीहरूलाई स्वेच्छापूर्वक प्रेम गर्नेछु; किनभने मेरो रिस त्यसबाट हटेको छ। 5 इस्राएलका निम्ति म शीतजस्तो बन्‍नेछु; त्यो लिली फूलझैं फुल्नेछ, र लेबनोनले झैं त्‍यसले आफ्ना जराहरू हान्‍नेछ। 6 त्यसका हाँगाहरू फैलनेछन्; अनि त्यसको सुन्दरता जैतुनको रूखजस्तो हुनेछ, र त्यसको बास्‍ना लेबनोनजस्तो हुनेछ। 7 त्यसको छायामा बस्‍नेहरू फर्कनेछन्; तिनीहरू अन्‍नजस्तो पुनर्जीवित हुनेछन् र दाखको बोटजस्तो बढ़्नेछन्; अनि त्यसको बास्‍ना लेबनोनको दाखमद्यजस्तो हुनेछ। 8 एप्रैमले भन्‍नेछ: ‘अब उसो मूर्तिहरूसँग मेरो के काम?’ मैले त्यसको सुनेको छु र त्यसमाथि आँखा लगाएको छु; म हरियो सल्‍लाको रूखसरह हुँ। मबाट नै तेरो फल पाइन्छ।
9 बुद्धिमान् को हो, जसले यी कुराहरू बुझ्छ? समझदार को हो, जसले यी कुराहरू जान्दछ? किनकि परमप्रभुका मार्गहरू सठीक छन्, र धर्मी जनहरू तिनमा हिँड़्‍नेछन्; तर अपराधीहरू तिनमै ठेस खाएर लड़्नेछन्।”