परमप्रभु इस्राएलसँग क्रोधित हुनुहुन्छ
13
“जब एप्रैम बोल्थ्यो, तब थरथराहट हुन्थ्यो; इस्राएलमा त्यसले आफूलाई उचाल्यो; तर जब त्यो बाल देवतामा दोषी भयो, तब त्यो मर्‍यो। 2 अनि अब त तिनीहरूले झन्-झन् बढ़्‍ता गरी पाप गर्छन्; अनि तिनीहरूले आफ्ना निम्ति आफ्नो चाँदीबाट ढालेका मूर्तिहरू र आफ्नो समझअनुसार मूर्तिहरू बनाएका छन्, जुन मूर्तिहरू सबै कारिगरहरूको काम मात्र हुन्, जसको विषयमा तिनीहरूले भन्छन्: ‘बलि चढ़ाउने मानिसहरूले बाछाहरूलाई चुम्बन गरून्!’ 3 यसकारण तिनीहरू बिहानको कुइरो र एकाबिहानै उड़िजाने शीतजस्तै, अँ, खलाबाट आँधीबतासले उड़ाएर लगेको भुसजस्तै, अँ, चिम्‍नीबाट निस्केको धूवाँजस्तै हुनेछन्। 4 तरै पनि मिस्र देशदेखि नै मचाहिँ परमप्रभु तिम्रा परमेश्‍वर हुँ; अनि तिमीले मलाई बाहेक अरू कसैलाई परमेश्‍वर भनी नमान्‍नू; किनभने मबाहेक अरू कुनै उद्धारकर्ता छैन। 5 मैले नै तिमीलाई उजाड़स्थानमा, अँ, ठूलो खड़ेरी लागेको देशमा चिनेको हुँ। 6 तिनीहरूको खर्कअनुसार नै तिनीहरू तृप्‍त भए; तिनीहरू तृप्‍त भए, र तिनीहरूको हृदय घमण्डले फुलियो; यसैकारण तिनीहरूले मलाई बिर्सेका छन्। 7 यसैले म तिनीहरूका निम्ति सिंहजस्तो हुनेछु; चितुवाले झैं बाटोमा म तिनीहरूलाई ढुकेर बस्‍नेछु। 8 बच्‍चाहरू खोसिएको भालुले झैं म तिनीहरूलाई भेट्नेछु र तिनीहरूको मुटुमाथिको छाती च्यातिदिनेछु; अनि त्यहाँ सिंहले झैं म तिनीहरूलाई निल्नेछु; एउटा जङ्गली पशुले तिनीहरूलाई च्यातचुत पार्नेछ।
9 हे इस्राएल, तँ नाश भएको छस्; तर ममा तेरो सहायता हुन्‍छ। 10 अब तेरो राजा कहाँ छ, जसले तँलाई तेरा सबै शहरहरूमा बचाउँछ? र तेरा न्यायकर्ताहरू नि कहाँ छन्, जसको विषयमा तैंले भन्थिस्: ‘मलाई एकजना राजा र शासकहरू दिनुहोस्!’? 11 मेरो रिसमा मैले तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा मैले उसलाई हटाइदिएँ।
12 एप्रैमको अधर्म गठरीमा बाँधिएको छ; त्यसको पाप लुकाइएको छ। 13 प्रसूति-वेदना लागेको स्त्रीका पीड़ाहरू त्यसमाथि आइपर्नेछन्; त्यो निर्बुद्धि छोरा हो; किनकि छोराछोरीहरू जन्मँदै गरेको ठाउँमा त्यो लामो समयसम्म रहनुहुँदैन
14 म तिनीहरूलाई अधोलोकको शक्तिबाट दाम तिरेर छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट छुटाउनेछु। हे मृत्यु, तेरा महामारीहरू कहाँ छन्? हे अधोलोक, तेरो विनाश कहाँ छ? मेरा आँखाहरूबाट पछुतो लुकाइनेछ। 15 आफ्ना दाजुभाइहरूको बीचमा त्यो फलवान् भए तापनि पूर्वी हावा आउनेछ; उजाड़स्थानबाट परमप्रभुको हावा उठिआउनेछ, अनि त्यसको मुहान सुक्खा हुनेछ, र त्यसको धारा सुक्नेछ; यसले सबै मनोहर बर्तनहरूरूपी ढुकुटी लुट्नेछ। 16 सामरिया उजाड़ हुनेछ; किनकि त्यसले आफ्ना परमेश्‍वरको विरोधमा विद्रोह गरेकी छे; तिनीहरू तरवारले ढालिनेछन्; तिनीहरूका बालबच्‍चाहरू पछारेर टुक्रा-टुक्रा पारिनेछन् र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”