परमप्रभुप्रति एप्रैमको झूटो व्‍यवहार
12
“एप्रैम हावामा चर्छ, र पूर्वी हावाको पछि-पछि लाग्छ; दिनहुँ त्यसले झूट र विनाश बढ़ाउँछ; अनि तिनीहरूले अश्शूरसँग वाचा बाँध्छन्, तर तेलचाहिँ मिस्रमा लगिन्छ। 2 अनि यहूदासँग पनि परमप्रभुको मुद्दा छ, र उहाँले याकूबलाई उसका चालहरूअनुसार दण्ड दिनुहुनेछ; उसका कामहरूअनुसार उहाँले उसलाई बदला दिनुहुनेछ। 3 उसले गर्भमा नै आफ्नो दाजुको कुर्कुच्‍चा पक्र्यो, र आफ्नै बलमा परमेश्‍वरसँग लड़्यो; 4 अँ, स्वर्गदूतसँग उसले कुश्ती लड़्यो, र प्रबल भयो; ऊ रोयो, र उसले उहाँलाई विन्‍ती चढ़ायो; उसले उहाँलाई बेतएलमा भेट्टायो; अनि त्यहाँ उहाँ हामीसित बोल्नुभयो;
5 अँ, परमप्रभु सेनाहरूका परमेश्‍वर; परमप्रभुको नामले उहाँको सम्झना गरिनेछ।
6 यसकारण तँ आफ्ना परमेश्‍वरकहाँ फर्की! कृपा र न्याय कायम राख्! अनि निरन्‍तर आफ्ना परमेश्‍वरको बाटो हेरिरह्! 7 त्यो त व्यापारी हो, छलको तराजु त्यसको हातमा छ; त्यो थिचोमिचो गर्न मन पराउँछ।
8 अनि एप्रैमले भन्यो: ‘तापनि म धनवान् भएको छु; मैले आफ्ना निम्ति धनसम्पत्ति फेला पारेको छु; मेरा सबै परिश्रमहरूमा तिनीहरूले ममा कुनै अधर्म पाउनेछैनन्, जो पाप हुनेथियो।’ 9 अनि मिस्र देशदेखि नै मचाहिँ परमप्रभु तेरा परमेश्‍वर हुँ; तोकिएको चाड़का दिनहरूमा झैं म तँलाई अझ वासस्थानहरूमा बसाउनेछु। 10 अनि मैले भविष्यवक्ताहरूद्वारा बोलेको छु, र मैले नै दर्शनहरूको संख्या बढ़ाएको छु, अनि भविष्यवक्ताहरूको सेवाद्वारा दृष्‍टान्‍तहरू प्रयोग गरेको छु। 11 के गिलादमा अधर्म छ? निश्‍चय तिनीहरू व्यर्थका हुन्; गिल्गालमा तिनीहरू बहरहरू बलि चढ़ाउँछन्; अँ, तिनीहरूका वेदीहरूचाहिँ खेतबारीका हलोका सियाहरूमाथि भएका थुप्राहरूजस्ता छन्। 12 अनि याकूब अराम देशमा भागेर गयो; अनि इस्राएलले पत्‍नीका निम्ति सेवा गर्‍यो र एउटी पत्‍नीका निम्ति भेड़ाहरूको हेरचाह गर्‍यो। 13 अनि एकजना भविष्यवक्ताद्वारा परमप्रभुले इस्राएललाई मिस्रबाट निकालेर ल्याउनुभयो, र एकजना भविष्यवक्ताद्वारा नै उसको रक्षा गरियो। 14 एप्रैमले अति तीतो हुने गरी उहाँको रिस उठायो; यसकारण त्यसको रगत उहाँले त्यसैमाथि छोड़्नुहुनेछ, अनि त्यसको निन्दा त्यसका प्रभुले त्यसैलाई फर्काइदिनुहुनेछ।”