आफ्ना छोराछोरीहरूप्रति परमप्रभुको अटल प्रेम
11
“जब इस्राएल बालक थियो, तब मैले त्यसलाई प्रेम गरें, र मेरो छोरालाई मिस्रबाट बोलाएँ। 2 उनीहरूले तिनीहरूलाई बोलाए तर तिनीहरू उनीहरूको सामुबाट गइगए; तिनीहरूले बाल देवताहरूलाई बलि चढ़ाए र खोपिएका मूर्तिहरूलाई धूप बाले। 3 अनि तिनीहरूलाई तिनीहरूका पाखुराहरूमा समाएर मैले नै एप्रैमलाई हिँड़्न सिकाएँ; तर मैले तिनीहरूलाई निको पारें भनी तिनीहरूले जानेनन्। 4 मैले तिनीहरूलाई मानिसका डोरीहरूले, प्रेमका फित्ताहरूले खिचें; अनि तिनीहरूका निम्ति म ती मानिसहरूजस्तो भएँ, जसले तिनीहरूका बङ्गाराहरूबाट लगाम खोलिदिन्छन्; अनि झुकेर मैले तिनीहरूको सामु खानेकुरा राखिदिएँ। 5 त्यो मिस्र देशमा फर्कनेछैन, तर अश्शूरचाहिँ त्यसका राजा हुनेछ; किनकि तिनीहरूले फर्कन इन्कार गरे। 6 अनि तिनीहरूकै सल्‍लाहहरूको कारणले तरवार त्यसका शहरहरूमाथि चल्नेछ, त्यसका हाँगाहरू शेष पार्नेछ र निल्नेछ। 7 अनि मेरो प्रजा मबाट पछि हट्नुपट्टि झुकेको छ; उनीहरूले तिनीहरूलाई परमप्रधानकहाँ बोलाए तापनि कसैले पनि उहाँको बढ़ाइ गर्न चाहँदैन।
8 हे एप्रैम, म तँलाई कसरी त्यागूँ? हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिऊँ? म तँलाई कसरी अद्‌माजस्तो बनाऊँ र तँलाई सबोयीमजस्तो तुल्याऊँ? मेरो हृदय मभित्र उथलपुथल भएको छ; मेरा दयामायाहरू एकसाथ जागिउठेका छन्। 9 म आफ्नो बल्दो रिस पोखाउनेछैनँ; एप्रैमलाई म फेरि नाश गर्नेछैनँ; किनकि म परमेश्‍वर हुँ, मानिस होइनँ; म तेरो बीचमा रहने पवित्र जन हुँ; म शहरभित्र पस्‍नेछैनँ। 10 तिनीहरू परमप्रभुको पछि हिँड़्‍नेछन्; उहाँ सिंहझैं गर्जनुहुनेछ; जब उहाँ गर्जनुहुन्छ, तब पश्‍चिमबाट छोराछोरीहरू काम्दै आउनेछन् 11 तिनीहरू मिस्रबाटको चराझैं र अश्शूर देशबाटको ढुकुरझैं काम्दै आउनेछन्; अनि म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाउनेछु, परमप्रभु भन्‍नुहुन्छ। 12 एप्रैमले मलाई झूटले, र इस्राएलको घरानाले मलाई छलले घेरेको छ; तर यहूदाचाहिँ अझै परमेश्‍वरको साथमा शासन गर्दछ र पवित्र जनहरूप्रति विश्‍वासयोग्य छ।”