भविष्यवक्ताको काम
3
“हे इस्राएलीहरूहो, परमप्रभुले तिमीहरूको विरोधमा, अँ, मैले मिस्र देशबाट निकालेर ल्याएको यस सम्पूर्ण घरानाको विरोधमा यसो भन्दै बोल्नुभएको यो वचन सुन: 2 पृथ्वीका सबै घरानाहरूमध्ये केवल तिमीहरूलाई नै मैले जानेको छु; यसकारण म तिमीहरूलाई तिमीहरूका सबै अधर्महरूको दण्ड दिनेछु। 3 दुईजना एकै मनका भएनन् भने के तिनीहरू एकसाथ हिँड़्न सक्छन् र? 4 सिंहसँग शिकारै छैन भने के त्यो वनमा गर्जन्छ र? जवान सिंहले केही पक्रेकै छैन भने के त्यो आफ्नो ओड़ारबाट कराउँछ र? 5 चराका निम्ति धराप थापेकै छैन भने के त्यो जमिनमाथि फिँजाइएको पासोमा पर्ला र? पासोले केही पनि पक्रेकै छैन भने के त्यो भुइँबाट माथि उफ्रेला र? 6 शहरभित्र तुरही फुकियो भने के मानिसहरू थरथर नहोलान् र? शहरमा कुनै विपत्ति आइपर्‍यो भने के यो परमप्रभुले गर्नुभएको होइन र? 7 निश्‍चय आफ्नो रहस्य आफ्ना दास भविष्यवक्ताहरूलाई प्रकट नगरीकन प्रभु यहोवाले केही गर्नुहुनेछैन। 8 सिंह गर्जेको छ, को नडराउला र? प्रभु यहोवा बोल्नुभएको छ, कसले भविष्यवाणी नगर्ला र?”
सामरिया नाश हुनेछ
9 “अश्दोदका महलहरूमा र मिस्र देशका महलहरूमा प्रचार गर र भनिदेओ: ‘सामरियाका पहाड़हरूमाथि भेला होओ, अनि त्यसको बीचमा ठूला-ठूला कोलाहलहरू र त्यसको बीचमा थिचोमिचोहरू हेर!’ 10 किनभने तिनीहरूले उचित काम गर्न जान्दैनन्; तिनीहरू आफ्ना महलहरूभित्र अत्याचार र लुटको माल थुपार्छन्, परमप्रभु भन्‍नुहुन्छ। 11 यसकारण प्रभु यहोवा यसो भन्‍नुहुन्छ: देशको चारैतिर नै एउटा शत्रु हुनेछ; अनि त्यसले तँबाट तेरो बल झारिदिनेछ, र तेरा महलहरू लुटिनेछन्।
12 परमप्रभु यसो भन्‍नुहुन्छ, जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा वा कानको एउटा टुक्रा छुटाउँछ, त्यसरी नै सामरियामा ओछ्यानको कुनामा र दमस्कसी गद्दीमा बस्‍ने इस्राएलीहरू छुटाइनेछन्।
13 प्रभु यहोवा, सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ: सुन, र याकूबको घरानामा साक्षी देओ! 14 किनकि त्यस दिन म इस्राएललाई त्यसका अपराधहरूको दण्ड दिनेछु र बेतएलका वेदीहरूलाई पनि दण्ड दिनेछु; अनि त्यस वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन्। 15 अनि म ग्रीष्म-कालीन भवनको साथमा शीत-कालीन भवन प्रहार गर्नेछु; अनि हात्तीदाँतका भवनहरू नष्‍ट हुनेछन्, र ठूला-ठूला भवनहरूको अन्त हुनेछ, परमप्रभु भन्‍नुहुन्छ।”