अन्तिम दर्शन: इस्राएल परमप्रभुको न्यायबाट उम्कनेछैन
9
“मैले प्रभुलाई वेदीमाथि उभिरहनुभएको देखें; अनि उहाँले भन्नुभयो: “ढोकाको चौकोसको थाप्लामा हिर्काऊ, र ती सँघारहरू हल्लून्! अनि तिनीहरूलाई, अँ, तिनीहरू सबैको टाउको फुटाइदेऊक! अनि तिनीहरूको अन्तिम व्यक्तिलाई म तरवारले मार्नेछु; तिनीहरूमध्ये जो भाग्छ, त्यो भागेर जानेछैन; तिनीहरूमध्ये जो उम्कन्छ, त्यो उम्केर जानेछैन। 2 तिनीहरूले अधोलोकसम्म खने तापनि त्यहाँबाट मेरो हातले तिनीहरूलाई निकालेर ल्याउनेछ; अनि तिनीहरू आकाशसम्म चढ़े तापनि त्यहाँबाट म तिनीहरूलाई तल झार्नेछु। 3 अनि तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म तिनीहरूलाई खोजेर त्यहाँबाट निकालेर लैजानेछु; अनि तिनीहरू मेरा आँखाहरूको सामुबाट समुद्रको पींधमा लुके तापनि त्यहाँबाट म साँपलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई डस्नेछ। 4 अनि तिनीहरूका शत्रुहरूको अघि-अघि तिनीहरू कैदमा गए तापनि त्यहाँबाट म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ; अनि भलाइका निम्ति होइन, तर खराबीका निम्ति म आफ्नो आँखा तिनीहरूमाथि लगाउनेछु।5 अनि सेनाहरूका प्रभु यहोवा उहाँ हुनुहुन्छ, जसले देशलाई छुनुहुन्छ, र त्यो पग्लनेछ, अनि त्यसमा बस्नेहरू सबैले विलाप गर्नेछन्; अनि त्यो जम्मै नील नदीझैं उठ्नेछ, र मिस्रको नदीद्वारा भएझैं डुबाइनेछ। 6 यहाँ उहाँ हुनुहुन्छ, जसले आकाशमा आफ्ना माथिल्ला कोठाहरू बनाउनुहुन्छ, र पृथ्वीमाथि आफ्नो गुम्बज बसाल्नुभएको छ; उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई पृथ्वीको सतहमाथि पोखाइदिनुहुन्छ; परमप्रभु उहाँको नाम हो। 7 हे इस्राएलीहरूहो, के तिमीहरू मेरा निम्ति कुशीहरूका सन्तानजस्ता छैनौ र?, परमप्रभु भन्नुहुन्छ। के मैले इस्राएललाई मिस्र देशबाट, पलिस्तीहरूलाई कप्टोरबाट र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइनँ र? 8 हेर, प्रभु यहोवाका आँखाहरू यस पापी राज्यमाथि लगाइएका छन्; र म यसलाई पृथ्वीको सतहबाट नाश गरिदिनेछु; तैपनि म याकूबको घरानालाई पूर्ण रूपले नाश गर्नेछैनँ, परमप्रभु भन्नुहुन्छ। 9 किनभने हेर, म आज्ञा गर्नेछु, र जसरी अन्न चाल्नीमा चालिन्छ, त्यसरी नै म इस्राएलको घरानालाई सबै जातिहरूको बीचमा चाल्नेछु, तर सानोभन्दा सानो दाना पनि पृथ्वीमाथि खस्नेछैन। 10 ‘त्यो विपत्ति हाम्रो नजिक आउनेछैन, न ता हामीमाथि आइलाग्ने नै छ’ भन्ने मेरो प्रजाका सबै पापीहरू तरवारले मर्नेछन्।
11 त्यस दिन म दाऊदको तम्बू, जुनचाहिँ ढलेको छ, उठाउनेछु, र त्यसका धाँदाहरू पुरिदिनेछुख; अनि म उसका भग्नावशेषहरू खड़ा गरिदिनेछु र त्यसलाई प्राचीनकालमा भएझैं बनाइदिनेछु; 12 यस हेतुले कि तिनीहरूले एदोमको बाँकी रहेको भागलाई र मेरो नामले कहलाइएका सबै जातिहरूलाई आफ्नो अधिकारमा लिऊन्, परमप्रभु भन्नुहुन्छ, जसले यो काम गर्नुहुन्छ, उहाँ भन्नुहुन्छ।
13 परमप्रभु भन्नुहुन्छ: हेर, दिनहरू आउँदैछन्, जब हलो जोत्नेले कटनी गर्नेलाई भेट्नेछ, र अङ्गुरहरू कुल्चनेले बीउ छर्नेलाई भेट्नेछ; अनि पहाड़हरूले नयाँ दाखमद्य चुहाउनेछन्, र सबै डाँड़ाहरू पग्लनेछन्। 14 अनि म मेरो प्रजा इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु; अनि तिनीहरूले उजाड़ भएका शहरहरू निर्माण गर्नेछन्, र तिनमा बस्नेछन्; अनि तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनको दाखमद्य पिउनेछन्; अनि तिनीहरूले बगैंचाहरू लगाउनेछन् र तिनको फल खानेछन्। 15 अनि म तिनीहरूलाई तिनीहरूकै देशमा रोप्नेछु, अनि जुन देश मैले तिनीहरूलाई दिएको छु, तिनीहरूको त्यस देशबाट तिनीहरू फेरि कहिल्यै उखालिनेछैनन्, परमप्रभु तिम्रा परमेश्वर भन्नुहुन्छ।”