मीका
इस्राएल र यहूदामाथि आइपर्ने न्याय
1
यो परमप्रभुको वचन हो, जुन वचनचाहिँ यहूदाका राजाहरू योताम, आहाज र हिजकियाहका दिनहरूमा मोरेशेतका मीकाकहाँ आयो, जुन वचन तिनले सामरिया र यरूशलेमको विषयमा दर्शनमा देखे।
2 “हे सबै जातिका मानिसहरूहो, सुन! हे पृथ्वी र यसमा भएका सबै थोकहरूहो, ध्यान देओ! र प्रभु यहोवा, अँ, प्रभु नै आफ्नो पवित्र मन्दिरबाट तिमीहरूको विरोधमा साक्षी होऊन्! 3 किनभने हेर, परमप्रभु आफ्नो ठाउँबाट निस्केर आउनुहुन्छ, अँ, उहाँ तल ओर्लिआउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरू कुल्चनुहुनेछ 4 अनि उहाँमुनि पहाड़हरू पग्लनेछन्, बेंसीहरू चिरा पर्नेछन्; ती आगोको सामु मैनजस्तो र ओरालोमा पोखिएको पानीजस्तो हुनेछन्। 5 यो सबै याकूबको अपराध र इस्राएलको घरानाका पापहरूले गर्दा हो। याकूबको अपराध के हो? के यो सामरिया होइन र? अनि यहूदाका उच्‍च स्थानहरू के हुन्? के ती यरूशलेम होइनन् र? 6 यसकारण म सामरियालाई खेतबारीको भत्केका थोकको थुप्रोजस्तै र दाखबारीका रोप्‍ने ठाउँहरूजस्तै तुल्याइदिनेछु; अनि म त्यसका ढुङ्गाहरू बेंसीमा गुड़ाइदिनेछु र त्यसका जगहरू उदाङ्गो पारिदिनेछु। 7 अनि त्यसका सबै खोपिएका मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसका सबै कमाइहरू आगोले जलाइनेछन्; अनि त्यसका सबै मूर्तिहरू म उजाड़ पारिदिनेछु; किनभने वेश्याको कमाइबाट त्यसले ती जम्मा पारेकी छे; अनि ती वेश्याको कमाइकहाँ फर्केर जानेछन्।
8 यसैकारण म विलौना गर्नेछु र रोइकराइ गर्नेछु; म वस्त्रहीन भएर र नाङ्गै हिँड़्‍नेछु; म स्यालहरूले झैं विलौना गर्नेछु र शतुर्मुर्गहरूले झैं विलाप गर्नेछु। 9 किनकि त्यसको घाउ निको नहुने किसिमको छ; किनभने यो यहूदासम्म पुगेको छ; त्यो मेरो प्रजाको मूलढोकासम्म, अँ, यरूशलेमसम्म आइपुगेको छ। 10 गातमा नसुनाओ! तिमीहरू रुँदै नरोओ! बेत-अफ्रामा तँ धूलोमा लड़ीबुड़ी गर्! 11 हे शापीरको बासिन्दाहो, आफ्नो शर्म नाङ्गो पारिएको अवस्थामा पारि जाऊ! बेत-एजेलको विलौनामा सानानको बासिन्दा निस्केर गएन; त्यसले तिमीहरूबाट आफ्नो ठहर लैजानेछ। 12 किनभने मारोतको बासिन्दाले होशियारसाथ भलाइको बाटो हेर्‍यो; तर परमप्रभुबाट यरूशलेमको मूलढोकामाथि विपत्ति आइपर्‍यो। 13 हे लाकिशको बासिन्दा, रथ वेगले दगुर्ने पशुमा बाँध्! सियोनकी छोरीका निम्ति त्यो९) नै पापको शुरु हो; किनकि तँमा इस्राएलका अपराधहरू पाइए। 14 यसकारण तैंले मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछस्। अक्जिबका घरहरू इस्राएलका राजाहरूका निम्ति झूट बन्‍नेछन्। 15 साथै हे मारेशाको बासिन्दा, म तँकहाँ एउटा हकवाला ल्याउनेछु; इस्राएलको महिमा अदुल्‍लामसम्म पुग्‍नेछ। 16 आफूलाई तालुखुइले बना! आफ्ना सुखरूपी छोराछोरीहरूका निम्ति कपाल खौरी! आफ्नो मुड़ुलोपना गिद्धको जस्तै बढ़ा; किनभने तिनीहरू तँबाट कैदमा गएका छन्।”