नहूम
आफ्नो क्रोधमा बदला लिँदा परमप्रभु आफ्ना शत्रुहरूप्रति शक्तिशाली हुनुहुन्छ
1
नीनवेको भविष्यवाणी अर्थात् एल्कोशी नहूमको दर्शनको पुस्तक।
2 “परमेश्‍वर जलन राख्‍नुहुन्छ, र परमप्रभुले बदला लिनुहुन्छ; परमप्रभुले बदला लिनुहुन्छ, र क्रोधित हुनुहुन्छ; परमप्रभुले आफ्ना विरोधीहरूसित बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूका निम्ति रिस साँचेर राख्‍नुहुन्छ। 3 परमप्रभु रिसाउनमा ढिलो हुनुहुन्छ, अत्यन्तै शक्तिशाली हुनुहुन्छ र दोषीलाई कुनै हालतमा निर्दोष ठहऱ्याउनुहुन्‍न; परमप्रभुचाहिँ – उहाँको बाटो भुमरीमा र आँधीबेह्रीमा छ; अनि बादलहरूचाहिँ उहाँका पाउको धूलो हुन्। 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा पार्नुहुन्छ, अनि सबै नदीहरू सुकाउनुहुन्छ; बाशान र कर्मेल ओइलिन्छन्; अनि लेबनोनको फूल ओइलिन्छ। 5 उहाँको कारणले पहाड़हरू काम्छन् र डाँड़ाहरू पग्लन्छन्; अनि उहाँको उपस्थितिमा पृथ्वी, अँ, संसार र त्यसमा बस्‍नेहरू सबै माथि उचालिन्छन् 6 उहाँको क्रोधको सामु को उभिन सक्छ, र उहाँको बल्दो रिसमा को खड़ा रहन सक्छ? उहाँको क्रोध आगोझैं खनिन्छ; अनि उहाँको कारणले चट्टानहरू फुटेर खसालिन्छन्।
7 परमप्रभु भलो हुनुहुन्छ, सङ्कष्‍टको दिनमा एउटा किल्‍ला ठहरिनुहुन्छ; अनि जसले उहाँमाथि भरोसा राख्छन्, उनीहरूलाई उहाँ चिन्‍नुहुन्छ। 8 तर उहाँले उर्लिरहेको बाढ़द्वारा त्यसको ठाउँ पूरै नाश गरिदिनुहुनेछ; अनि अन्धकारले उहाँका शत्रुहरूलाई पिछा गर्नेछ। 9 परमप्रभुको विरोधमा तिमीहरू के युक्ति रच्दछौ? उहाँले पूरै नाश गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रो पल्ट उठ्नेछैन। 10 किनकि तिनीहरू काँड़ाहरूझैं गुजल्टिएका भए पनि, र पियक्‍कड़हरूझैं दाखमद्यले लट्ठ भएका भए पनि तिनीहरू पूरा सुकेको नलझैं भस्म हुनेछन्। 11 तेरो बीचमा एकजना निस्केको छ – एक दुष्‍ट सल्‍लाहकार, जसले परमप्रभुको विरोधमा खराब युक्ति रच्दछ। 12 परमप्रभु यसो भन्‍नुहुन्छ: तिनीहरू सुरक्षित र संख्यामा धेरै भए तापनि यस्तो अवस्थामा तिनीहरू काटिनेछन् जब त्‍यो त्‍यहाँबाट भएर पार जानेछ; मैले तिमीलाई कष्‍ट दिए तापनि म तिमीलाई अब उसो कष्‍ट दिनेछैनँ। 13 किनकि अब म त्यसको जुवा तिमीबाट हटाएर भाँचिदिनेछु र तिम्रा बन्धनहरू चुँड़ाइदिनेछु।
14 अनि तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ: अब उसो तेरो नामबाटको कोही छरिनेछैन; तेरा देवताहरूको मन्दिरबाट म खोपिएको मूर्ति र ढालिएको मूर्ति नष्‍ट गर्नेछु; म तेरो चिहान तयार गर्नेछु; किनकि तँ घृणित छस्। 15 हेर, ती पहाड़हरूमाथि शुभ-सुसमाचार ल्याउनेका पाउहरू, जसले शान्तिको प्रचार गर्दछन्! हे यहूदा, आफ्ना चाड़हरू मनाऊ! आफ्ना भाकलहरू पूरा गर; किनभने त्यो दुष्‍ट तिमीबाट भएर फेरि कहिल्यै जानेछैन; त्यो त बिलकुलै नष्‍ट भएको छ।”