नीनवेमाथि हमला र त्यसको लुट
2
“त्यो टुक्रा-टुक्रा पार्ने तिम्रो विरोधमा माथि आएको छ; घेरा-पर्खालको रखवाली गर, बाटोलाई पहरा देऊ, आफ्नो कम्मर बलियो बनाऊ, आफ्नो शक्ति अत्यन्तै दृढ़ पार!
2 किनकि परमप्रभुले याकूबको सर्वश्रेष्‍ठतालाई इस्राएलको सर्वश्रेष्‍ठतालाई जस्तै फर्काइल्याउनुभएको छ; किनकि रित्तो पार्नेहरूले उनीहरूलाई रित्तै पारिदिएका छन् र उनीहरूका दाखका हाँगाहरू नाश पारेका छन्। 3 त्यसका शूरवीरहरूको ढाल रातो पारिएको छ, योद्धाहरूले सिन्‍दुरे रङ्गका वस्त्र पहिरेका छन्; त्यसको तयारीको दिनमा रथहरू जलिरहेका राँकाहरूझैं चम्कनेछन्, र सल्‍लाका रूखहरू डरलाग्दो प्रकारले हल्‍लनेछन्। 4 सड़कहरूहुँदो रथहरू बड़ो वेगले दगुर्नेछन्, फराकिला बाटाहरूमा ती एक-अर्कासँग ठोकिनेछन्; ती राँकाहरूजस्ता देखा पर्नेछन्; ती बिजुलीझैं दगुर्नेछन्। 5 त्यसले आफ्ना भारदारहरूलाई सम्झना गर्नेछ; तिनीहरू मुन्टिँदै हिँड़्‍नेछन्; तिनीहरू त्यस शहरको पर्खालतिर हतारिँदै जानेछन्; अनि रक्षाको पर्खाल तयार गरिनेछ। 6 नदीहरूका मूलढोकाहरू खोलिनेछन्, र महल गलेर ढल्नेछ। 7 अनि यो निश्‍चित छ, त्यो कैदमा लगिनेछे; त्यो निकालिएर लगिनेछे; अनि त्यसका दासीहरूले आफ्ना छाती पिट्दै ढुकुरहरूजस्तै सोरले विलौना गर्नेछन् 8 तर नीनवे त्यो शुरु भएको दिनदेखि नै एउटा पानीको तलाउजस्तो छ; तैपनि तिनीहरू भाग्‍नेछन्। मानिसहरू ‘उभ, उभ!’ कराउनेछन्, तर कसैले फर्केर हेर्नेछैन। 9 तिमीहरू चाँदी लुट, सुन लुट! किनकि सबै प्रकारका बहुमूल्य वस्तुहरूले युक्त महिमापूर्ण भण्डारको अन्त छैन। 10 त्यो रित्तो, खाली र उजाड़ भएकी छे; अनि हृदय पग्लन्छ, घुँड़ाहरू एक-अर्कासँग ठोकिन्छन् र सबै कम्मरहरूमा धेरै पीड़ा छ; अनि तिनीहरू सबैका अनुहारहरूको रङ्ग उड़ेको छ 11 सिंहहरूको वासस्थान, र जवान सिंहहरूको त्यो खाने ठाउँ कहाँ छ, जहाँ सिंह, अँ, सिंहनी र सिंहको डमरु घुम्थे, अनि कसैले तिनीहरूलाई भयभीत पार्दैनथियो? 12 सिंहले आफ्ना डमरुहरूका निम्ति पुग्‍ने गरी च्यातेर धुजा-धुजा पार्थ्यो, र आफ्ना सिंहनीहरूका निम्ति घाँटी निमोठ्थ्यो, अनि आफ्ना गुफाहरू शिकारले र आफ्ना ओड़ारहरू च्यातचुत पारिएको पशुको मासुले भरिराख्थ्यो। 13 हेर्, म तेरो विरोधमा छु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ; म त्यसका रथहरू जलाएर धूवाँमा उड़ाइदिनेछु; अनि तरवारले तेरा जवान सिंहहरूलाई निल्नेछ; अनि म तेरो शिकार पृथ्वीबाट नष्‍ट गरिदिनेछु; अनि तेरा दूतहरूको सोर फेरि कहिल्यै सुनिनेछैन।”