हबक्‍कूक
परमप्रभुको सामु हबक्‍कूकले आफ्नो गुनासो पोख्छन्
1
भविष्यवक्ता हबक्‍कूकले दर्शनमा देखेको भविष्यवाणी।
2 “हे परमप्रभु, कहिलेसम्म म पुकारूँ, र तपाईं सुन्‍नुहुन्‍न? ‘अत्याचार!’ भन्दै म तपाईंकहाँ चिच्च्याउँछु, र तपाईं बचाउनुहुन्‍न। 3 किन तपाईंले मलाई अधर्म देखाउनुहुन्छ र कष्‍ट हेर्न लाउनुहुन्छ? किनकि विनाश र अत्याचार मेरो सामु छन्; अनि तिनीहरू छन्, जसले झगड़ा र वादविवाद मच्‍चाउँछन्। 4 यसैकारण कानुन लुलो छ, र न्यायको फैसला निस्कँदैन; किनभने दुष्‍टले धर्मी जनलाई घेरा हाल्छ; यसकारण टेढ़ा न्याय निस्केर आउँछ।”
यस गुनासोमा परमप्रभुको जवाफ
5 “अन्यजातिहरूको बीचमा हेर, विचार गर र खूबै चकित होओ! किनकि तिमीहरूका दिनहरूमा म एउटा काम गर्नेछु, जसको बयान तिमीहरूलाई गरिए तापनि तिमीहरूले विश्‍वास गर्नेछैनौ। 6 किनभने हेर, म कल्दीहरूलाई, त्यस क्रूर र फुर्तिलो जातिलाई उठाउनेछु, जुन वासस्थानहरू तिनीहरूका होइनन्, ती वासस्थानहरू अधिकार गर्नलाई देशका चौड़ाइभरि भएर हिँड़्‍नेछन्। 7 तिनीहरू भयङ्कर र डरलाग्दा छन्; तिनीहरूबाट तिनीहरूको न्याय र तिनीहरूको प्रतिष्‍ठा निस्कनेछन्। 8 अनि तिनीहरूका घोड़ाहरू चितुवाहरूभन्दा फुर्तिला छन् र साँझमा निस्कने ब्वाँसाहरूभन्दा क्रूर हुन्छन्; अनि तिनीहरूका घोड़चढ़ीहरू सर्पट मार्दै गरेको चालमा आउनेछन्; अनि तिनीहरूका घोड़चढ़ीहरू टाढ़ा-टाढ़ाबाट आउनेछन्; खानलाई वेग हान्‍ने चीलझैं तिनीहरू उड़ेर आउनेछन्। 9 तिनीहरू सबै अत्याचार गर्नकै निम्ति आउनेछन्; तिनीहरूका चेहराहरूले पूर्वी हावा सामना गर्नेछन्, अनि तिनीहरूले कैदीहरूलाई बालुवाझैं बटुल्नेछन्। 10 अनि तिनीहरूले त राजाहरूलाई खिसी गर्नेछन्, अनि शासकहरू तिनीहरूका निम्ति हाँसोको पात्र बन्‍नेछन्; तिनीहरू हरेक किल्‍लालाई खिसी गरेर हाँस्‍नेछन्; किनकि तिनीहरूले माटोको राश लाएर त्यसलाई कब्जा गर्नेछन्। 11 तब तिनीहरूको मन बदली हुनेछ, र आफ्नो यस शक्तिको श्रेय आफ्नो देवतालाई दिँदै तिनीहरूले अपराध गर्नेछन्, र दोषी हुनेछन्।
हबक्‍कूकको ‘किन?’ भन्‍ने प्रश्‍न
12 हे परमप्रभु मेरा परमेश्‍वर, हे मेरा पवित्र जन, के तपाईं अनन्तकालदेखि हुनुहुन्‍न र? हामी मर्नेछैनौं। हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्यायका निम्ति नियुक्त गर्नुभएको छ; अनि हे सामर्थी परमेश्‍वर, तपाईंले तिनीहरूलाई सुधारका निम्ति स्थापित गर्नुभएको छ। 13 तपाईंका आँखाहरू यति शुद्ध छन् कि तपाईंले दुष्‍टता हेर्नै सक्नुहुन्‍न र अधर्म देख्‍नै सक्नुहुन्‍न; तब किन तपाईंले विश्‍वासघात गर्नेहरूलाई हेर्नुहुन्छ? दुष्‍टले आफूभन्दा धर्मी मानिसलाई निल्दा तपाईं किन चुप लाग्‍नुहुन्छ? 14 अनि तपाईंले किन मानिसहरूलाई समुद्रका माछाहरूजस्ता, घस्रने जन्तुहरूजस्ता तुल्याउनुहुन्छ, जसमाथि कुनै शासक छैन? 15 तिनीहरूले ती सबैलाई बल्छीले तानेर निकाल्छन्, तिनलाई आफ्नो जालभित्र पक्रन्छन् र तिनलाई आफ्नो महाजालमा बटुल्छन्; यसैले तिनीहरू रमाउँछन् र आनन्दित हुन्छन्। 16 यसैकारण तिनीहरूले आफ्नो जाललाई बलि चढ़ाउँछन् र आफ्नो महाजाललाई धूप बाल्छन्; किनकि तीद्वारा नै तिनीहरूको भाग चिल्लोचापुल्लो र तिनीहरूको खानेकुरा प्रशस्त हुन्छ। 17 के यही कारणले तिनीहरूले आफ्नो जाल खाली पार्लान् र जाति-जातिहरूलाई निरन्‍तर मार्न नछोड़्लान्?”