नीनवेमाथि परमेश्‍वरको क्रोध खनिनेछ
3
“त्यस खूनी शहरलाई धिक्‍कार! त्यो त पूर्ण रूपले झूट र डकैतीले भरपूर छ; लुटको माल टुट्दैन 2 कोर्राको आवाज, साथै चक्‍काहरूको गुड़गुड़ाहट, बुर्कुसी मारिरहेका घोड़ाहरू र उफ्रिरहेका रथहरूको आवाज। 3 घोड़चढ़ीले दुवै चम्किरहेको तरवार र टल्किरहेको भाला उठाउँछ; अनि मारिएकाहरू प्रशस्त छन्, र लासहरू धेरै-धेरै छन्, अनि मुर्दाहरूको अन्त छैन; तिनीहरूले उनीहरूका मुर्दाहरूमा ठेस खान्छन्। 4 यो सबचाहिँ त्यस सुन्दरी वेश्या, त्यस टुनामुनाहरूकी मालिकनीका वेश्याकर्महरूको प्रशस्तताको कारणले भएको हो, जसले आफ्ना वेश्या-कर्महरूद्वारा जातिहरूलाई र आफ्ना टुनामुनाहरूद्वारा घराना-घरानालाई बेच्छे।
5 हेर्, म तेरो विरोधमा छु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ; अनि म तेरा जामाका फेरहरू उघारेर तेरो मुखमाथि पुर्‍याइदिनेछु, र म जाति-जातिलाई तेरो नग्‍नता र राज्य-राज्यलाई तेरो शर्म देखाइदिनेछु। 6 अनि म तँमाथि घिनलाग्दो मैला फ्याँकिदिनेछु र तँलाई घृणित तुल्याउनेछु, अनि तँलाई एउटा तमाशा ठहराउनेछु। 7 अनि यस्तो हुनेछ: तँलाई देख्‍नेहरू सबै तँबाट भाग्‍नेछन्, र भन्‍नेछन्: ‘नीनवे नाश भयो; कसले त्यसका निम्ति बिलौना गर्ला?’ तेरा निम्ति सान्‍त्‍वना दिनेहरू म कहाँबाट खोजूँ?
8 के तँ मानिसले भरिएको नोभन्‍दा उत्तम छस्, जुन नोचाहिँ नदीहरूको बीचमा अवस्थित थियो, जसको चारैतिर पानी थियो, जसको घेरा-पर्खाल समुद्र थियो र जसको पर्खाल समुद्रबाट उठेको थियो? 9 कूश र मिस्र त्यसको शक्तिबल थिए, जो असीम थियो; पूत र लूबी तेरा सहायकहरू थिए। 10 तरै पनि त्यो लगियो, त्यो कैदमा गइगयो; अँ, त्यसका बालबच्‍चाहरू सबै सड़कहरूको सिरानमा पछारेर टुक्रा-टुक्रा पारिए; अनि त्यसका प्रतिष्‍ठित मानिसहरूका निम्ति तिनीहरूले चिट्ठा हाले, र त्यसका सबै भारदारहरू साङ्लाहरूले बाँधिए। 11 अँ, तँ मात्‍नेछस्; तँ लुकेको हुनेछस्; शत्रुको कारणले तैंले पनि एउटा शरणस्थान खोज्‍नेछस्।
12 तेरा सबै किल्‍लाहरू पहिलो फलहरू लागेका नेभाराका रूखहरूजस्ता हुनेछन्; यदि ती रूखहरू हल्‍लाइए भने ती फलहरू खाने मानिसको मुखभित्र खस्‍नेछन्। 13 हेर्, तेरो बीचमा तेरा मानिसहरू स्त्रीहरू हुन्; तेरा देशका मूलढोकाहरू तेरा शत्रुहरूका निम्ति पूरा खुला राखिनेछन्; आगोले तेरा आग्लाहरू भस्म पार्नेछ। 14 आफ्ना निम्ति घेरा हालिएको समयमा चाहिने पानी भर्! आफ्ना किल्‍लाहरू बलियो पार्! गिलो माटोमा पसेर खुट्टाले माड़ी-माड़ी मसला मुछ्! इँटाको भट्टी बलियो पार्! 15 त्यहाँ आगोले तँलाई भस्म पार्नेछ; तरवारले तँलाई ठुन्क्याउनेछ; त्यसले तँलाई बच्‍चा सलहले झैं निलिदिनेछ; बच्‍चा सलहझैं आफूलाई धेरै बना! सलहजस्तो आफूलाई धेरै बना! 16 तैंले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा बेसी बढ़ाइस्; बच्‍चा सलहले नाङ्गो पार्छ, र उड़ेर जान्छ। 17 तेरा मुकुट-धारीहरू सलहहरूजस्ता छन्, र तेरा कप्‍तानहरू ठूला-ठूला फटेङ्ग्राहरूजस्ता छन्, जुनचाहिँ जाड़ो दिनमा बारहरूमा झुत्तिएर बस्छन्; तर जब घाम झुल्कन्छ, तब ती भागिजान्छन्, अनि ती कहाँ छन्, तिनको ठाउँ जानिँदैन। 18 हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्, तेरा भारदारहरू लेट्छन्, तेरा मानिसहरू पहाड़हरूहुँदो तितरबितर भएका छन्, अनि तिनीहरूलाई भेला पार्ने कोही छैन। 19 तेरो चोटको कुनै चङ्गाइ छैन; तेरो घाउ कष्‍टदायक छ; जतिले तेरो खबर सुन्छन्, तिनीहरू सबले तँमाथि ताली बजाउनेछन्; किनभने कसमाथि तेरो दुष्‍टता निरन्‍तर आइपरेको थिएन र?”