परमप्रभुबाट यस प्रश्‍नको जवाफ
2
“म आफ्नो पहरा दिने ठाउँमा उभिनेछु, र धरहरामाथि खड़ा हुनेछु; अनि उहाँले मलाई के भन्‍नुहुन्‍छ, र मैले हप्की खाँदा म के जवाफ दिऊँ, सो जान्‍नलाई म पाले बस्‍नेछु। 2 अनि परमप्रभुले मलाई जवाफ दिएर भन्‍नुभयो: ‘यो दर्शन लेख! पाटीहरूमाथि यसलाई सफासँग लेख, यसैले कि जसले यो पढ़्छ, त्यो दगुरोस्! 3 किनभने यो दर्शन एउटा तोकिएको समयका निम्ति हो, तर अन्त्यमा यो बोल्नेछ, ढाँट्नेछैन; यसले ढिलो गरे तापनि यसका निम्ति पर्खेर बस! किनकि यो निश्‍चय हुन आउने नै छ; यसले ढिलो गर्नेछैन। 4 हेर, त्यसको घमण्डले फुलिएको मन, त्यसभित्र सीधा छैन; तर धर्मी जन आफ्नो विश्‍वासद्वारा जिउनेछ। 5 अँ, साँच्‍चै दाखमद्यले छल गरेको हुनाले मानिस घमण्डी हुन्छ, र घरमा बस्दैन; त्यसले आफ्नो लालसालाई अधोलोकजस्तै फराकिलो पार्छ, र त्यो मृत्युजस्तै हुन्छ र तृप्‍त हुन सक्दैन; तर त्यसले सबै जातिहरूलाई आफूकहाँ बटुल्छ र सबै मानिसहरूलाई आफूकहाँ भेला पार्छ।
6 के यिनीहरू सबैले त्यसको विरोधमा एउटा उपमा प्रयोग गर्नेछैनन् र, अनि त्यसको विरोधमा छेंड़ हान्‍ने अड़्को रचेर यसो भन्‍नेछैनन् र? ‘हाय त्यसलाई, जसले जुन थोक आफ्नो होइन, त्यो थोक बढ़ाउँछ!’, कहिलेसम्म? अनि ‘हाय त्यसलाई, जसले बन्धकका थोकहरू आफूमाथि लाद्छ।’ 7 के तँलाई टोक्नेहरू अचानक उठ्नेछैनन् र? अनि के तँलाई हैरान तुल्याउनेहरू बिउँझनेछैनन् र? अनि तँ तिनीहरूका निम्ति लुटका मालहरू बन्‍नेछैनस् र? 8 तैंले धेरै जातिहरूलाई लुटेको हुनाले ती मानिसहरूका सबै बचेकाहरूले तँलाई लुट्नेछन् – मानिसहरूको रक्तपात भएका हुनाले, अनि देश, शहर र त्यसमा बस्‍नेहरू सबैमाथि अत्याचारको कारणले।
9 हाय त्यसलाई, जसले आफ्नो गुँड़ अग्लो ठाउँमा बसाल्न र विपत्तिको पन्जाबाट छुटकारा पाउनलाई आफ्नो घरानाका निम्ति नीच कमाईको लोभ गर्छ! 10 तैंले धेरै मानिसहरूलाई नाश गरेर आफ्नै घरानामाथि शर्म ल्याउने युक्ति रचिस् र आफ्नै प्राणको विरोधमा पाप गरिस्। 11 किनकि पर्खालबाट ढुङ्गा चिच्च्याउनेछ, र काठहरूबाट निदालले त्यसलाई जवाफ दिनेछ।
12 हाय त्यसलाई, जसले रक्तपात गरेर शहर निर्माण गर्छ, र अधर्म गरेर नगर स्थापित गर्छ! 13 हेर, मानिसहरूले आगोका निम्ति मात्र परिश्रम गर्छन्, र जाति-जातिका मानिसहरूले व्यर्थैमा नै आफूलाई थकाउँछन् – के यो सेनाहरूको परमप्रभुको तर्फबाट होइन र? 14 किनभने जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ, त्यसरी नै पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरपूर हुनेछ।
15 हाय त्यसलाई, जसले आफ्नो छिमेकीको नग्‍नता हेर्ने उद्देश्यले आफ्नो बोतल टक्राएर र त्यसलाई मात्‍ने समेत तुल्याएर त्यसलाई मदिरा पियाउँछ! 16 तँ महिमाको सट्टामा शर्मले भरिएको छस्; तँ पनि पी, र तेरो बेखतनापना देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँपट्टि फर्किनेछ, र तेरो महिमामाथि शर्मलाग्दो उल्टी पर्नेछ। 17 किनकि मानिसहरूको रक्तपात, साथै देश, शहर र त्यसमा बस्‍ने सबैमाथि गरिएको अत्याचारको कारणले लबानोनमाथि गरिएको अत्याचार र पशुहरूको त्यस लुटपाटले तँलाई ढाक्नेछन्, जुन लुटपाटले ती पशुहरूलाई भयभीत तुल्यायो।
18 खोपिएको मूर्तिबाट के लाभ हुन्छ, कि त्यसलाई बनाउनेले त्यसलाई खोपेर बनाएको छ? ढालिएको मूर्ति, अँ, त्यस झूटको शिक्षकबाट के लाभ हुन्छ, कि बनाउनेले गुँगा मूर्तिहरू बनाएर आफ्नो काममाथि भरोसा राख्छ? 19 हाय त्यसलाई, जसले काठलाई ‘जाग!’ भन्छ र गुँगा ढुङ्गालाई ‘उठ; त्‍यसले सिकाउनेछ!’ भन्छ। हेर, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र कुनै सास छैन। 20 तर परमप्रभुचाहिँ आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; सम्पूर्ण पृथ्वी उहाँको सामु चुपचाप रहोस्!”