सपन्याह
परमप्रभुको दिन
1
परमप्रभुको वचन, जुन वचन यहूदाका राजा आमोनका छोरा योसियाहका दिनहरूमा हिजकियाहका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आयो:
2 “परमप्रभु भन्‍नुहुन्छ, म धरतीको सतहबाट सबै थोकहरू बिलकुलै मेटाइदिनेछु। 3 म मानिस र पशुलाई मेटाइदिनेछु; म आकाशका चराहरू, समुद्रका माछाहरू र सबै ठेस लाग्‍ने कुराहरू दुष्‍टहरूको साथमा मेटाइदिनेछु; अनि म धरतीको सतहबाट मानिसलाई नाश गर्नेछु, परमप्रभु भन्‍नुहुन्छ। 4 अनि म यहूदामाथि र यरूशलेमका सबै बासिन्दाहरूमाथि आफ्नो हात फैलाउनेछु; यस ठाउँबाट म बालको रहलपहल भाग र पूजाहारीहरूको साथमा मूर्तिपूजक पूजाहारीहरूको नाम नाश गर्नेछु; 5 अनि तिनीहरूलाई पनि, जसले छानाहरूमा आकाशको तारागणलाई दण्‍डवत्‌ गर्छन्, र तिनीहरूलाई पनि, जसले परमप्रभुलाई दण्‍डवत्‌ गरेर उहाँको नाममा शपथ खान्छन्, तर मल्कामको नाममा पनि शपथ खान्छन्; 6 साथै तिनीहरूलाई पनि म नाश गर्नेछु, जो परमप्रभुको पछि लाग्‍नदेखि पछि हटेका छन् र जसले परमप्रभुको खोजी गरेका छैनन्, न ता उहाँबाट सोधखोज नै गरेका छन्।
7 प्रभु यहोवाको उपस्थितिमा चुपचाप बस! किनकि परमप्रभुको दिन नजिकै छ; किनकि परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, उहाँले आफ्ना पाहुनाहरूलाई पवित्र पार्नुभएको छ। 8 अनि परमप्रभुको बलिदानको दिनमा यस्तो हुनेछ: म शासकहरू, राजाका छोराहरू र विदेशी पहिरन लगाउनेहरू सबैलाई दण्ड दिनेछु। 9 अनि त्यही दिनमा म उफ्रेर सँघार नाघ्‍नेहरू सबैलाई दण्ड दिनेछु, जसले आफ्ना मालिकहरूका घरहरू अत्याचार र छलले भर्छन्। 10 अनि त्यस दिनमा यस्तो हुनेछ, परमप्रभु भन्‍नुहुन्छ, माछाको मूलढोकाबाट चिच्च्याहटको आवाज, दोस्रो ठाउँबाट क्वाँ-क्वाँ रोएको आवाज र पहाड़हरूबाट फुटाइको ठूलो आवाज सुनिनेछ। 11 हे मक्तेशका बासिन्दाहरूहो, रोइकराइ गर! किनकि सबै कनानकाग) मानिसहरू नष्‍ट भए; चाँदी बोक्ने सबै नष्‍ट भए। 12 अनि त्यस समय यस्तो हुनेछ: बत्तीहरू लिएर म यरूशलेमको खोजतलाश गर्नेछु र ढुक्‍कसँग बस्‍ने मानिसहरूलाई दण्ड दिनेछु, जसले आफ्नो हृदयमा भन्छन्: ‘परमप्रभु न असल गर्नुहुन्छ, न ता खराब नै गर्नुहुन्छ।’ 13 यसैकारण तिनीहरूका धनसम्पत्तिहरू लुटको माल बन्‍नेछन्, र तिनीहरूका घरहरूचाहिँ उजाड़ हुनेछन्; अनि तिनीहरूले घरहरू त बनाउनेछन्, तर तिनमा बस्‍नेछैनन्; अनि तिनीहरूले दाखबारीहरू त लगाउनेछन्, तर तिनको दाखमद्य पिउनेछैनन्।
14 परमप्रभुको महान् दिन नजिकै छ; यो नजिकै छ, र साह्रै हतारिन्छ; अँ, परमप्रभुको दिनको आवाज सुनिन्छ, जहाँ शूरवीर मानिस पनि नमीठो गरी रुनेछ। 15 त्यो दिन क्रोधको दिन, सङ्कष्‍ट र आपतविपतको दिन, विनाश र उजाड़को दिन, अन्धकार र उदासीको दिन, बादलहरू र घोर अन्धकारको दिन, 16 पर्खालले घेरिएका शहरहरू र अग्ला-अग्ला कुने-धरहराहरूको विरोधमा तुरही र ललकारको दिन हो। 17 अनि म मानिसहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, र तिनीहरू अन्धा मानिसहरूझैं हिँड़्‍नेछन्; किनभने तिनीहरूले परमप्रभुको विरोधमा पाप गरेका छन्; अनि तिनीहरूको रगत धूलोझैं पोखिनेछ र तिनीहरूको मासु गोबरझैं फ्याँकिनेछ। 18 परमप्रभुको क्रोधको दिनमा न तिनीहरूको चाँदीले, न तिनीहरूको सुनले तिनीहरूलाई छुटाउन सक्छ; तर सम्पूर्ण देश नै उहाँको जलनको आगोले भस्म हुनेछ; किनकि उहाँले यस देशका सबै बासिन्दाहरूलाई छिट्टै सर्वनाश गर्नुहुनेछ।”