देश-देशमाथि परमप्रभुको न्याय
2
“हे चाहना नगरिएको जाति, आफूलाई भेला गर! अँ, भेला होओ! 2 दण्डको आज्ञा निस्कनुभन्दा पहिले, दिन भुसझैं उड़ेर लगिनुभन्दा पहिले, परमप्रभुको बल्दो रिस तिमीहरूमाथि आइपर्नुभन्दा पहिले, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउनुभन्दा पहिले; 3 हे देशका सबै नम्रहरूहो, तिमीहरू जसले उहाँको न्यायको काम गरेका छौ, परमप्रभुको खोजी गर, धार्मिकताको खोजी गर! नम्रताको खोजी गर! हुन सक्छ, परमप्रभुको रिसको दिनमा तिमीहरू लुकाइनेछौ।
4 किनकि गाजा त्यागिनेछ, र अश्कलोन उजाड़ हुनेछ; मध्यदिनमै तिनीहरूले अश्दोदलाई निकालिदिनेछन्, र एक्रोन उखालिनेछ। 5 समुद्रको किनारका बासिन्दाहरू अर्थात् करेतीहरूको जातिलाई हाय! परमप्रभुको वचन तिमीहरूको विरोधमा छ, हे पलिस्तीहरूको देश कनान! अँ, म तँलाई कुनै बासिन्दा नरहने गरी नाश गर्नेछु। 6 अनि समुद्रको किनारचाहिँ गोठालाहरूका डेराहरू र भेड़ाबाख्राहरूका गोठहरू भएका वासस्थानहरू हुनेछ। 7 अनि त्यो किनारचाहिँ यहूदाको घरानाबाट बाँकी रहेकाहरूका निम्ति हुनेछ; उनीहरूले ती ठाउँहरूमा आफ्ना बगालहरू चराउनेछन्; अनि अश्कलोनका घरहरूमा उनीहरू साँझमा ढल्केर बस्‍नेछन्; किनभने परमप्रभु उनीहरूका परमेश्‍वरले उनीहरूसित भेट गर्नुहुनेछ र उनीहरूलाई कैदबाट फर्काएर ल्याउनुहुनेछ।
8 मैले मोआबको निन्दा र अम्मोनीहरूका गिल्‍लाहरू सुनेको छु, जससित तिनीहरूले मेरो प्रजाको निन्दा गरेका छन् र उनीहरूको सिमानाको विरोधमा आफूलाई ठूलो तुल्याएका छन्। 9 यसकारण इस्राएलका परमेश्‍वर, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ, मेरो जीवनको शपथ! निश्‍चय नै मोआब सदोमजस्तो हुनेछ, र अम्मोनीहरू गमोराजस्ता हुनेछन् – सिस्‍नु-घारी, नुनका खाड़लैखाड़ल र सदा रहिरहने उजाड़ता; मेरो प्रजाबाट बाँकी रहेकाहरूले तिनीहरूलाई लुट्नेछन्; मेरो प्रजाका बचेकाहरूले तिनीहरूलाई आफ्नो अधिकारमा पार्नेछन्। 10 तिनीहरूले आफ्नो घमण्डको कारणले यो कुरा पाउनेछन्; किनकि तिनीहरूले सेनाहरूका परमप्रभुको प्रजालाई निन्दा गरेका छन् र उनीहरूको विरोधमा आफूलाई ठूलो तुल्याएका छन्। 11 तिनीहरूका निम्ति परमप्रभु डरलाग्दो बन्‍नुहुनेछ; किनकि उहाँले पृथ्वीका सबै देवताहरूलाई पिलन्धरे तुल्याउनुहुनेछ; अनि मानिसहरू हरेकले आफ्नो ठाउँबाट उहाँलाई दण्‍डवत्‌ गर्नेछन्, अँ, जाति-जातिका सबै टापुहरूले पनि गर्नेछन्।
12 अँ, तिमीहरू, हे कूशीहरूहो, तिमीहरू पनि मेरो तरवारद्वारा मारिनेछौ।
13 अनि उहाँले उत्तर दिशाको विरोधमा आफ्नो हात फैलाउनुहुनेछ, अनि अश्शूरलाई नाश गर्नुहुनेछ, र निनवेलाई उजाड़, उजाड़स्थानजस्तो सुक्खा तुल्याइदिनुहुनेछ। 14 अनि त्यस शहरको बीचमा बगालहरू, जातिका सबै पशुहरू ढल्केर बस्‍नेछन्; दुवै धनेश र बकुल्‍लो त्यसका चौकोसका थाप्लाहरूमा वास बस्‍नेछन्, झ्यालहरूमा तिनीहरूको सोरले गाउनेछ; त्यसका सँघारहरूमा उजाड़ता पाइनेछ; किनकि उहाँले देवदारको काम नाङ्गो पार्नुहुनेछ। 15 यो त निष्फिक्रीसँग बसेर रमाइरहने त्‍यो शहर हो, जसले आफ्नो मनमा भन्‍ने गर्थ्यो: ‘मै हुँ, र मबाहेक अरू कोही छैन!’ कसरी त्यो उजाड़ बन्यो – पशुहरूको ढल्केर बस्‍ने ठाउँ!? त्यसको छेउबाट भएर जाने हरेकले खिसी गर्नेछ र आफ्नो मुड़्की हल्‍लाउनेछ।”