यरूशलेमको पाप र त्‍यसको छुटकारा
3
“हाय त्यस थिचोमिचो गर्ने शहरलाई, जुनचाहिँ विद्रोही र अशुद्ध छ! 2 त्यसले उहाँको वाणी पालन गरेन; त्यसले शिक्षा ग्रहण गरेन; त्यसले परमप्रभुमाथि भरोसा राखेन; त्यो आफ्नो परमेश्‍वरको नजिक आएन। 3 त्यसभित्र त्यसका शासकहरू गर्जने सिंहहरू हुन्; त्यसका न्यायकर्ताहरू साँझका ब्याँसाहरू हुन्; तिनीहरूले बिहानसम्म हड्डीहरू चबाउँदैनन् 4 त्यसका भविष्यवक्ताहरू हलुका र धोकेबाज मानिसहरू हुन्; त्यसका पूजाहारीहरूले पवित्रस्थानलाई अशुद्ध पारेका छन्; तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्। 5 धर्मी परमप्रभु त्यसको बीचमा हुनुहुन्छ; उहाँले कुनै अधर्म गर्नुहुनेछैन; हरेक बिहान उहाँले आफ्नो न्याय ज्योतिमा ल्याउनुहुन्छ, उहाँ कहिल्यै चुक्नुहुन्‍न; तर अधर्मीले शर्म भन्‍ने कुरा नै जान्दैन। 6 मैले जाति-जातिलाई नष्‍ट गरेको छु; तिनीहरूका कुने-धरहराहरू उजाड़ भएका छन्; मैले तिनीहरूका सड़कहरू उजाड़ पारेको छु, त्यहाँबाट भएर कोही हिँड़्दैन; तिनीहरूका शहरहरू नाश भएका छन्; यसकारण तिनमा कोही मानिस छैन, कोही बासिन्दा छैन। 7 मैले भनें, ‘निश्‍चय नै तैंले मेरो डर मान्‍नेछस्, तैंले शिक्षा ग्रहण गर्नेछस्’, यसैले कि त्यसको वासस्थान नष्‍ट नहोस्; मैले तिनीहरूलाई जति दण्ड दिए तापनि तिनीहरू सबेरै उठे, र तिनीहरूले आफ्ना सबै कामहरू भ्रष्‍ट पारे।
8 यसकारण जुन दिनमा म शिकार गर्न उठ्नेछु, त्यस दिनसम्म तिमीहरूले मलाई पर्खिबस, परमप्रभु भन्‍नुहुन्छ; किनभने तिनीहरूमाथि मेरो क्रोध, अँ, मेरो सारा बल्दो रिस खन्याउन भनी राज्य-राज्यलाई बटुल्ने, जाति-जातिलाई भेला गर्ने मेरो निर्णय हो; किनकि मेरो जलनको आगोले सम्पूर्ण पृथ्वी भस्म हुनेछ।
9 किनकि तब सबै मानिसहरूले परमप्रभुको नाम पुकारून्, एउटै मनले उहाँको सेवा गरून् भनेर म जाति-जातिका मानिसहरूलाई एउटा शुद्ध भाषा दिनेछु 10 कूशका नदीहरूको पारिपट्टिबाट मेरा उपासकहरूले अर्थात् मेरा तितरबितर भएकाहरूकी छोरीले मेरो भेटी ल्याउनेछे। 11 त्यस दिन तँ आफ्ना सबै कामहरूका निम्ति लज्जित हुनेछैनस्, जसद्वारा तैंले मेरो विरोधमा अपराध गरेकी छस्; किनभने तब म तेरो बीचबाट तेरो घमण्डमा रमाउनेहरूलाई हटाइदिनेछु; अनि मेरो पवित्र पर्वतमा तँ फेरि कहिल्यै अहङ्कारी हुनेछैनस्। 12 अनि म तेरो बीचमा एउटा कष्‍टमा परेको र गरिब जातिलाई छोड़्‍नेछु; अनि तिनीहरूले परमप्रभुको नाममाथि भरोसा राख्‍नेछन्। 13 इस्राएलबाट बाँकी रहेका मानिसहरूले अधर्म गर्नेछैनन्, न झूट बोल्नेछन्, न ता तिनीहरूको मुखभित्र छल गर्ने जिब्रो नै पाइनेछ; किनकि तिनीहरू चर्नेछन् र ढल्केर बस्‍नेछन्, अनि कसैले तिनीहरूलाई भयभीत पार्नेछैन। 14 हे सियोनकी छोरी, हर्षले चिच्च्या! हे इस्राएल, जयजयकार गर! हे यरूशलेमकी छोरी, सम्पूर्ण हृदयले आनन्दित हो र अत्यन्तै रमा! 15 परमप्रभुले तेरा न्यायहरू हटाइदिनुभएको छ, उहाँले तेरो शत्रुलाई निकालिदिनुभएको छ; इस्राएलका महाराजा, अँ, परमप्रभु नै तेरो बीचमा हुनुहुन्छ; तैंले फेरि कहिल्यै खराबी देख्‍नेछैनस्। 16 त्यस दिनमा यरूशलेमलाई यसो भनिनेछ: ‘नडरा! हे सियोन, तेरा हातहरू लुला नहोऊन्!’ 17 तेरो बीचमा हुनुहुने परमप्रभु तेरा परमेश्‍वर सामर्थी हुनुहुन्छ; उहाँले बचाउनुहुनेछ, तेरो कारणले उहाँ आनन्दले रमाउनुहुनेछ; उहाँ आफ्नो प्रेममा चुप रहनुहुनेछ, उहाँले तेरो कारणले गीत गाउँदै उहाँले आनन्द मनाउनुहुनेछ। 18 जो तोकिएको सभाका निम्ति शोकित हुन्छन्, तिनीहरूलाई म भेला गर्नेछु; तिनीहरू तँबाटका हुन्, जसलाई यसको निन्दाचाहिँ भार ठहर्दछ। 19 हेर्, त्यस समय म तँलाई कष्‍ट दिनेहरू सबैसित उचित व्यवहार गर्नेछु; म खोच्याएकीलाई बचाउनेछु र धपाइएकीलाई भेला गर्नेछु; अनि तिनीहरू शर्ममा पारिएको हरेक देशमा म तिनीहरूलाई प्रशंसा र एउटा सुनाम दिनेछु। 20 त्यस समयमा, अँ, मैले तिमीहरूलाई भेला पार्ने समयमै म तिमीहरूलाई ल्याउनेछु; किनभने जब म तिमीहरूकै आँखाहरूको सामु तिमीहरूको कैद फर्काएर ल्याउनेछु, तब पृथ्वीका सबै मानिसहरूको बीचमा म तिमीहरूका निम्ति एउटा सुनाम र प्रशंसा कमाइदिनेछु, परमप्रभु भन्‍नुहुन्छ।”