परमप्रभुको कृपा देखेर योना रिसाउँछन्
4
तर यो कुरा योनालाई साह्रै नराम्रो लाग्यो, र उनी साह्रै रिसाए। 2 अनि उनले परमप्रभुलाई प्रार्थना गरे, र भने: “हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, म आफ्नो देशमा छँदा के मेरो भनाइ यही थिएन र? यसैकारण म पहिले टार्शिशतिर भागें; किनकि तपाईं अनुग्रहकारी परमेश्‍वर हुनुहुन्छ, दयालु, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ, अनि त्यस विपत्तिको विषयमा पछुताउनुहुन्छ भनी मैले जानेको थिएँ। 3 यसकारण अब हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, मेरो प्राण मबाट लैजानुहोस्; किनभने मेरा निम्ति जिउनुभन्दा मर्नै असल हो।” 4 तब परमप्रभुले भन्‍नुभयो: “के रिसाएर तिमीले ठीक काम गर्दछौ?”
5 अनि योना त्यस शहरबाट निस्के, र शहरको पूर्वपट्टि बसे; अनि त्यहाँ उनले आफ्ना निम्ति एउटा छाप्रो बनाए, र शहरको के हालत हुने हो, सो नदेखुन्जेल उनी त्यसमुनि छायामा बसे। 6 अनि परमप्रभु परमेश्‍वरले एउटा कुभिण्डो तयार पार्नुभयो; अनि योनाको टाउकोमाथि छाया बनेर त्‍यसले उनलाई उनको कष्‍टबाट छुटाओस् भनेर उहाँले त्यो बोट उनको माथि-माथि चढ़्न लाउनुभयो। तब त्यस कुभिण्डोको कारणले योना साह्रै आनन्दित भए। 7 तर भोलिपल्ट, दिनको उज्यालो खस्‍ने बेलामा परमेश्‍वरले एउटा कीरा तयार पार्नुभयो, र त्यसले त्यस कुभिण्डोलाई प्रहार गर्‍यो, र त्यो ओइलियो। 8 अनि यस्तो भयो: जब सूर्य उदायो, तब परमेश्‍वरले भतभती पोल्ने पूर्वी हावा तयार पार्नुभयो; अनि योनाको टाउकोमाथि घामले पोलेको पोल्यै पार्‍यो, यहाँसम्म कि उनी मूर्च्छा परे, अनि उनले मर्न चाहे, र भने: “मेरा निम्ति जिउनुभन्दा मर्नै असल छ।”
9 अनि परमेश्‍वरले योनालाई भन्‍नुभयो: “कुभिण्डोको विषयमा रिसाएर के तिमीले ठीक काम गर्दछौ?” अनि उनले भने: “मृत्युसम्मै रिसाएर म सठीक काम गर्दछु।” 10 तब परमप्रभुले भन्‍नुभयो: “तिमीले त्यस कुभिण्डोलाई टिठाएका छौ, जसका निम्ति न तिमीले मेहनत गर्‍यौ, न तिमीले त्यसलाई बढ़ायौ, जुन कुभिण्डो एकै रातमा हुन आयो र एकै रातमा नष्‍ट भयो; 11 तब के मचाहिँ त्यस ठूलो शहर नीनवेलाई नछोड़ूँ, जसमा दाहिने हात र देब्रे हात छुट्याउन नसक्ने एक लाख बीस हजारभन्दा बढ़ी मानिसहरू छन्, र धेरै गाईबस्तुहरू पनि छन्?”