योनाको प्रचारमा नीनवेका मानिसहरूले पूरा पश्‍चात्ताप गर्छन्
3
अनि दोस्रो पल्ट परमप्रभुको यसो भन्‍ने वचन योनाकहाँ आयो: 2 “उठ, त्यस ठूलो शहर नीनवेमा जाऊ, र जुन सन्देश म तिमीलाई भन्छु, त्यो सन्देश त्यसलाई प्रचार गर!”
3 तब परमप्रभुको वचनअनुसार योना उठे र नीनवेमा गए। अनि नीनवेचाहिँ यात्रा गर्दा तीन दिन लाग्‍ने एउटा अत्यन्तै ठूलो शहर थियो। 4 अनि योनाले एक दिनको यात्रा गरेर त्यस शहरभित्र पस्‍न शुरु गरे; अनि उनले प्रचार गरेर भने: “अबको चालीस दिनमा नीनवे नष्‍ट हुनेछ!” 5 तब नीनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे, र एउटा उपवासको घोषणा गरे, अनि तिनीहरूका ठूलादेखि लिएर तिनीहरूका सानासम्मले भाङ्ग्राका लुगाहरू पहिरे। 6 किनकि त्यो वचन नीनवेका राजाकहाँ पुग्यो; अनि तिनी आफ्नो सिंहासनबाट उठे, आफूबाट आफ्नो वस्त्र फुकाले, भाङ्ग्राको लुगा ओढ़े र खरानीमा बसे। 7 अनि राजा र तिनका भारदारहरूको उर्दीअनुसार तिनले यसो भन्दै नीनवेभरि नै घोषणा गरेर प्रचार गर्न लगाए: “न मानिस, न पशु, न गाईबस्तु, न भेड़ाबाख्रा – कसैले कुनै चीज नचाखून्; तिनीहरूले न ता खाऊन्, न ता पानी पिऊन्! 8 तर मानिस र पशु दुवैले भाङ्ग्राको लुगा ओढ़ून्, र जोड़ले परमेश्‍वरलाई पुकारून्! अँ, तिनीहरू हरेक आ-आफ्नो दुष्‍ट चालबाट र तिनीहरूले गर्दै गरेको अत्याचारबाट फर्कून्! 9 कसले जान्दछ, कतै परमेश्‍वर फर्केर मन फर्काउनुहुन्छ कि, र आफ्नो बल्दो रिसबाट फर्कनुहुन्छ कि, र हामी नष्‍ट हुनेछैनौं?”
10 अनि परमेश्‍वरले तिनीहरूका कामहरू, कसरी तिनीहरू आ-आफ्ना दुष्‍ट चालबाट फर्के, सो देख्‍नुभयो; अनि परमेश्‍वरले जुन विपत्ति तिनीहरूमाथि ल्याउनेछु भनी भन्‍नुभएको थियो, त्यस विपत्तिको विषयमा उहाँ पछुताउनुभयो, र उहाँले त्यो गर्नुभएन।